ऐच्छिक पुनर्वीमा : एक नालीबेली

हरि प्रसाद निरौला 
२२ मंसिर २०८१, शनिबार १२:१५

साधारण शब्दमा बीमाको पनि वीमालाई पुनर्बीमा भनिन्छ । एउटा बीमा कम्पनीले अर्को बीमा कम्पनी वा पुनर्बीमा कम्पनीलाई जोखिमको केही निश्चित भाग हस्तान्तरण गरी जोखिमको वितरण गर्ने व्यवस्थित प्रक्रियालाई पुनर्बीमा भनिन्छ । यसबाट बीमकको जोखिम बिभिन्न दृष्टिकोणबाट वितरण हुन गई वित्तीय स्थिरता कायम रहनुका साथै दाबीलाई उचित समयमै भुत्तानी गर्नका निमित्त सक्षम र सबल बनाउँदछ ।

साधारणतया आफ्नो धारण क्षमता भन्दा अधिक भएको जोखिमको संपुर्ण भाग र अत्यधिक जोखिमयुक्त ब्यवसायको पुनर्बीमा गर्ने गरिन्छ । पुनर्बीमा बीमा ब्यवसायको बिकास र विस्तारको निमित्त एका आधारभुत आवश्यकता हो ।

पुनर्बीमाको प्रकार

पुनर्बीमाका प्रकारहरूलाई साधारणतया निम्न दुई प्रकारले वर्गिकरण गर्न सकिन्छ–

क. ऐच्छिक पुनर्बीमाः यो यस्तो पुनर्बीमा हो जसमा पुनर्बीमकलाई प्रत्येक जोखिमको पुनर्बीमाको निमित्त प्राप्त भएको प्रस्ताव वमोजिम उक्त प्रस्ताव स्वीकार वा अस्वीकार गर्ने अधिकार रहन्छ भने बीमकलाई समेत कुन जोखिम बहनको निमित्त कुन पुनर्बीमकलाई के कस्ता शर्तहरू समाबेश गरेर प्रस्ताव गर्ने भन्ने स्वतन्त्रता रहन्छ ।

ख. ट्रिटी पूनर्वीमाः यस प्रकारको पुनर्बीमामा बीमक र पुनर्बीमकले एक निश्चित समयावधि को शुरुमा अवधी तोकेर एक सम्झौता गर्दछन् जसमा ट्रिटि अन्तर्गत समेटिने जोखिमहरू र नसमेटिने जोखिमहरू, दावी भुक्तानीका विषयहरू, प्रिमियम, विशेष अवस्थाहरू लगायतका बिषयहरू समेटिएका हुन्छन् ।

ऐच्छिक पूनर्वीमाको परिचय

बिमकद्वारा प्रस्ताविक प्रत्येक छुट्टाछुटै वीमालेखको जोखिम स्वीकार गर्ने वा नगर्ने भनी प्रत्येक जोखिमको विश्लेषण गर्ने र उचित निर्णय लिने अधिकार पुनर्बीमकलाई रहने प्रकारको पुनर्बीमालाई ऐच्छिक पुनर्बीमा भनिन्छ । यस प्रकारको पुनर्बीमामा बीमकले प्रस्ताव गरेको प्रिमियम, बिमा अवधि, जोखिमको सिमा, भुक्तानीको अवस्था तथा शर्तहरू एवम् आवश्यकता बमोजिमका अन्य शर्तहरू पुनर्बीमकले हेरफेर गरि जोखिम स्वीकार गर्ने अवस्था समेत विद्यमान रहन्छ । साथै बिमकले समेत कुन जोखिम कुन समयमा ऐच्छिक पुनर्बीमाको निमित्त प्रस्ताव गर्ने र कून कून शर्त अवस्थामा र मूल्यमा (प्रिमियममा) पुनर्बीमा गर्ने भनि आफ्नो निर्णय गर्न सक्दछन् । यसवाट बीमक र पुनर्बीमक दुवैलाई आफ्नो जोखिमको ग्रहण क्षमताको उचित उपयोग गर्न तथा आफ्नो नाफा योग्यता क्षमताको उच्चतम स्तर कायम गर्न सहयोग पूग्दछ । यसलाई सवैभन्दा पूरानो पुनर्बीमाको स्वरुपको रुपमा समेत लिईन्छ ।

