लुम्बिनी केवलकारको व्यापार १२ करोडः आईपीओ रकमबाट माथिल्लो स्टेशनमा २ अर्बको होटल निर्माणको तयारी

३० चैत्र २०८२, सोमबार ११:५३

काठमाडौँ । व्यवसायी चन्द्र प्रसाद ढकाल नेतृत्वको आईएमई समूहअन्तर्गत सञ्चालित लुम्बिनी केवलकार लिमिटेडले वर्षदिनमा नै १२ करोडको व्यापार गरेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको लुम्बिनी–पाल्पा करिडोरलाई जोड्ने केवलकार परियोजनाले चालु आर्थिक वर्ष २०८१।०८२ मा १२ करोड ३० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो ।

यसअघि आर्थिक वर्ष २०८०।८१ मा कम्पनीले १३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो भने २०७९।८० मा केवल २ करोड २० लाख रुपैयाँको मात्र कारोबार गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा नै कम्पनीको व्यापार ५ करोड ३० लाख रुपैयाँ पुगेको छ । सञ्चालनमा आएको छोटो अवधिमा नै यात्रु र पर्यटनको संख्या निरन्तर बढ्दै जादा कम्पनीको व्यापार समेत फस्टाइरहेको हो ।

२०२३ मे २९ देखि व्यावसायिक सञ्चालनमा आएको लुम्बिनी केवलकारले सुरुवाती वर्षमै अपेक्षाभन्दा बढी यात्रु आकर्षित गर्न सफल भइरहेको छ । विशेषगरी लुम्बिनी क्षेत्रको धार्मिक पर्यटन, भारतीय पर्यटकको आवागमन र स्थानीय आन्तरिक पर्यटन प्रवाहले केवलकारको माग निरन्तर बढाएको देखिन्छ ।

यो केवलकार आयोजना लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको तल्लो स्टेशनबाट सुरु भई पाल्पा जिल्लाको माथिल्लो स्टेशनसम्म विस्तार गरिएको छ । तल्लो स्टेशनले तराई क्षेत्रको पर्यटकीय पहुँचलाई सहज बनाउँछ भने पाल्पाको बसन्तपुर क्षेत्रमा अवस्थित माथिल्लो स्टेशनले धार्मिक तथा सांस्कृतिक सम्पदासँग जोडिएको उच्च पर्यटन सम्भावना बोकेको क्षेत्रलाई समेटेको छ । केवलकारको १० मिनेटको यात्रा पर्यटकलाई यी सबै सांस्कृतिक स्थलहरूको नजिक पु-याउँछ ।

माथिल्लो स्टेशन क्षेत्रमा कामाख्यादेवी मन्दिर, शिव वाहन नन्दी र सय वर्ष पुरानो भगवती मन्दिर जस्ता धार्मिक सम्पदाहरू अवस्थित छन् । यी संरचनाले केवलकार यात्रालाई धार्मिक पर्यटनसँग जोड्ने महत्वपूर्ण आधार तयार गरेका छन् ।केवलकारको १० मिनेटको यात्रा पर्यटकलाई यी सबै सांस्कृतिक स्थलहरूको नजिक पु-याउँछ । विशेषगरी सप्ताहन्त र चाडपर्वका समयमा यात्रुहरूको चाप उल्लेखनीय रूपमा बढ्ने गरेको छ ।

व्यवसायिक दृष्टिकोणबाट हेर्दा कम्पनीले सञ्चालन नाफा मार्जिनमा समेत राम्रो सुधार देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा ४२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन २०८१/८२ मा बढेर ५० प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पनि सोही ५० प्रतिशत स्तर कायम रहेको छ ।

वित्तीय संरचनाको दृष्टिकोणबाट हेर्दा कम्पनीको गियरिङ अवस्थामा पनि सुधार आएको देखिन्छ । मूल्याङ्कनअनुसार बाँकी ऋणमध्ये करिब २६ प्रतिशत बराबर -झण्डै २३ करोड रुपैयाँ) अग्रिम रूपमा भुक्तानी गरिएको छ । यो ऋण भुक्तानीमा हकप्रद सेयर निष्कासनबाट प्राप्त रकमले महत्वपूर्ण योगदान पुर्‍याएको हो । कम्पनीले कुल ५७ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेकोमा हालसम्म करिब ५० प्रतिशत रकम मात्रै उपयोगमा आएको छ भने बाँकी रकम क्रमशः परियोजनामा प्रवाह हुने क्रममा रहेको छ ।

सन् २०२६ को मध्य जनवरीसम्म बाँकी हकप्रद सेयर रकममध्ये करिब ४३ प्रतिशत (झण्डै २५ करोड रुपैयाँ) मात्र कम्पनीमा प्रवेश गरेको देखिन्छ । बाँकी रकम मुख्य रूपमा प्रस्तावित पाँचतारे होटल परियोजनामा लगानी गर्ने योजना रहेको छ । यो होटल केवलकारको माथिल्लो स्टेशन क्षेत्रमै निर्माण गर्ने योजना रहेको छ जसले सम्पूर्ण परियोजनालाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

होटल परियोजनाको लागत करिब २ अर्ब २५ करोड ८० लाख रुपैयाँ अनुमान गरिएको छ । यो ठूलो पूँजी आवश्यक पर्ने आयोजना भएकाले वित्तीय व्यवस्थापन अझै पूर्ण रूपमा टुंगो लागिसकेको छैन । कम्पनीले आवश्यक ऋण लगानीका लागि बैंक तथा वित्तीय संस्थासँग छलफल गरिरहेको छ । तर, बैंकहरूले परियोजनालाई एकीकृत रूपमा मूल्याङ्कन गर्ने वा केवल होटललाई अलग्गै परियोजना रूपमा हेर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।

यद्यपि, कम्पनीले आगामी दिनमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत थप पूँजी जुटाउने योजना बनाएको छ । आईपीओबाट प्राप्त रकम होटल निर्माण तथा सञ्चालन तयारीमा उपयोग गर्ने र दीर्घकालीन रूपमा पूँजी संरचना अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

इक्रा नेपालले लुम्बिनी केबलकार लिमिटेडको जारीकर्ता सम्बन्धी मूल्यांकन पुनः पुष्टि गर्दै बी प्लस स्तर यथावत् राखेको छ। कम्पनीको दीर्घकालीन ऋणसम्बन्धी स्तर पनि एल बी प्लसमै कायम गरिएको छ। दीर्घकालीन ऋण सीमा पहिले १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा पछिल्लो मूल्यांकनमा घटाएर करिब ७३ करोड २० लाख रुपैयाँ कायम गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*