राष्ट्र बैंकको प्रतिवेदन ‘५ वर्षमा घरजग्गा कर्जा ७२% ले वृद्धि, मधेसमा सबैभन्दाबढी हुँदा कर्णाली र सुदूरपश्चिम पछि’

३० चैत्र २०८२, सोमबार १४:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल–स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै नेपालको भूमि बजारको वास्तविक चित्र प्रस्तुत गरेको छ । यो प्रतिवेदन भूमि व्यवस्थापन तथा अभिलेख विभाग र आन्तरिक राजस्व विभागको समन्वयमा सङ्कलन गरिएको तथ्याङ्कमा आधारित रहेको छ र अबदेखि त्रैमासिक रूपमा नियमित रूपमा प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनले नेपाली रियल–स्टेट क्षेत्रमा देखिएका उतारचढाव, मौसमी प्रभाव र प्रादेशिक असमानतालाई स्पष्ट रूपमा उजागर गरेको छ । तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रवृत्ति देखिएको छ, जसअनुसार आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार सुस्त रहने र तेस्रो तथा चौथो त्रैमासमा उल्लेख्य रूपमा वृद्धि हुने प्रवृत्ति देखिएको छ ।

प्रादेशिक अवस्थाको विश्लेषण गर्दा कारोबारको सङ्ख्या र क्षेत्रफल दुवैका आधारमा मधेस प्रदेश सबैभन्दा अगाडि देखिएको छ भने लुम्बिनी प्रदेश र कोशी प्रदेश क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने घरजग्गा कारोबार तुलनात्मक रूपमा निकै कम रहेको प्रतिवेदनले देखाएको छ ।

जग्गाको आकारका आधारमा पनि फरक प्रवृत्ति देखिएको छ । मधेस प्रदेशमा २० आनाभन्दा ठूला प्लटहरूको कारोबार बढी हुने गरेको पाइए पनि बागमती प्रदेशसहित अन्य प्रदेशमा २.५ देखि १० आनासम्मका साना प्लटहरूमा लगानीकर्ताको आकर्षण बढी रहेको छ ।

त्यस्तै, कारोबार भएको जग्गाको घोषित मूल्य वा थैली रकमका आधारमा बागमती प्रदेश नै अग्रस्थानमा रहेको छ । महानगर र उपमहानगर क्षेत्रमा ५ देखि १० आनाका जग्गाहरू सबैभन्दा बढी किनबेच हुने गरेको समेत तथ्याङ्कले देखाएको छ ।

वित्तीय पक्षमा हेर्दा घरजग्गा क्षेत्रबाट प्राप्त हुने सरकारी राजस्वमा उल्लेख्य उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा यो राजस्व रु. २३.७ अर्बसम्म पुगेको थियो भने त्यसपछि घट्दै गएको भए पनि पछिल्लो समयमा सुधार हुँदै आर्थिक वर्ष २०८१/८२ मा करिब रु. १५ अर्बको हाराहारीमा पुगेको छ ।

साथै, विगत पाँच वर्षमा घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी अझै मजबुत रहेको देखाएको छ । राष्ट्र बैंकले यसै तथ्याङ्कको आधारमा छिट्टै ‘घरजग्गा मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

A-Report-on-the-Status-of-Real-Estate-Market-in-Nepal

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*