नेपालमा बसेर भारतीयद्वारा अनलाइन सट्टेबाजी, प्रहरी छापामा १८ जना पक्राउ

२९ चैत्र २०८२, आईतवार १३:१२

काठमाडौँ । रुपन्देहीका विभिन्न स्थानहरूमा सञ्चालन हुँदै आएको अवैध अनलाइन सट्टेबाजी (जुवा) गतिविधिमा संलग्न भएको अभियोगमा १८ जना भारतीय नागरिकसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो करिब डेढ साताको अवधिमा जिल्लाका दुई फरक स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले अनलाइन सट्टेबाजीमा संलग्न समूहलाई नियन्त्रणमा लिँदै उनीहरूको साथबाट विभिन्न सामग्रीसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा नेपाल र भारत दुवै देशका नागरिक रहेका छन्।

तिलोत्तमा नगरपालिका–७ स्थित क्षेत्रबाट मात्र ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोही स्थानबाट पक्राउ परेकामध्ये अधिकांश भारतीय नागरिक रहेको पुष्टि भएको छ। पक्राउ परेकाहरू अनलाइन प्लेटफर्ममार्फत जुवा सञ्चालन तथा रकम सट्टेबाजीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका भारतीय नागरिकहरूमा उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालका विभिन्न जिल्लाबाट आएका व्यक्तिहरू रहेका छन्। उनीहरूमा भारत उत्तर प्रदेशको बलिया जिल्लास्थित बासडिया थाना मिश्रवलिया गाउँका ३० वर्षीय प्रदीप गुप्ता, २० वर्षीय सतिश कुमार रहेका छन्। यस्तै, कर्नलगञ्ज थाना बसारिया, गोण्डाका २२ वर्षीय पवन कुमार, बिहार प्रदेश सिवानको हुसेनगञ्ज थाना मोहुवल बजारका २१ वर्षीय मनु कुमार सोनी, नैरहवा थाना क्षेत्रका २१ वर्षीय अमर कुमार, गोण्डा उमेरी बेगमगञ्जका २१ वर्षीय नरसिंह, सोही क्षेत्रका २४ वर्षीय राम असिस सिंह पनि पक्राउ परेका छन्।

त्यस्तै, पश्चिम बंगाल प्रदेश नदिया जिल्लाको गनपुर थाना यरुली क्षेत्रका ३१ वर्षीय सुदीप तो माझी र उत्तर प्रदेश बलियाको हण्डी थाना वेलहरीका २२ वर्षीय अभिषेक ठाकुर पनि पक्राउ सूचीमा परेका छन्।

उनीहरू लामो समयदेखि विभिन्न स्थानमा लुकेर अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएका थिए। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने उनीहरूको नेटवर्क, प्रयोग गरिएका अनलाइन प्लेटफर्म तथा वित्तीय कारोबारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*