अदालतको आदेशपछि स्थगित महासंघको साधारण सभा अब वैशाख २१-२२ मा

२९ चैत्र २०८२, आईतवार १०:१५

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनको मिति पुनः निर्धारण गरिएको छ। यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम उच्च अदालत पाटन को अन्तरिम आदेशका कारण स्थगित भएपछि नयाँ मिति तय गरिएको हो।

महासंघका पदाधिकारी समितिको २०८२ चैत २७ गते बसेको बैठकले साधारण सभा तथा निर्वाचन आगामी २०८३ वैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको जनाएको छ। यस निर्णयसँगै लामो समयदेखि अन्योलमा रहेको नेतृत्व चयन प्रक्रिया अब नयाँ कार्यतालिकाअनुसार अघि बढ्ने भएको छ।

साधारण सभा स्थगित भएपछि व्यवसायीहरूबीच अन्योल सिर्जना भएको थियो। विशेषगरी नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेपछि निजी क्षेत्रका सरोकारवालाहरूले चासो व्यक्त गरेका थिए। नयाँ मिति तय भएसँगै निर्वाचन प्रक्रिया पुनः सुचारु हुने अपेक्षा गरिएको छ। महासंघले यसपटक कार्यक्रमलाई थप व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ।

यसैबीच, पदाधिकारी समितिको बैठकले कार्यकारिणी समितिको बैठक पनि आगामी २०८३ वैशाख ९ गते बस्ने निर्णय गरेको छ। उक्त बैठकले साधारण सभा तथा निर्वाचनसम्बन्धी आवश्यक तयारी, कार्यतालिका र एजेन्डा तय गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*