सिएनआईका पूर्व अध्यक्ष बिष्णु अग्रवालद्वारा फोटोन गाडी आयातमा करोडौं भन्सार छली

काठमाडौं । नेपालमा यामाहासहितका विभिन्न अटो कम्पनीको आधिकारिक बिक्री प्रबन्धक एमएडब्लु बृद्धिका सञ्चालक बिष्णु अग्रवालले फोटोन ईभी गाडी आयातमा करोडौं रुपैयाँ भन्सार छली गरेको खुलेको छ ।
टेकुस्थित एमएबडब्लु बृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.का सञ्चालक बिष्णु अग्रवालले आव २०८०।०८१ मा कोरियाबाट फोटोन ईभी इभ्यु १५ सिटर गाडी र फोटोन आईब्लु अटो भी–६ गाडीहरु आयात गर्दा छ करोड २२ लाख ६५ हजार ११६ रुपैयाँ भन्सार छली गरेको फेला परेको हो ।
चेज रिपलब्किका अवैतनिक बाणिज्य दूत तथा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष समेत रहेको प्रतिष्ठित व्यापारी बिष्णु अग्रवालले तातोपानी भन्सार कार्यालयका तत्कालिन कर्मचारीहरुसँगको सेटिङमा ति सवारी साधनहरु आयातको क्रममा भन्सार छली गरेका थिए ।
बीमापोष्टलाई प्राप्त सूचना अनुसार तातोपानी भन्सार कार्यालयले मिति २०८१।०८।२७ देखि यता पटक पटक पत्राचार गर्दा समेत व्यापारी बिष्णु अग्रवालले भन्सार बक्यौता बापतको रकम बुझाएका छैनन् । तातोपानी भन्सार कार्यालयले लेखेको च.नं. ५६४, २०८१।०८२ को पत्रमार्फत बक्यौता रहेको भन्सार शुल्क छ करोड २२ लाख ६५ हजार ११६ रुपैयाँ तत्कालै भुक्तानी गर्न निर्देशन समेत उल्लंघन गरेको पाइको छ । तातोपानी भन्सार कार्यालयले बिष्णु अग्रवालले छली गरेको भन्सार रकम १५ दिनभित्र भुक्तानी गर्न पटक पटक पत्राचार गर्दा समेत दुई बर्षदेखि भुक्तानी गरेका छैनन् ।
महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा एमएडब्लु बृद्धि कमर्शियल भेहिकल्सले फोटोन ईभी गाडीमा भन्सार छली गरेको तथ्य र प्रमाणको आधारमा प्रतिवेदन सार्वजनिक गर्दै उक्त कम्पनीबाट भन्सार छली भएको रकम असुल गर्नुपर्ने प्रतिवेदन दियो । सोही प्रतिवेदनको आधारमा तातोपानी भन्सार कार्यालयले पत्र लेखेर छली गरेको भन्सार रकम बुझाउन निर्देशन दिइएको थियो । सेटिङ कसरी गरिएको थियो भने एमएडब्लु बृद्धि कमर्शियल भेहिकल्स प्रा.लि.को तर्फबाट तातोपानी भन्सार कार्यालयमा १५ सिटे क्षमताका फोटो इभी गाडीको भन्सार दर १३ सिटे गाडीको भन्सार दर लगाउने एचएसकोड नं ८७०२.४०.२० अन्तर्गत राखेर १० प्रतिशत भन्सार दर असुल गर्नुपर्नेमा कर्मचारीसँगको सेटिङमा ८७०२.४०.३० अनुसार १ प्रतिशत भन्सार दर असुल गरिएको थियो । अर्थात ति गाडीहरु आयातमा ९ प्रतिशत भन्सार छली गरिएको थियो । पछि महालेखाले पत्ता लगाएर असुल गर्न निर्देशन दिएपछि बिष्णु अग्रवालले भन्सार छली गरेको तथ्य खुलेको हो ।

भन्सारकै कर्मचारीसँग मिलेमतो गरेर भन्सार छली गर्ने अनि कारवाहीमा पर्ने भएपछि अदालत धाएर उल्टै कर्मचारीलाई दुःख दिने गलत अभ्यास गर्दै आएका विवादास्पद व्यापारी बिष्णु अग्रवालसँग तातोपानी भन्सार छली काण्ड पनि सर्वोच्च अदालतमा मुद्दा हालेर सेटिङबाट आदेश जारी गराई अल्पकालिन आदेशको पर्चा देखाएर भन्सार कर्मचारीहरुलाई तर्साउँदै आएका छन् । सर्वोच्च अदालतमा दायर रिट नं ०८२–डब्लुओ–०१७९ को मुद्दा भदौं ८ गते अल्पकालिन अन्तरिम आदेश जारी भई रोकिएको अवस्था छ । अल्पकालिन आदेश जारी गरी अन्तरिम आदेशलाई छलफलमा बोलाइएको मुद्दा अहिलेसम्म छलफल नै हुन सकेको छैन ।
राजश्वमारा सेटिङका माहिर मानिएका यस्ता व्यापारीहरुलाई तह लगाउन सरकारले नयाँ योजना ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।











