साम्राज्यवादीले दिएको धम्कीविरुद्ध इरानी जनताले देखाएको त्यो साहस

काठमाडौँ । मंगलबार साँझ (नेपाली समय) विश्व राजनीतिमा एकाएक तनावको बादल मडारियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानप्रति कडा र चेतावनीपूर्ण अभिव्यक्ति दिए । ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ’ भन्ने उनको भनाइले क्षणभरमै विश्वको ध्यान मध्यपूर्वतर्फ तान्यो । उक्त अभिव्यक्तिले सम्भावित भीषण युद्धको संकेत गरेसँगै अन्तर्राष्ट्रिय समुदाय स्तब्ध बन्यो । तर त्यसको सबैभन्दा गहिरो प्रभाव इरानका सर्वसाधारण नागरिकहरूमा देखियो जहाँ डर नभई साहसको लहर फैलियो ।
अमेरिकी दबाब र धम्कीबीच इरानभरका नागरिकहरू एकाएक सडकमा उत्रिए । उनीहरूले कुनै राजनीतिक भाषण नभई प्रत्यक्ष उपस्थितिबाट आफ्नो देशप्रेम देखाए । देशका महत्वपूर्ण ऊर्जा केन्द्र, पुल, विद्युत् गृह र संवेदनशील पूर्वाधारहरू वरिपरि हजारौँ नागरिकहरूले मानव साङ्लो बनाए । यो दृश्य केवल प्रतिरोध मात्रै नभई राष्ट्रिय एकताको जीवन्त उदाहरण थियो । नागरिकले प्रत्येक हात अर्को हातसँग जोडेर देशको रक्षा गर्ने अठोटका साथ सडकमा आए ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सर्वसाधारणलाई आह्वान गर्दै देशका संरचनाहरूको रक्षा गर्न आग्रह गरेपछि नागरिकहरूको सहभागिता झन् बढ्यो । त्यस्तै, राष्ट्रपति मसुद पेजेस्कियन ले करिब १ करोड ४० लाख नागरिकहरूले स्वयंसेवकका रूपमा नाम दर्ता गराएको जानकारी दिँदै इरानी जनताको मनोबल कति उच्च छ भन्ने स्पष्ट पारे । देशको रक्षाका लागि ज्यान दिन तयार भन्ने भावना व्यवहारमै देखियो ।
बुशेहरको पारमाणविक केन्द्रदेखि हमदानको शहिद मोफत्तेह पावर प्लान्ट, कर्मानशाहको बिसोटुन पावर प्लान्ट, सेम्नानका विद्युत् प्रसारण केन्द्रहरू हुँदै अह्वाजको ह्वाइट ब्रिजसम्म, देशका विभिन्न भूभागमा नागरिकहरूले मानव साङ्लो बनाएर उभिएको दृश्य सार्वजनिक भयो । युवा, खेलाडी, वृद्ध, महिला सबै उमेर समूहका मानिसहरू एउटै उद्देश्य लिएर उभिएका थिए ‘देश जोगाउने’।

यो दृश्यले विश्वलाई सैन्य शक्ति भन्दा ठूलो शक्ति जनताको एकता र साहस रहेको सन्देश दियो । जब एउटा राष्ट्रका नागरिकहरू आफ्नो देशका लागि यति समर्पित हुन्छन् तब कुनै पनि बाह्य दबाब वा धम्कीले सजिलै उनीहरूलाई झुकाउन सक्दैन । इरानी जनताको यही बहादुरी अहिले विश्वभर चर्चा भइरहेको छ । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म उनीहरूको साहसको प्रशंसा भइरहेको छ ।
यद्यपि, तनावको चरम अवस्थाबीच अन्ततः कूटनीतिक बाटो खुलेको छ । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ता अघि बढेको छ । दुवै पक्ष २ हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । इरानले होर्मुज स्ट्रेट पूर्ण रूपमा तत्काल र सुरक्षित तवरले खुला गर्नुपर्ने सर्तमा यो युद्धविराम लागू गरिएको ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिएका छन् ।
इरानले प्रस्तुत गरेको १० बुँदे शान्ति प्रस्तावमा सुरक्षित जलमार्ग, युद्धपछिको पुनर्निर्माण र अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्ने मागहरू समावेश छन् । ट्रम्पले यस प्रस्तावलाई ‘वार्ताका लागि व्यावहारिक आधार’ भन्दै सकारात्मक संकेत दिएका छन् । यसले सम्भावित युद्धलाई केही समयका लागि टार्ने आशा जगाएको छ ।











