नयाँ वर्षको शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल- ‘पराधीनताबाट देशलाई जोगाउनु’

३० चैत्र २०८२, सोमबार १७:२७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै देशलाई पराधीनताबाट जोगाउनुपर्ने, आत्मनिर्भर र स्वाधीन राष्ट्र निर्माणतर्फ अघि बढ्नुपर्ने अपिल गरेका छन् ।

सन्देशमा उनले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नयाँ वर्ष २०८३ को शुभकामना दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । उनले समयको प्रवाहसँगै समाज र राष्ट्रलाई प्रगतिको दिशामा अघि बढाउन विगतका कमजोरी र त्रुटिहरू सच्याउँदै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

शाहले राजनीतिक परिवर्तनका विभिन्न अभ्यासका बाबजुद देश अपेक्षित विकासमा पछि परेको दाबी गर्दै पटक–पटकको प्रणालीगत प्रयोग र विकल्पको खोजीले स्थिरता र निरन्तरतामा असर पारेको टिप्पणी गरेका छन् । उनले नेपाललाई सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा मात्र सीमित राखिँदा देश ‘प्रयोगशाला’ जस्तो बनेको बताएका छन् ।

उनका अनुसार राजनीतिक तथा शासकीय प्रणालीमा धेरै परिवर्तन भए पनि ती केवल संरचनागत फेरबदलमा सीमित रहे र त्यसले समग्र विकास र समृद्धिमा ठोस परिणाम दिन नसकेको विगतले देखाएको छ ।

सन्देशमा उनले राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको सहभागिता बढ्दै जानु सकारात्मक पक्ष भएको उल्लेख गर्दै पढेलेखेका, देश बुझेका र प्रविधिमा दक्ष युवाको आगमनले राष्ट्र निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले देश अहिले आर्थिक चुनौती, आन्तरिक सुरक्षा जोखिम र बाह्य सम्बन्ध व्यवस्थापनका दृष्टिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै राज्यको ध्यान यी क्षेत्रमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले नागरिकको जीवन, सम्पत्ति र आधारभूत आवश्यकताको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् ।

उनले प्राकृतिक विपत्ति, मौसमी जोखिम र अन्य आपतकालीन अवस्थाबाट हुने क्षतिबाट जनतालाई जोगाउन सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन् । साथै, उत्पादन र आपूर्तिको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

सन्देशमा उनले परनिर्भरता र पराधीनताबाट मुक्त हुन नसके देशको स्वाधीनता कमजोर हुने भन्दै उपलब्ध स्रोतसाधनको सही उपयोगमार्फत राष्ट्रिय कल्याण सम्भव हुने धारणा व्यक्त गरेका छन् । उनले संस्कृति, मौलिकता र परम्परागत कलाको संरक्षण र प्रवर्द्धनले राष्ट्रिय पहिचान बलियो बनाउने बताएका छन् ।

शाहले राजनीतिक द्वन्द्व, निषेध, विभाजन र प्रतिशोधले देशलाई कमजोर बनाउने भन्दै संवाद, सहमति र सहकार्यमार्फत संवैधानिक समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले जनचाहना र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*