बिष्णु अग्रवालः १७ बर्षदेखि भ्याट र भन्सार छलीमा संलग्न, कारवाहीमा कहिले पर्लान ?

२६ चैत्र २०८२, बिहीबार १५:२३

समाचार टिप्पणी

काठमाडौं । कुनै आश्चर्य भएनछ भने यामाहा मोटरसाइकलका आधिकारिक बिक्रेता बिष्णु अग्रवालमाथि अझै पनि कुनै कारवाही हुने छैन । यद्यपि अहिलेको वर्तमान रास्वापको सरकार भ्रष्टाचारमा शून्य सहनशिलता अपनाएकोले यस पटक अग्रवाल कारवाहीमा पर्ने सम्भावना पनि उत्तिकै छ ।

विगत १७ बर्षदेखि नक्कली भ्याट बिल र भन्सार छलीमा संलग्न रहँदै आएका व्यापारी बिष्णु अग्रवालले अझै पनि खुलेआम धन्दा जारी राखेकै छन् । रोचक कुरा के छ भने भन्सार छली गरेर कारवाहीबाट बच्न भन्सार विभागलाई नै मुद्दा हाल्ने र समाचार लेख्ने आधा दर्जन बढि सञ्चार माध्यमहरुलाई मुद्दा हालेर भएपनि उनको धन्दा जारी नै छ ।

२०६५ सालदेखि बिष्णु अग्रवालको कम्पनी मोरङ अटो वक्र्सले नक्कली भ्याट बिलको प्रयोग गर्दै आइरहेको थियो । २०६७ सासल फागुनमा पुग्दा बल्ल उनी छानविनमा परे । तर, उतिबेलाको त्यो छानविन अग्रवालले कारवाहीमा नपरी सेटिङमै मिलाए । उनको धन्दा बीचमा अनेकौं तरिकाले भए, ति सबको छानविन कहिल्यै हुन सकेको छैन । उनका आधा दर्जन कम्पनीहरु यामाहा, जेसिबी, फोटोन गाडी आयात जस्ता थुप्रै धन्दाहरु गर्न भ्याएका छन् ।

उतिबेला दर्जनभन्दा बढि कम्पनीबाट नक्कली भ्याट बिल पेश गरेर अग्रवालले भ्याट छली गरेका थिए । अग्रवालको कम्पनीले अहिले पनि प्रमाणित नहुने खर्च गरेर आयकर छली गरिरहेको छ । नक्कली भ्याट बिल काण्डमा परेपछि मोरङ वर्क्स (भ्याट नं ३०१९७४२८२) नामक फर्म हाल बन्द छ । अग्रवालले भ्याट छलीमा परेपछि एमएडब्लुको नाममा थुप्रै कम्पनीहरु संस्थापना गरी चलाइरहेका छन् । भ्याट र कर छली गर्न सजिलो बनाउन र कर कार्यालयको राडारबाट बच्न थुप्रै कम्पनीहरु स्थापना गरेर धन्दा चलाइरहेका छन् ।

अग्रवालको पछिल्लो कर छलीको रुपमा तातोपानी भन्सार नाकाबाट फोटोन इभी गाडीहरु आयात गर्दा छ करोड भन्दा बढि भन्सार छली गरेका छन् । १५ बर्ष अघि भ्याट छलीमा छानविनमा परेका अग्रवाल अहिले भन्सार छलीमा खुलेआम उत्रिएका छन् । उनले उक्त भन्सार छली बापतको रकम तिरेका छैनन्, उल्टै सर्वोच्च अदालतमा मुद्दा हालेर अल्पकालिन आदेश जारी गराएर भन्सार बक्यौता नतिरी अटेर गर्दै आइरहेका छन् । भन्सार विभाग पनि अग्रवालको सेटिङको अगाडी निरिह जस्तै बन्न पुगेको छ । अग्रवालले भन्सार कार्यालयदेखि सञ्चारगृहहरुलाई दायर गरेको मुद्दाहरु अधिकांशमा अन्तरिम आदेश जारी भएका छन् । यसलाई संयोग मात्रै पनि मान्ने अवस्था छैन । सबैतिर सेटिङ गर्न माहिर अग्रवालले भन्सारका कर्मचारीहरु नै आश्चर्यमा पर्ने गरी अदालतबाट आफ्नो पक्षमा आदेश जारी गरी होल्ड गराउन सफल भएका छन् । बक्यौता असुल गर्न काटेको पत्रमाथि सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएर असुल गर्नै रोकेर उक्त मुद्दा महिनौंदेखि अलपत्र पारेर राखिएको अवस्था छ ।

दलका नेताहरुदेखि कर प्रशासनसम्म सबैतिर सेटिङ हान्न सक्षम अग्रवालले गुणस्तरहिन गाडी बिक्री गर्दा समेत सेटिङ हान्ने गरेका छन् । बिष्णु अग्रवालले नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य सिलवालसँग सेटिङ हानेर चार वटा गणस्तरहिन फोटोन गाडी किन्न लगाएका थिए । अहिले उक्त कम्पनी बन्द भएकोले ति गाडीहरु अलपत्र परेका छन् ।

आज देशको अवस्थामा कूल राजश्वले चालु खर्च धान्न नसक्ने अवस्थामा छ । नक्कली भ्याट बिल जस्तो जघन्य अपराधमा संलग्न व्यापारी अग्रवाल जस्ता व्यक्तिहरुले विभिन्न बाहनामा भन्सार कर छली धन्दा जारी नै राखेका छन् । जसको परिणाम देशको आर्थिक अवस्था कमजोर बनिरहेको छ । यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेले उदार अर्थनीति भनेर माया गरिरहन्छन् वा कानुनी दायरामा ल्याएर २०६५ सालदेखिको भ्याटबिलको छानविन र कम्पनी तथा फर्मबाट भएका अवैध खर्चको छानविन गरी आयकर छलीको निष्पक्ष छानविन गरी करोडौं रुपैयाँ बक्यौता असुल गर्छन त्यो हेर्न बाँकी छ ।

यो पनि:-

सिएनआईका पूर्व अध्यक्ष बिष्णु अग्रवालद्वारा फोटोन गाडी आयातमा करोडौं भन्सार छली

चौधरी ग्रुप, बिशाल ग्रुपदेखि गोल्छा ग्रुपसम्म नक्कली भ्याट बिलको कारोबारमा, २०६७ सालको काण्डमा को को ? (सूचि सहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*