आइतबार पनि ओपिडी सेवा सुचारु राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा सम्बन्धित निकायलाई आइतबार पनि ओपिडी सेवा सुचारु राख्न निर्देशन दिएको छ । सरकारले सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेसँगै मन्त्रालयले सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार र उपलब्ध जनशक्तिको आधारमा आइतबार ओपिडी सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, यो व्यवस्था लागू गर्दा कर्मचारीहरूलाई शनिबार बाहेक हप्तामा अर्को एक दिन बिदा दिने व्यवस्था गर्न सकिने र बिदा दिन नसकिने अवस्थामा सट्टा बिदा उपलब्ध गराउन सकिने जनाइएको छ ।
मन्त्रालयले उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई आग्रह गरेको छ ।











