प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय सञ्चारकर्मी सिधान्त सिबलसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार नेपालमा हालै सम्पन्न निर्वाचनपछि मोदीले प्रधानमन्त्री शाहलाई टेलिफोनमार्फत बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा दिएका थिए जसलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसकेका छन्।
परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने हालसम्म तय नभएको स्पष्ट पारे। मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको पहिलो भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र सम्भावित उच्चस्तरीय भ्रमणबारे प्रारम्भिक छलफल भएको उनले जानकारी दिए। नयाँ सरकार गठन भएको छोटो समय भएकाले नेपालले अहिले आफ्ना आन्तरिक प्राथमिकता निर्धारणमा ध्यान केन्द्रित गरिरहेको सन्देश भारतीय पक्षलाई दिइएको उनले बताए।
नेपाल र भारतबीच करिब ४० वटा सक्रिय द्विपक्षीय संयन्त्रहरू रहेको उल्लेख गर्दै खनालले ती संयन्त्रमार्फत सम्बन्धलाई थप व्यवस्थित रूपमा अघि बढाइने बताए। उनले नेपालले पहिले आफ्ना नीति तथा प्राथमिकताहरू स्पष्ट पार्ने र त्यसपछि सोही आधारमा उच्चस्तरीय भ्रमणहरू अघि बढाउने समझदारी दुवै पक्षबीच भएको उल्लेख गरे। प्रधानमन्त्रीको भ्रमणको उपयुक्त समय पनि यिनै संयन्त्रहरूले तय गर्ने उनको भनाइ छ।











