ट्रङ्क र डेडिकेटेड लाइनको बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरण पुनः सक्रिय

३० चैत्र २०८२, सोमबार ०८:३०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेका औद्योगिक ग्राहकबाट बक्यौता महसुल उठाउने प्रक्रिया पुनः तीव्र बनाएको छ। प्राधिकरणले २०८२ साल असोजमा जारी गरेको सूचनालाई आधार मानेर सम्बन्धित उद्योगहरूलाई पुनः भुक्तानीका लागि पत्राचार शुरु गरेको हो।

प्राधिकरणका ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले गत शुक्रबार सबै प्रादेशिक तथा मातहतका कार्यालयहरूलाई बक्यौता असुली प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार विभिन्न वितरण केन्द्रमार्फत सम्बन्धित औद्योगिक ग्राहकहरूलाई बक्यौता महसुल भुक्तानी गर्न पत्राचार गरिएको प्राधिकरणले जनाएको छ।

यसअघि विद्युत् नियमन आयोगले चैत १ गते ट्रङ्क तथा डेडिकेटेड लाइन विवादमा निर्णय गर्दै पञ्चकन्या स्टिल्स र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजले तिर्नुपर्ने बक्यौता महसुल सम्बन्धी प्राधिकरणको दाबीलाई सदर गरेको थियो। आयोगको इजलासले पञ्चकन्या स्टिल्सले आफूमाथि अन्यायपूर्ण व्यवहार भएको भन्दै दायर गरेको निवेदनमा मागदाबी नपुगेको ठहर गर्दै प्राधिकरणकै पक्षमा फैसला गरेको हो।

उक्त निर्णयपछि बक्यौता उठाउन कानुनी आधार बलियो बनेको भन्दै प्राधिकरणले पुनः सक्रियता बढाएको हो। प्राधिकरणले नियामक निकायको निर्णय कार्यान्वयन गर्नु संस्थाको दायित्व भएको उल्लेख गर्दै महसुल असुली प्रक्रियालाई अघि बढाएको हो।

प्राधिकरणले असोज १२ गते जारी गरेको सूचनाअनुसार बक्यौता रकम २१ दिनभित्र नतिरे विद्युत् आपूर्ति रोक्ने व्यवस्था गरिएको थियो। सोही आधारमा त्यसपछि केही उद्योगहरूको लाइन काटिएको थियो। त्यसपश्चात् २२ वटा उद्योगले बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता बुझाएका थिए भने तीमध्ये ६ उद्योगले दोस्रो किस्ता समेत तिरेका थिए।

यद्यपि उद्योगीहरूले उक्त भुक्तानीलाई नियमित महसुल नभई धरौटीका रूपमा व्याख्या गर्दै आएका छन्। प्राधिकरणका अनुसार केही उद्योगले नियमित महसुलसँगै किस्ताबापत रकम तिर्दै आए पनि अधिकांश उद्योगले कात्तिकपछि किस्ता भुक्तानी गरेका छैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*