वाणिज्य बैंकको नाफा ४३ अर्ब ८८ करोड: नबिल अग्रस्थानमा हुँदा आक्रामक कुमारी, पुछारमा एनआईसी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ८ महिनामा वाणिज्य बैंकले झण्डै ४४ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड ४९ लाख ४० हजार रुपैयाँ नाफा कमाएका हुन् ।
बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ०.८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको तथ्याङलाई हेर्दा ९ बैंकहरु बढेको छ भने ११ बैंकको नाफा घटेको छ । आन्दोलन र राजनीतिक अस्थिरताका बीच समेत बैंकहरुको नाफा सन्तोषजनक नै रहेको देखिएको हो ।
यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले पछिल्लो ८ महिनामा नाफा २६.८७ प्रतिशतले बढाएर ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको नाफा २.२६ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने कुमारी बैंक र सिद्धार्थ बैंक सबैभन्दा अगाडी देखिएका छन् । कुमारीको नाफा २७४ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड पुगेको छ भने सिद्धार्थ बैंकको ६८ प्रतिशतले बढेर २ अर्ब ४ करोड रुपैयाँ पुगेको हो ।
फागुन मसान्तसम्मको अवधिमा क्रमशः एभरेष्ट बैंकको नाफा ३.३५ प्रतिशतले घटेर २ अर्ब ९० करोड, इन्भेष्टमेन्ट मेगा बैंकको २९.४९ प्रतिशतले घटेर २ अर्ब ८८ करोड, प्राइम बैंकको ९.६८ प्रतिशतले बढेर २ अर्ब ७४ करोड, एनएमबि बैंकको २.५८ प्रतिशतले घटेर २ अर्ब ६४ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३५.६८ प्रतिशतले बढेर २ अर्ब ३३ करोड, सानिमा बैंकको २३.२१ प्रतिशतले बढेर २ अर्ब ७ करोड, स्टान्र्डड चार्टड बैंकको ११६.८७ प्रतिशतले घटेर १ अर्ब ८० करोड र प्रभु बैंकको १७.४० प्रतिशतले घटेर १ अर्ब ७४ करोड रुपैयाँ नाफा पुगेको छ ।
यता, माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ४८ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब ३८ करोड, हिमालयन बैंकको १ अर्ब ३२ करोड, कृषि विकास बैंकको १ अर्ब २२ करोड, नेपाल बैंकको १ अर्ब १८ करोड, सिटिजन्स बैंकको ८० करोड र लक्ष्मी सनराइज बैंकको ६५ करोड रुपैयाँ रहेको छ ।
साथै, एनआईसी एशिया बैंकका भने निरन्तर संकटमा पर्दै गइरहेको देखिएको छ । कम्पनीको नाफा विकास बैंकको नाफा भन्दा तल रहेको देखिएको हो । समिक्षा अवधिमा बैंकको नाफा ६२.४० प्रतिशतले घटेर ३० करोड रुपैयाँमा खुम्चिएको हो ।











