कालंगा हाइड्रोको स्थानीयलाई खुलाइएको आईपीओ आज बन्द हुँदै

२४ चैत्र २०८२, मंगलवार ०९:०२

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरिएको साधारण शेयरमा मागभन्दा बढी आवेदन परेपछि आजैदेखि आवेदन लिने कार्य बन्द गरिने जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको साधारण शेयरमा माग गरेभन्दा धेरै आवेदन परेकाले आज चैत २४ गते बैंकिङ समयपछि आवेदन संकलन कार्य बन्द गर्न लागिएको हो।

कम्पनीले आफ्नो १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजी मध्ये ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याएको छ। त्यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको हो।

उक्त शेयर चैत १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको थियो। तर तोकिएको अवधिभित्रै मागभन्दा बढी आवेदन परेपछि बिक्री बन्द गर्ने निर्णय गरिएको हो। स्थानीयका लागि छुट्याइएको शेयरमध्ये अति प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख १० हजार कित्ता र प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख ९० हजार कित्ता शेयर छुट्याइएको छ।

अति प्रभावित क्षेत्रअन्तर्गत सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित केदारस्युँ गाउँपालिका वडा नम्बर ४ र ५, वित्थडचिर गाउँपालिका वडा नम्बर ६ र ८, बुंगल नगरपालिकाका वडा नम्बर ३, ४, ६, ६, ८ र ५, बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का स्थानीय बासिन्दा समेटिएका छन्।

त्यस्तै प्रभावित क्षेत्रअन्तर्गत केदारस्युँ गाउँपालिका, वित्थडचिर गाउँपालिका र बुंगल नगरपालिकाका अति प्रभावित क्षेत्रमा नपरेका अन्य वडाहरू, डिलाशैनी गाउँपालिकाका अति प्रभावित क्षेत्रमा नपरेका वडाहरू तथा शैल्यशिखर नगरपालिकाका अति प्रभावित क्षेत्रमा नपरेका वडाहरूका स्थानीय बासिन्दा समावेश छन्।

स्थानीय बासिन्दाले यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*