वैदेशिक रोजगारीमा जाने श्रमिकलाई राहत: अब विमानस्थलमा अतिरिक्त बिल–रसिद नचाहिने

२९ चैत्र २०८२, आईतवार १०:२६

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै पनि अतिरिक्त बिल वा रसिद पेश गर्नु नपर्ने भएको छ। केही दिनदेखि सञ्चार माध्यममा प्रकाशित समाचार तथा वैदेशिक रोजगार विभागको सूचनापछि उत्पन्न अन्यौलता चिर्दै अध्यागमन विभागले यस्तो स्पष्ट पारेको हो।

आइतबार जारी सार्वजनिक सूचनामार्फत विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति र राहदानी (पासपोर्ट) जस्ता आधारभूत कागजात मात्र देखाए पुग्ने जनाएको छ। पछिल्लो समय विमानस्थलमा श्रमिकहरूले थप बिल र रसिद समेत बोक्नुपर्ने हल्ला फैलिएपछि यात्रुहरूमा अन्यौलता बढ्नुका साथै अनावश्यक भिडभाड समेत देखिएको थियो। विभागले प्रचलित कानुन तथा मन्त्रिस्तरीय निर्णयअनुसार प्रस्थान अनुमति दिँदा कुनै पनि अतिरिक्त झन्झट नदिइने स्पष्ट पारेको छ।

यसैगरी, भिजिट भिसामा विदेश जाने नागरिकका लागि पनि प्रक्रिया सहज बनाइएको छ। अब त्यस्ता यात्रुहरूले कम्तीमा ६ महिनासम्म वैध राहदानी, सम्बन्धित देशको भिसा र दुईतर्फी हवाई टिकट भएमा स्वघोषणा फारम भरेर सहजै यात्रा गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि भिजिट भिसामा जानेहरूले विभिन्न थप कागजात जुटाउनुपर्ने बाध्यता रहेकोमा गृह मन्त्रालयको निर्णयपछि उक्त व्यवस्था हटाइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*