मुख्य विशेषताहरू

–ऐच्छिक पुनर्बीमा कुनै पोर्टफोलियो वा समूहमा नगरि प्रत्येक छुट्टाछुट्टै विमालेखको छुट्टाछुट्टै अण्डरराइटिङ्ग गर्ने र सोही बमोजिम पुनर्बीमा गर्ने गरिन्छ ।
–यस अन्तर्गत पुनर्बीमकलाई कुनै खास जोखिम स्विकार वा अस्वीकार गर्ने वा शर्त सहित स्वीकार गर्ने अधिकार हुन्छ ।
–प्रत्येक पुनर्बीमा सम्झौतामा शर्त र अवस्थाहरू एवम् मूल्य जस्ता विषयहरू फरक वनाई बीमक र पुनर्बीमकलाई अनुकूल बनाउन सकिन्छ ।
–टिट्री पुनर्बीमाले समेट्न नसकेका विशेष प्रकृतिका जोखिम भएका तथा उच्च मूल्ययुक्त सम्पतिको पुनर्बीमा यस अन्तर्गत गर्न सकिन्छ ।
–यसले विशेष प्रकृतिका जोखिमलाई पुनर्बीमा गर्न उच्च लचकता प्रदान गर्दछ ।
–यस प्रकारको पुनर्बीमामा प्रत्येक जोखिमलाई विस्तृत मुल्याङ्कन गरि अण्डरराइटिङ्ग गर्न‘पर्ने तथा प्रशासनिक जटिलता देखा पर्ने हुनसक्दछ ।
–ऐच्छिक पुनर्बीमा प्रत्येक विमालेखको आधारमा गरिने भएकोले ट्रिटि पुनर्बीमाको तूलनामा अधिक खर्चिलो हुने गर्दछ ।
–ऐच्छिक पुनर्बीमामा पुनर्बीमकले जोखिम स्वीकार गर्ने वा नगर्ने अवस्था विद्यमान रहेको हुनाले बीमकलाई अनिश्चितताको भूमिमा धकेल्ने गर्दछ ।
–पुनर्बीमकमा ऐच्छिक पुनर्बीमाको जोखिमलाई स्वीकार गर्ने क्षमताको अभाव हुन सक्दछ ।
–यसमा जोखिमको केन्द्रीकरण हुने सम्भावनामा बढोन्तरी हुने गर्दछ ।
–प्रत्येक वीमालेखको पुनर्बीमाको निमित्त पुनर्बीमक समक्ष परामर्श गर्न‘पर्ने हुनाले अण्डरराईटिङ्ग गर्ने तथा विमालेखको तयारी गर्ने कार्यमा बढि समय खर्च हुने गर्दछ ।

ऐच्छिक पूनर्वीमाको प्रयोग

ऐच्छिक पुनर्बीमा मूख्यतया निम्न विशेष अवस्थाहरूमा प्रयोग गर्ने गरिन्छ–
– पुनर्बीमा ट्रिटीमा समावेश नभएमा धेरै मूल्यका वा छुट्टै विशेषता भएका जोखिमहरू लाई स्विकार गर्न‘ पर्ने भएमा,
– प्रथम बीमकले सम्पूर्ण जोखिमलाई ग्रहण नगरि यसको वितरण गर्न चाहेमा,
– प्रथम बीमकले आफ्नो अण्डरराईटिङ्ग क्षमतालाई व्यवस्थापन गरि बढाउन चाहेमा,
– प्रथम बीमकले आफ्नो विशेष विमालेख सन्दर्भमा दावी नियन्त्रण गर्न चाहेमा ,
– बीमकले जटिल तथा वर्गिकरण नगरिएका जोखिमको अण्डरराईटिङ्ग गर्न पुनर्बीमकको उच्च दक्षताको उपयोग गर्न चाहेमा ।

