परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी जयशंकरबीच भेट

काठमाडौँ । हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मोरिससको पोर्ट लुई पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ।
भेटमा भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खनाललाई पदभार सम्हालेकोमा बधाई दिएका छन्। नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशका परराष्ट्रमन्त्रीहरूबीच यो पहिलो औपचारिक भेट भएको हो।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुई नेताबीच नेपाल–भारतबीचको दीर्घकालीन र बहुआयामिक सम्बन्धबारे समीक्षा भएको छ। भेटमा दुवै पक्षले आपसी हितका विषयमा रचनात्मक तथा दूरदर्शी छलफल गर्दै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।
भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट भएकोमा खुशी व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘परराष्ट्रमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा उहाँलाई हार्दिक बधाई दिएँ। विभिन्न क्षेत्रहरूमा गहन सहकार्यमार्फत भारत–नेपाल साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने विषयमा छलफल भयो।’











