६ महिनामा श्री एयरलाइन्सको व्यापार साढे २ अर्ब, बैंकको ऋण तिर्न प्रिमियम आईपीओको तयारी

काठमाडौँ । नेपाली आन्तरिक हवाई सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको श्री एयरलाइन्सले ६ महिनामा नै साढे २ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिनामा २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो ।
पछिल्ला आर्थिक वर्षहरूको तथ्यांक हेर्दा कम्पनीको आम्दानी क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले ५ अर्ब १० करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । त्यसअघि २०८०/०८१ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ, २०७९/०८० मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, २०७८/०७९ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र २०७७/०७८ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको बजार विस्तार र यात्रु माग दुवै बढ्दा व्यापार समेत निरन्तर उकालो लागि रहेको हो । कम्पनीको कुल आम्दानीमध्ये करिब ९२ प्रतिशत विमान सेवाबाट र बाँकी ८ प्रतिशत हेलिकप्टर सेवाबाट प्राप्त हुने गरेको छ ।
कम्पनीको आम्दानी संरचनामा भने केही निश्चित हवाई मार्गहरूको ठूलो योगदान रहेको देखिन्छ । मुख्यतया काठमाडौं–नेपालगञ्ज र काठमाडौं–धनगढी मार्गबाट मात्रै करिब ५१ प्रतिशत आम्दानी हुने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भने यो निर्भरता घटेर ४८ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ ।
नयाँ टर्बोप्रप प्रकारका विमान थपिएसँगै काठमाडौं–सुर्खेत मार्गबाट हुने आम्दानी उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्ष यो मार्गको योगदान करिब ९ प्रतिशत रहेको थियो । हालका वर्षहरूमा यो मार्ग कम्पनीको आम्दानीमा थप महत्वपूर्ण बन्दै गएको देखिन्छ ।
नाफाको दृष्टिले पनि श्री एयरलाइन्सले पछिल्ला वर्षहरूमा सुधार देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसपछिल्लो वर्ष २०८१/०८२ मा नाफा १३० प्रतिशतले वृद्धि हुँदै ८२ करोड ४० लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामै कम्पनीले २६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आन्तरिक हवाई यातायात बजारमा कम्पनीको हिस्सा पनि उल्लेखनीय छ । सन् २०२५ जुलाईसम्मको अवस्थाअनुसार श्री एयरलाइन्सले आन्तरिक उडान क्षेत्रमा करिब १९ प्रतिशत बजार हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको छ ।
तर, कम्पनीको सञ्चालनमा लागत दबाब पनि बढ्दो छ । गत वर्ष इन्धन खर्च मात्रै कुल लागतको करिब ५० प्रतिशत पुगेको छ । अझ, मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण हवाई इन्धनको मूल्य बढ्दा कम्पनीको खर्च संरचनामा थप चाप परेको हो ।
श्री एयरलाइन्सको स्थापना सन् १९९९ मा एयर अनन्या नामबाट भएको थियो । पछि यसको नाम परिवर्तन भई श्री एयरलाइन्स प्राइभेट लिमिटेड बनेको हो । सन् २०२३ जुलाईमा कम्पनी सार्वजनिक कम्पनीमा रूपान्तरण भई हाल श्री एयरलाइन्स लिमिटेड नामले परिचित छ । काठमाडौंमा मुख्य कार्यालय रहेको यो कम्पनीले आन्तरिक प्रमुख मार्गहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ भने हेलिकप्टर चार्टर सेवासमेत प्रदान गर्दै आएको छ ।
हाल कम्पनीसँग कुल ९ वटा बम्बार्डियर प्रकारका विमान सञ्चालनमा रहेका छन् । तीमध्ये २ वटा जेट विमान र ७ वटा टर्बोप्रप विमान समावेश छन् जसमा २ वटा टर्बोप्रप विमान लिजमा लिइएका हुन् । हेलिकप्टरतर्फ कम्पनीसँग ६ वटा एमआई–८ र २ वटा एयरबस हेलिकप्टर रहेको विवरण छ ।
पछिल्ला वर्षहरूमा कम्पनीको विमान संरचनामा केही परिवर्तन पनि आएको छ । गत वर्ष १८ वटा विमान सञ्चालनमा रहेकोमा इन्धन बढी खपत गर्ने सीआरजे प्रकारका विमान बिक्री गरेपछि हाल संख्या घटेर १७ मा सीमित भएको कम्पनीले जनाएको छ । कम्पनीको प्रमुख शेयरधनी सुदिर मित्तल रहेका छन् जसको कम्पनीमा ९९.९० प्रतिशत हिस्सा रहेको छ । श्री एयरलाइन्स संयुक्त राष्ट्रसंघ र विश्व खाद्य कार्यक्रमद्वारा मान्यता प्राप्त सेवा प्रदायक सूचीमा समावेश हुने पहिलो नेपाली एयरलाइन्स पनि हो ।
कम्पनीले ऋण व्यवस्थापनमा पनि सुधार गर्दै आएको देखिन्छ । कुल ऋण सीमा ४ अर्ब ३६ करोड ८४ लाख रुपैयाँबाट घटाएर ३ अर्ब २५ करोड ८६ लाख रुपैयाँ कायम गरिएको छ । रेटिङ एजेन्सि इन्फोमेरिक्सले कम्पनीलाई ‘ट्रिपल बी माइनस’ रेटिङ पुनः पुष्टि गरेको छ । साथै अल्पकालीन ऋणका लागि ‘ए थ्री’ स्तरको रेटिङ प्रदान गरिएको छ भने सार्वजनिक निष्कासनका लागि समेत ‘ट्रिपल बी माइनस’ इश्यु रेटिङ कायम गरिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । प्रतिकित्ता २०० रुपैयाँ दरमा ६३ लाख कित्ता बराबरको १ अर्ब २६ करोड को आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।












