कालीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घट्दै ६४० मेगावाटमा सीमित, २४४ मिटर अग्लो बाँध बन्ने

काठमाडौँ । कालीगण्डकी नदीमा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइएको छ । सुरुवातमा ८४४ मेगावाट क्षमतामा प्रस्ताव गरिएको यो आयोजना हाल अध्ययनका क्रममा परिमार्जन गरी ६४० मेगावाट क्षमतामा निर्माण गर्न उपयुक्त हुने निष्कर्षसहित अगाडि बढाइएको हो ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटर माथि पर्ने उर्लेनी–खङकोट क्षेत्रमा निर्माण गरिनेछ, जुन गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौर आसपास पर्दछ । आयोजनाअन्तर्गत करिब २४४ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
बाँध निर्माणपछि जम्मा हुने पानीले करिब २९ किलोमिटर लामो जलाशय निर्माण हुने बताइएको छ, जुन खनियाघाटसम्म फैलिनेछ । आयोजनाको नेट हेड १८३.४ मिटर रहनेछ भने पानीको बहाव दर ४०५ घनमिटर प्रतिसेकेण्ड रहनेछ । यस आयोजनाबाट वार्षिक एक हजार ६४५.६५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
आयोजनामा चारवटा स्टिल पेनस्टक जडान गरिनेछ भने विद्युत्गृहमा चारवटा फ्रान्सिस टर्बाइन जडान गरिने प्रस्ताव गरिएको छ । विद्युत्गृह पर्वतको बिहादी गाउँपालिका अन्तर्गत बर्राचौर क्षेत्रमा निर्माण गरिने योजना छ ।
आयोजनाबाट पर्वत जिल्लाका जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछन् । यस्तै बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका केही क्षेत्र पनि प्रभावित हुनेछन् । गुल्मीको कालीगण्डकी गाउँपालिका तथा स्याङ्जाको गल्याङ नगरपालिका समेत आयोजनाबाट असर पर्ने क्षेत्रका रूपमा पहिचान गरिएको छ ।
आयोजनाको सम्भाव्यता अध्ययन तथा वातावरणीय मूल्यांकनको काम विद्युत् विकास विभागको नेतृत्वमा परामर्शदाता कम्पनी स्मेक इन्टरनेसनल र जेड कन्सल्टको संयुक्त उपक्रम (जेभी) ले गरिरहेको छ ।
प्रस्तावित आयोजनास्थलमा पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक, कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोरमार्फत पहुँच पुग्ने बताइएको छ ।











