नेपाल र जापान सम्बन्ध अझ मजबुत बनाउन उच्चस्तरीय छलफल

३० चैत्र २०८२, सोमबार १५:४०

काठमाडौँ । इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी), नेपालले जापानको प्रमुख अन्तर्राष्ट्रिय मामिला, नीति अनुसन्धान तथा वैश्विक संवादमा समर्पित प्रतिष्ठित संस्था जापान इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्स (जीआईआईए) सँग उच्चस्तरीय रणनीतिक परामर्श सम्पन्न गरेको छ।

उक्त बैठक जीआईआईएका अध्यक्ष केनिचिरो सासाएको आतिथ्यमा सम्पन्न भएको थियो । उनको नेतृत्वले जीआईआईएलाई विश्व नीति संवाद र बौद्धिक आदान–प्रदानको अग्रणी संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आईआरजीडीडी प्रतिनिधिमण्डलको नेतृत्व नेपालका पूर्व राजदूत तथा आईआरजीडीडीकी अध्यक्ष डा। शर्मिला प्रमिला ढकालले गरेकी थिइन्। उनले नेपालका तर्फबाट ओमान र स्पेनका लागि राजदूतका रूपमा कार्यरत रहँदा पनि कूटनीतिक संवाद, अनुसन्धान र अन्तर्राष्ट्रिय साझेदारीमार्फत नेपालको वैश्विक कूटनीतिक भूमिकालाई सुदृढ पार्न सक्रिय थिइन् ।

बैठकमा डा. ढकालले बौद्धिक कूटनीति को महत्व र जटिल बन्दै गएको अन्तर्राष्ट्रिय परिवेशमा थिंक ट्याङ्कहरूको भूमिकाबारे जोड दिइन । उनले लोकतान्त्रिक सुदृढीकरण, सुशासन तथा युवा र गतिशील जनशक्तिमा आधारित नेपालको अग्रगामी दृष्टिकोणप्रति प्रतिबद्धता व्यक्त गरे । उनलेनेपाल–जापानबीचको दीर्घकालीन र गहिरो मैत्री सम्बन्धलाई उल्लेख गर्दै जापानले पूर्वाधार, शिक्षा तथा क्षमता विकासका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो। यस्ता सहयोगले दुई देशबीच आपसी विश्वास र जनस्तरको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको उनले बताइन् ।

छलफलमा थिंक ट्याङ्कहरूबीच सहकार्य विस्तार गर्दै नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको थियो। दुवै पक्षले क्षेत्रीय तथा विश्वव्यापी विकासक्रमबारे विचार आदान–प्रदान गर्दै आर्थिक कूटनीति, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन तथा नीति अनुसन्धानजस्ता क्षेत्रमा सहकार्यका अवसरहरूबारे छलफल गरेका थिए। डा. ढकालले आईआरजीडीडीलाई संवाद प्रवर्द्धन, अनुसन्धान सुदृढीकरण तथा विद्वान, नीति निर्माता र संस्थाहरूबीच सहकार्य विस्तार गर्ने मञ्चका रूपमा विकास गर्ने आफ्नो निरन्तर प्रयासबारे पनि उल्लेख गरे । उनले शान्ति, स्थायित्व र दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वव्यापी संस्थाहरूलाई जोड्ने पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

जीआईआईएका अध्यक्ष केनिचिरो सासाएले आईआरजीडीडीको पहलको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय समझदारी र सहकार्य सुदृढ बनाउन निरन्तर संवाद तथा ज्ञान आदान–प्रदानको महत्वलाई स्वीकार गरे । बैठकले जीआईआईए र आईआरजीडीडीजस्ता संस्थाहरूबीच निरन्तर सम्पर्क, बौद्धिक आदान–प्रदान तथा सहकार्यलाई अगाडि बढाउने साझा समझदारीसहित निष्कर्ष निकालेको थियो। यो भेटघाटले संवाद र सहकार्यमार्फत नेपालको वैश्विक कूटनीतिक उपस्थिति सुदृढ गर्न तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्न डा. ढकालको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*