नयाँ बानेश्वरबाट ३० लाखसहित ४ जना पक्राउ, हुण्डी र क्रिप्टो कारोबारमा संलग्न रहेको आरोप

२४ चैत्र २०८२, मंगलवार १२:०५

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा अवैध आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हुण्डी तथा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) प्रयोग गरी गैरकानुनी कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत २२ गते साँझ करिब ७ बजे काठमाडौं महानगरपालिका वडा नं. ३१ नयाँ बानेश्वरबाट सवन अधिकारीसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा चितवन रत्ननगरका ३२ वर्षीय सवन अधिकारी, काठमाडौं तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी, चितवन भरतपुरका ३२ वर्षीय रबिन जि.आर र ललितपुर महालक्ष्मीका ३७ वर्षीय अनित्य शाक्य रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले नगद ३० लाख रुपैयाँ बरामद गरेको छ। साथै क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग हुने विभिन्न उपकरणहरू पनि जफत गरिएको छ। बरामद सामग्रीमा ६ वटा मोबाइल फोन र एप्पल कम्पनीको एउटा म्याकबुक पनि रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत हुण्डी कारोबार तथा अभौतिक मुद्रा प्रयोग गरेको आरोपमा अनुसन्धान गरिरहेको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*