वैशाखका लागि घट्यो वाणिज्य बैंकको ब्याजदर, कुन बैंकको कति?

३० चैत्र २०८२, सोमबार ०९:४६

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार निक्षेपदरमा सामान्य गिरावट देखिएको छ। चैत महिनाको तुलनामा वैशाखमा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपदर औसतमा घटेको देखिएको हो।

चैतमा व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४.४० प्रतिशतमा झरेको छ। त्यस्तै संस्थागत निक्षेपतर्फ चैतमा ३.२९ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा घटेर ३.२३ प्रतिशतमा सीमित भएको छ।

बैंकगत रूपमा हेर्दा केही बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले यथावत् राखेका छन्। सिटिजन्स बैंक इन्टरनेशनल र एभरेस्ट बैंकले व्यक्तिगत निक्षेपदरमा क्रमशः ०.३५ र ०.२० प्रतिशतले ब्याजदर घटाएका छन्। त्यसैगरी हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ।

नबिल बैंकमा संस्थागत निक्षेपदर ०.५४ प्रतिशतले घटेको छ भने एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि ०.२५ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। त्यस्तै सिद्धार्थ बैंकमा दुवै प्रकारका निक्षेपदरमा ०.२५ प्रतिशतले गिरावट आएको छ।

यद्यपि ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, एनएमिब बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र सानिमा बैंकले दुवैतर्फको ब्याजदर यथावत् राखेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*