कानुनविपरीत लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका संस्थागत विद्यालयहरूद्वारा गैरकानुनी रूपमा लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कानुन विपरीत शुल्क असुल गर्ने विद्यालयहरूमाथि कडाइ गर्न आग्रह गरेको हो।
केही विद्यालयहरूले अझै पनि कानुन विपरीत शुल्क असुल गरिरहेकामा गुनासो प्राप्त भएको छ। मन्त्रालयले सम्बन्धित सबै विद्यालयलाई विद्यार्थीबाट लिइएको गैरकानुनी शुल्क फिर्ता गर्न निर्देशन दिएको छ। साथै, यदि कुनै विद्यालयले यो निर्देशनको पालन नगरेमा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग समन्वय गरी कानुन बमोजिम कारवाही अघि बढाउन अनुरोध गरिएको छ।
विद्यार्थी तथा अभिभावकलाई शुल्कसम्बन्धी गुनासो रिपोर्ट गर्न र सहजीकरण प्राप्त गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा हेल्प डेस्क स्थापना गरिएको छ। केन्द्रका निर्देशक निमप्रकाशसिंह राठौरलाई फोन (९८५१२१४६३८) वा इमेल ([email protected]) मार्फत सम्पर्क गर्न सकिने विज्ञप्तिमा जानकारी दिइएको छ।
मन्त्रालयले यसअघि २२ चैतमा पनि विज्ञप्तिमार्फत केही विद्यालयहरूले सर्वोच्च अदालतको आदेश र कानुन विपरीत विद्यार्थी भर्ना र भारी शुल्क असुल गरेको विषयमा ध्यानाकर्षण गराएको थियो। नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न र स्वीकृत शुल्कभन्दा बढी शुल्क लिने काम नगर्न विद्यालयलाई आग्रह गरिएको थियो।