ऐच्छिक पुनर्बीमाका प्रकारहरू

ऐच्छिक पुनर्बीमालाई निम्नलिखित दुई प्रकारले वर्गीकरण गर्न सकिन्छ–

१.समानुपातिक ऐच्छिक पुनर्बीमा
यसमा कुनै पनि जोखिमको एक निश्चित भाग बीमकले पुनर्बीमकलाई हस्तान्तरण गर्दछ र सोहि अनुपातमा प्रिमियम समेत बाडँफाड गर्दछ । पुनर्बीमकले बीमकबाट जुन अनुपातमा जोखिम र प्रिमियम प्राप्त गर्दछ सोहि अनुपातमा दावी समेत भुक्तानी गर्न उत्तरदायी हुने गर्दछ । यस प्रकारले आपसी सहमतिमा पूर्व निर्धारित समान अनुपातमा जोखिम, प्रिमियम र दावीलाई ग्रहण गरिने गरि सम्झौता हुने हँुदा यसलाई समानुपातिक पुनर्बीमा भनिन्छ ।

फाईदाहरू

समानुपातिक ऐच्छिक पुनर्बीमावाट बीमक र पुनर्बीमकलाई विभिन्न प्रकारका फाईदाहरू प्राप्त हुने गर्दछ, जसलाई निम्न प्रकारले प्रस्तुत गर्न सकिन्छ–
– यसले बीमकलाई निश्चित अनुपातमा जोखिम हस्तान्तरण गरि ठुला ठुला जोखिमलाई कम गर्न तथा वित्तीय स्थिरता तथा वित्तीय स्वस्थता कायम गर्न सहयोग गर्दछ ।
– यसले बीमकको आवश्यकता अनुसार पुनर्बीमाका शर्त र अवस्थामा हेरफेर गर्न लचकता प्रदान गर्दछ ।
– नियामक निकायको निर्देशनलाई पूरा गर्न समेत उपयोगि हुन्छ ।
– अण्डरराईटिङ्ग क्षमता अभिवृद्धि गर्न तथा दावी व्यवस्थापन गर्न समेत उपयोगि हुने गर्दछ ।
– बीमकले पुनर्बीमकको विशेषज्ञतालाई उपयोग गरि लाभ लिन सक्दछ ।
– बीमकलाई आफुले ग्रहण गरेको जोखिमलाई विभिन्न भौगोलिक क्षेत्रमा वितरण गर्न सहयोग पुग्दछ ।

बेफाइदाहरू

– बीमकले पुनर्बीमकलाई निश्चित प्रतिशतमा प्रिमियम भुक्तानी गर्न‘पर्ने हुनाले कम जोखिमयूक्त बीमालेखको सन्दर्भमा यो खर्चिलो हुने गर्दछ ।
– यसबाट पूर्ण रुपले जोखिम हस्तान्तरण गर्न सकिदैन ।
– समानुपातिक पुनर्बीमाको उपयुक्त व्यवस्थापन गर्ने, प्रिमियम गणना गर्ने, दावी व्यवस्थापन गर्ने जस्ता कार्यमा प्रशासनिक जटिलता हुने गर्दछ ।

