सिद्धार्थ बैंकको ९ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२६ चैत्र २०८२, बिहीबार ०७:५२

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ। बैंकले ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो।

यसअनुसार बिक्रीमा राखिएका शेयरमध्ये जगदीश कुमार अग्रवालको नाममा रहेको ५ लाख ४४ हजार १६४ कित्ता र सुबोध कुमार केडियाको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक शेयर रहेका छन्।

नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा हालकै संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिनु पर्ने व्यवस्था रहेकाले सोहीअनुसार बिक्रीमा राखिएको बैंकले जनाएको छ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कार्यालय समयमा काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर संख्यासहित आवश्यक कागजात संलग्न गरी लिखित आवेदन दिनु पर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापकबाट पर्याप्त आवेदन नपरेमा वा सम्पूर्ण शेयरका लागि माग नआएमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई उक्त संस्थापक शेयर बिक्री गर्न प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*