बक्यौता नतिर्ने भृकुटीमण्डपका २० सटलमा समाजकल्याण परिषद्को ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन गर्दै भाडा नतिर्ने संस्थामाथि कडा कारबाही सुरु गरेको छ । लामो समयदेखि भाडा बक्यौता राख्दै आएका विभिन्न संस्था तथा व्यवसायिक संरचनामा परिषद्ले ताला लगाएको हो ।
पटक–पटक सूचना जारी गर्दा समेत अटेर गरी भाडा नतिरेपछि बाध्य भएर यस्तो कदम चालिएको परिषद्ले जनाएको छ । परिषद्का सदस्यसचिव सरोज कुमार शर्माका अनुसार रिपोटर्स क्लब नेपाल, काठमाडौं पुस्तकालय, नेपाल फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ नेपाललगायत २० वटा संरचनामा ताला लगाइएको छ । हालसम्म करिब १० करोड रुपैयाँभन्दा बढी भाडा उठ्न बाँकी रहेको उनले जानकारी दिए ।
परिषद्ले ताला लगाइएका कार्यालयहरूलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ । साथै भृकुटीमण्डपभित्र रहेका संरचनालाई व्यवस्थित गर्ने योजना समेत अघि बढाइएको सदस्यसचिव शर्माले बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीको निर्देशनमा परिषद्ले भाडा असुली प्रक्रियालाई तीव्र बनाउँदै कडा कदम चालेको जनाएको छ ।











