ऋण लिएर मार्केटमा लगानीः शेयर धितो कर्जा १ खर्ब ५६ अर्ब नाघ्यो, ४७ वित्तीय संस्थामा कुनले कति दिए ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को फागुन महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा लगानी वृद्धि गरेका हुन् ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताहरुले १ खर्ब ५६ अर्ब २७ करोड ९३ लाख रुपैयाँ कर्जा लिएका छन् । उक्त शेयर धितो कर्जा गत आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिको तुलनामा ३१.८८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब १८ अर्ब ५० करोड १० लाख रुपैयाँ शेयर धितो कर्जा प्रदान गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाले आफ्ना आन्तरिक व्यवस्थाअनुसार व्यक्तिको स्वामित्वमा रहेका पुराना शेयर वा भविष्यमा खरिद गरिने शेयरलाई धितो मानेर कर्जा प्रवाह गर्न सक्छन् । जसअन्तर्गत लगानीकर्ताले आफ्नो नाममा दर्ता भएको शेयर धितो राखी कर्जा लिन पाउने व्यवस्था छ । यद्यपि शेयर धितो राखेर लिएको कर्जा जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भए पनि व्यवहारमा अधिकांश कर्जा पुनः शेयर खरिदमै लगानी भइरहेको देखिन्छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह क्रमशः बढ्दो क्रममा रहेको छ ।
वाणिज्य बैंकको शेयर धितो कर्जा ३८.६९ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको ८ महिनासम्ममा वाणिज्य बैंकले मात्रै शेयर लगानीकर्ताहरुलाई १ खर्ब ३३ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ शेयर धितो कर्जा मार्फत प्रवाह गरेका छन् । बैंकले प्रवाह गरेको शेयर धितो कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८.६९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको ८ महिनासम्ममा वाणिज्य बैंकले शेयर धितो कर्जा मार्फत ९६ अर्ब ३९ करोड रुपैयाँ प्रदान गरेका थिए ।
समिक्षा अवधिसम्ममा २ वाणिज्य बैंकले मार्फत शेयर धितो कर्जा घटाएका छन् भने अन्य बैंकहरुको उल्लेख्य बढेको छ । यसअवधिसम्ममा नबिल बैंकले सर्वाधिक शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकको उक्त कर्जा २६.३१ प्रतिशतले बढेर १७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
साथै, ग्लोबल आइएमई बैंकको शेयर धितो कर्जा २० प्रतिशतले बढेर १३ अर्ब ४२ करोड, कुमारी बैंकको १७ प्रतिशतले बढेर १० अर्ब ५१ करोड, लक्ष्मी सनराइज बैंकको ११० प्रतिशतले बढेर ९ अर्ब ५२ करोड, प्राइम बैंकको २८ प्रतिशतले बढेर ९ अर्ब ४४ करोड, सिद्धार्थ बैंकको ६ प्रतिशतले बढेर ८ अर्ब ८५ करोड, कृषि विकास बैंकको २१६ प्रतिशतले बढेर ८ अर्ब १४ करोड र राष्ट्रिय वाणिज्य बैंकको ७० प्रतिशतले बढेर ८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

यसअवधिमा नेपाल बैकले १०.५० प्रतिशत र सिटिजन्स बैंकको ८.८४ प्रतिशतले शेयर धितो कर्जा घटाएको देखिन्छ ।
विकास बैंकहरुले दिए साढे १९ अर्ब शेयर धितो कर्जा
फागुन मसान्तसम्मको अवधिमा विकास बैंकले १९ अर्ब ५२ करोड २६ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ९.२४ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको मंसिर महिनासम्म विकास बैंकहरुले १७ अर्ब ८७ करोड १५ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए । यसअवधिमा २ विकास बैंकले मात्रै शेयर धितो कर्जा घटाएको हो ।
विकास बैंकहरुमा सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको शेयर धितो कर्जा ६.६३ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ रहेको हो ।
त्यस्तै, समिक्षा अवधिमा गरिमा विकास बैंकको ६.९० प्रतिशतले घटेर २ अर्ब ६५ करोड ४५ लाख, शाइन रेसुङ्गाको ७ प्रतिशतले बढेर २ अर्ब २४ करोड, महालक्ष्मी विकास बैंकको ४.३७ प्रतिशतले बढेर २ अर्ब २१ करोड र लुम्बिनी विकास बैंकको ७.१२ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ शेयर धितोकर्जा दिएको हो ।

फाइनान्सले भने घटाए शेयर धितो कर्जा
चालु आर्थिक वर्षको ८ महिनामा फाइनान्स कम्पनीहरुको शेयर धितो कर्जा भने २७.६० प्रतिशतले घटेर ३ अर्ब ६ करोड ६८ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सहरुले ४ अर्ब २३ करोड ६० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए ।
१५ फाइनान्स मध्ये १२ कम्पनीको शेयर धितो कर्जा घटेको छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा फाइनान्सहरुमा सर्वाधिक शेयर धितो कर्जा प्रवाह गर्नेमा मञ्जुश्री फाइनान्स रहेको छ । कम्पनीको उक्त कर्जा १९.९० प्रतिशतले बढेर ६१ करोड ५१ लाख रुपैयाँ पुगेको हो ।
साथै, श्री इन्भेष्टमेन्ट फाइनान्सले ४२ करोड, आइसिएफसि फाइनान्सले ३२ करोड, नेपाल फाइनान्सले ३० करोड, गुहेश्वरी मर्चेन्टले २५ करोड, रिलायन्स फाइनान्सले २१ करोड र गुडबिल फाइनान्सले १९ करोड रुपैयाँ शेयर धितो कर्जा दिएका छन् ।












