घट्यो पुँजी बजारः बैंक तथा वित्तीय संस्थाको लगानी राताम्य, अझै अस्थिर किन मार्केट ?

काठमाडौँ । नेपाली शेयर बजारमा सोमबार पनि सामान्य गिरावट देखिएको छ । गत शुक्रबारदेखि लगातार ओरालो लागेको बजार आज झिनो अंकले घट्दै बन्द भएको हो । कारोबार सूचकमा देखिएको यो सुस्त गिरावटलाई धेरै विश्लेषकहरूले सामान्य करेक्सनका रूपमा व्याख्या गरेका छन् । बजारमा ठूलो उतार–चढाव नदेखिए पनि लगानीकर्ताबीच सतर्कता भने बढेको छ ।
हालको गिरावटका बीच पनि समग्र बजार वातावरण भने सकारात्मक नै रहेको लगानीकर्ताहरूको भनाइ छ । स्थायी सरकारको उपस्थिति, नीतिगत स्थिरता, बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको कमी र अर्थतन्त्रका विभिन्न सूचकमा देखिएको सुधारका संकेतहरूले बजारको दीर्घकालीन आधार बलियो बन्दै गएको अनुमान गरिएको छ । यसले दीर्घकालमा शेयर बजार बुलिश ट्रेन्डतर्फ अघि बढ्ने अपेक्षा थप बलियो बनाएको छ ।
यसैबीच, बजार घटिरहेको अवस्थालाई धेरै लगानीकर्ताले खरिद अवसरका रूपमा उपयोग गरिरहेका छन् । राम्रो आधार भएका कम्पनीका सेयरमा क्रमशः चासो बढ्दै गएको देखिन्छ । बजारमा छोटो अवधिको दबाब भए पनि दीर्घकालीन लगानी रणनीति अपनाउने लगानीकर्ताले भने यसलाई पोर्टफोलियो सुदृढ गर्ने उपयुक्त समयका रूपमा लिएका छन् ।
उता अर्थमन्त्रीले शेयर बजारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कुनै आशंका नरहेको स्पष्ट पारेपछि लगानीकर्ताको मनोबल थप मजबुत भएको छ । सरकार बजारप्रति संवेदनशील र सकारात्मक रहेको सन्देशले लगानीकर्तामा विश्वास बढाएको छ । यही विश्वास र आधारभूत पक्षको सुधारका आधारमा आगामी दिनमा बजार पुनः उकालो यात्रामा फर्किने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१८ अकंले घटेर २८३३.६० बिन्दुमा कायम भएको छ । आज २ करोड १ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ७ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको ०.५५ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत, जीवन बीमा समूहको ०.४६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.४२ प्रतिशतले शेयर मूल्य घटेको छ ।
सोमबार १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य भने स्थिर रहेको हो ।












