चन्द्रमा घुम्न गएका चार अन्तरिक्ष यात्री विहानै पृथ्वीमा फर्किए

काठमाडौं एजेन्सीहरु । गत अप्रिल २ मा पृथ्वीबाट चन्द्रको एक फन्को लगाउन गएका चार जना अन्तरिक्ष यात्रीहरु नेपाली समय अनुसार आज विहान ५ः५५ बजेतिर सकुशल पृथ्वीमा फर्किएका छन् ।
आर्टेमिज २ अभियान अन्तर्गत अमेरिकी अन्तरिक्ष यात्रीहरु रेड वाइजमेन, भिक्टर ग्लोभर, कृष्टिना कोच र जेरेमी हसन अन्तरिक्षबाट क्याप्सुलमार्फत सान्डिएको नजिकैको समुन्द्रमा अवरण गरेका हुन् ।

अन्तरिक्षबाट करिव छ मिनेट लामो चुनौतिपूर्ण अवतरण प्रक्रियापछि उनीहरु प्यारासुटमार्फत समुन्द्रमा झरेका थिए । जब तीन वटा राता प्यारासुटहरु खुले नासा अन्तरिक्ष केन्द्रको कमाण्ड कन्ट्रोल सिष्टममा रहेका वैज्ञानिकहरु खुशी भएका थिए ।
नासाले सन् १९६० को दशकमा चलाएको चन्द्रमा मिशन पछि करिब ६० बर्षपछि चन्द्रमा नजिकै मानिसहरु पुग्न सफल भएका छन् । यसलाई ऐतिहासिक घटना भनिएको छ ।
ति चार अन्तरिक्ष यात्रीले चन्द्रलाई एक फन्को लगाएर घुमेपछि पृथ्वीतर्फ फर्किएका थिए । उनीहरुले यात्राको क्रममा निकै महत्वपूर्ण र ऐतिहासिक उपलब्धी र अनुभव लिएर फर्केको विश्वास गरिएको छ ।











