अर्थमन्त्री डा. वाग्लेले अन्त्य गरे साढे तीन लाख पेन्सनकर्ताको झन्झट, सुरु भयो ई-पेन्सन प्रमाणिकरण

२७ चैत्र २०८२, शुक्रबार १८:५०

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज पेन्सन प्रमाणिकरण प्रणाली सुरुवात गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणालीको औपचारिक सुरुवात गरेका हुन् ।

यससँगै साढे तीन लाख पेन्सनकर्ताको वर्षेनि गर्नुपर्ने दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैंक छनोटसम्बन्धी झन्झट अन्त्य हुने भएको छ। साथै सरकारले तिर्नुपर्ने बैंक कमिसन पनि शून्यमा झर्ने अपेक्षा गरिएको छ।

नयाँ प्रणाली सुरु भएपछि अब निवृत्तभरणकर्ताहरूलाई भौतिक रूपमा कार्यालय वा बैंकमा उपस्थित हुनुपर्ने छैन र उनीहरूले घरैबाट अनलाइन सेवा प्राप्त गर्न सक्नेछन्। यसले पेन्सन वितरण प्रक्रिया सहज, छिटो र डिजिटल हुने अपेक्षा गरिएको छ।

त्यस्तै, भुक्तानीमा लाग्ने बैंक कमिसनको वार्षिक करिब १५ करोड रुपैयाँ बराबरको भार घट्ने, नगद प्रवाह अनुमानयोग्य भई सरकारी ढुकुटीमा हुने चाप व्यवस्थापन गर्न सहज हुने तथा पेन्सनको म्यानुअल गणनाका क्रममा हुने मानवीय त्रुटि पनि कम हुने बताइएको छ।

यो प्रणाली लागू भएपछि करिब तीन लाख ५२ हजार ८१६ जना (निष्क्रिय करिब ४४ हजार समेत) निवृत्तभरणकर्ताले भोग्दै आएको झन्झट अन्त्य भई अब सबै सेवा अनलाइनमार्फत घरमै बसेर लिन सकिने व्यवस्था हुने भएको छ।

यसअघि भने नयाँ निवृत्तभरणकर्ताले बैंक छनोटका लागि मात्र पनि निवृत्तभरण व्यवस्थापन कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बाध्यता थियो। त्यस्तै, निवृत्तभरणकर्ताले हरेक वर्ष स्वयं बैंकमै उपस्थित भई खाता नवीकरण गर्नुपर्ने व्यवस्था थियो भने पेन्सन रकम र कर गणना म्यानुअल रूपमा हुँदै आएको थियो। समयमै नवीकरण नहुँदा सरकारी नगद प्रवाह पनि अनुमानयोग्य हुन सकेको थिएन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*