दुई दिने बिदाले बीमा क्षेत्रमा निम्त्यायो सास्ती

काठमाडौं । इन्धन संकट देखिएको भन्दै हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने सरकारको निर्णय बीमा कम्पनीहरुमा पनि लागू हुँदा बीमा क्षेत्रमा सास्ती निम्त्याएको छ।
बीमा कम्पनीहरुमा पनि लागू हुँदा बिमित भने मर्कामा पर्ने भएका छन् । नियमित अवस्थामै पनि बीमा कम्पनीहरु निकै संवेदनशील कार्य क्षेत्र हो । आपत्तकालिन अवस्थामा बीमा कम्पनीहरु अहोरात्र खटिनुपर्ने हुन पनि सक्छ । कतिपय अवस्थामा बीमा कम्पनीहरुले बीमितहरुको इर्मजेन्सी केस हेरेर शनिबार पनि सेवा दिँदै आईरहेका छन् ।
आपत्तकालिन अवस्थामा बीमितको सारथी बन्न शनिवार पनि खुला हुनुपर्ने आवाज यदाकदा उठ्ने गरेको थियो । तर, सरकारले भने आइतबार पनि बिदा थपिदिएको छ । सेवा प्राप्त गर्न सकिने दिन खुम्चिँदा आपत्तकालिन अवस्था र इमजेन्सी बीमा दाबीको केसहरु अल्झिने समस्या हुन सक्छन् ।
दुई दिन बिदा दिने निर्णय सबै क्षेत्रमा लागू गर्नुपर्छ भन्ने होइन । जस्तो कि, बीमा कम्पनी, अस्पताल लागू नगर्न सकिन्थ्यो । वा सैद्धान्तिक रूपमा लागू गरिए पनि व्यावहारिक रूपमा भने बीमा यसअघि जस्तै गरी सञ्चालन गर्न सकिने बीमाकर्मीहरु बताँउछन् ।
पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले दुई दिने बिदामा सरकारको हतारको निर्णय भएको बताँउछन् । जोखिमको क्षेत्रमा सरकारको संवेदनशीलता नदेखिएको उनको बुझाई रहेको छ। फास्ट ट्रयाक क्लेममा दुई दिन बिदाले गम्भीर असर पार्ने अधिकारी बताँउछन् ।
बैंकले जस्तै एक्स्टेसन काउन्टर खोलेर आपत्तकालिन सेवा सुचारु गनुुपर्ने समयमा बीमा कम्पनीहरुमा दुई दिने बिदा सरकारले कुनै अध्ययन नगरि ल्याएको सपष्ट देखिन्छ । साथै बीमितहरुको बीमालेख शुक्रबार साँझ कार्यालय समय सकिएपछि जारी गर्न नपाए ४८ घण्टा बढी समय होल्ड गनुपर्ने र बीमितहरु अन्यायमा पर्ने देखिन्छ । उनले भने । समयमा सरकारले जोखिम हस्तान्तरण गर्ने संवेदनशील बीमा कम्पनीहरुको दुई दिने बिदा परिमार्जन गनुपर्ने उनको धारणा रहेको छ ।
सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रीले, नेपालमा अन्य सार्वजनिक बिदा नै बढी हुने गरेको कारण केही कामहरुमा प्रभाव देखिने र बैंकहरुले बिदामा पनि अल्टरनेटिभ रुपमा हाम टाइम सेवा दिने बिषय आईरहेको छ ।बीमा कम्पनीहरुले पनि केन्द्रिय कार्यालयहरुमार्फत बिदामा पनि आपत्तकालिन सेवाको लागि केही प्लान ल्याउन पाए सहज हुने बताँउछन् ।
दुई दिने बिदाको कारण कर्मचारीहरूको कार्यक्षमता, पारिवारिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास छ। पश्चिम एसिया द्वन्द्वका कारण इन्धनको आपूर्ति शृंखला बिथोलिँदा विश्वभर संकटको स्थिति छ ।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले कर्मचारीहरूको स्वागत गरिरहेको छ । तर, एकातिर यो निर्णयलाई सकारात्मक मानिँदै गर्दा अर्कोतिर भने यसले बिदाको संख्या बढाउने र सेवाप्रवाहमा असर पर्ने बहस भइरहेको छ ।
गृह मन्त्रालयका अनुसार २०८३ सालमा नेपालमा ३५ दिन सार्वजनिक बिदा रहेको छ । यस्तै तीज, जितिया, गाईजात्रा र इन्द्रजात्राजस्ता पर्वका कारण थप १५ दिनसम्म क्षेत्रीय वा समुदायविशेष बिदा छ । यसमा शनिबार र इन्धन संकटको अल्पकालीन समाधानस्वरूप थपिएको आइतबारको बिदा वर्षैभरि हुने अनुमान गर्दा ८३ सालमा कुल सार्वजनिक बिदाको संख्या १५४ दिन हुन आउँछ ।
यो भनेको एक वर्षमा करिब ४२ प्रतिशत समय बिदामा सकिनु हो । यति धेरै बिदाले देशको सार्वजनिक सेवा प्रवाहलाई असर गर्दैन ? कामको चाङ बढ्ने र सेवाग्राहीले लामो पालो पर्खनुपर्ने समस्या आउँदैन ? यस्तै प्रश्नहरू उठेका छन् । तर, जानकारहरू भने अन्य बिदा पुनरावलोकन गर्दै साप्ताहिक दुई दिने बिदा प्रणालीलाई स्थायी रूपमा लागु गर्न सकिए थप प्रभावकारी हुने अनुमान गर्छन् ।
३५ दिनसहित विश्वमै सबैभन्दा बढी सार्वजनिक बिदा नेपालमै हुने गरेको छ । यस्तै भारत, कोलम्बिया तथा फिलिपिन्स १८ दिनसहित सबैभन्दा बढी सार्वजनिक बिदा हुने मुलुक हुन् । साप्ताहिकबाहेक बेलायत, क्यानडालगायत देशमा वार्षिक सार्वजनिक बिदा १० दिनभन्दा पनि कम हुन्छ ।
यस्तै अमेरिकामा १२, फ्रान्समा ११, डेनमार्कमा ९ तथा चीनमा ७ दिन सार्वजनिक बिदा हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ । सर्सर्ती हेर्दा विकसित देशहरूमा सार्वजनिक बिदाको अवधि कम छ भने तुलनात्मक रूपमा अल्पविकसित देशहरूमा सार्वजनिक बिदा बढी छ ।
नेपालमा यसअघि पनि आर्थिक गतिविधि चलायमान हुने भन्दै साप्ताहिक बिदा दुई दिन दिन थालिएको थियो । तर, पर्याप्त तयारी अभाव र सेवा प्रवाहमा असर परेको भन्दै आलोचना भएपछि फिर्ता लिइयो । यसपटक भने अन्य बिदा पुनरावलोकन गर्दै व्यवस्थित तयारीका साथ शनिबार र आइतबारको बिदा कार्यान्वयन गरिएमा दीर्घकालीन रूपमा यो सफल हुने तर्क जानकारहरूको छ ।
बीमा क्षेत्र बीमितहरुको लागि दाबीको समयमा पहरेदार भएर बस्नुपर्ने भएको कारण दुई दिन बिदा स्वीकार नभएको बीमा क्षेत्रका अधिकारीहरु बताँउछन् ।