२. असमानुपातिक ऐच्छिक पुनर्बीमा

यस प्रकारको पुनर्बीमा बीमकको लस रिटेक्शनमा आधारित हुने गर्दछ । बीमकले ग्रहण गरेको जोखिम वा ट्रिटि क्षमता भन्दा वाहिर हुन गएको क्षति मध्ये आफुले असमानुपातिक ऐच्छिक पुनर्बीमा मार्फत ग्रहण गर्न कवुल गरेको अंश मात्र पुनर्बीमकले भुक्तानी गर्दछ । यसमा बीमकको जोखिम ग्रहण तथा ट्रिटि क्षमताले अधिकको रुपम कार्य गर्दछ । अर्थात बीमकले धारणगरेको जोखिमभन्दा ठुलो ठुलो जोखिममा मात्र पुनर्बीमकलाई सहभागि गराउनु उपयुक्त हुन्छ । साधारणतया यस विधिलाई बीमकले आफ्नो जोखिमलाई नियन्त्रण गरि निर्धारित स्तरमा नाफादायकता कायम गर्न प्रयोग गर्दछन् ।

फाईदाहरू
– यसले महाविपत्तिवाट उत्पन्न हुने ठूला ठूला जोखिमलाई व्यवस्थापन गरि बीमकको वित्तीय स्थिरता कायम राख्न सहयोग गर्दछ ।
– यसले बीमकलाई कुन कुन जोखिमको पुनर्बीमा गर्ने कुन कुन जोखिमक पुनर्बीमा नगर्ने भनी सेलेक्टीभ कभरेजको लागि निर्णय गर्न मद्घत गर्दछ ।
– यसले मूल्य निर्धारण लचकता प्रदान गर्दछ ।
– यसले अण्डरराईटिङ्ग क्षमतामा व्यापक वृद्धि गरि बजार विस्तार गर्न सहयोग पुर्याउदछ ।
– यसले दावी व्यवस्थापनमा सहजता सृजना गर्दछ ।

बेफाईदाहरू
– यसले ठूला ठूला महाविपत्तिका जोखिमलाई ऋयखभचबनभ प्रदान गर्ने भएकोले यसको तुलनात्मक रुपमा लागत बढी हुने गर्दछ ।
– यस अन्तर्गत विशेष विमालेख मात्र समावेश गर्न‘ पर्ने तथा प्रिमियमको फरक रुपले ढाँचा तयार पार्न पर्ने जस्ता कारणले बढी जटिलता हुन सक्दछ ।
– असमानुपातिक ऐच्छिक पुनर्बीमाको लागत दावीको अनुभव अनुसार फरक पर्न सक्ने हुनाले पूर्वानुमान योग्य लागत हुदैन ।
– पुनर्बीमाको वित्तीय अस्थिरता वा दिवालियापनले गर्दा बीमकलाई जोखिम भार अधिक पर्न सक्दछ ।
– बीमकले असमानुपातिक ऐच्छिक पुनर्बीमाको निमित्त पर्याप्त र उचित मात्रामा रणनैतिक योजना बनाउनु पर्दछ । अनुचित रणनितिले व्यापक हानी पूर्याउन सक्दछ ।

ऐच्छिक पुनर्बीमा प्रस्तावको अण्डरराईटिङ्ग गर्दा ध्यान दिनुपर्ने पक्षहरू

ऐच्छिक पुनर्बीमा प्रस्ताव बीमकवाट पुनर्बीमकलाई प्राप्त हुने विषय हो । यसर्थ पुनर्बीमकको अण्डरराईटिङ्गसँग बीमितको प्रत्यक्ष सम्पर्क हुदैन । यस्तो अवस्थामा अण्डरराईटिङ्ग गर्न चूनौतीपूण भएतापनि तल उल्लेखित पक्षहरूमा पर्याप्त ध्यान दिएमा अवस्य पनि एक चुस्त अण्डरराईटिङ्ग हुने गर्दछ –

जोखिमको मूल्याङ्कन
यस अन्तरगत बीमकले अण्डरराईटिङ्गगर्दा अपनाएको प्रकृया, कस्तो छ , कुन प्रकारको जोखिम हस्तान्तरण गर्दै छ , जोखिमक विशेषता के के हुन्, संम्भावित क्षति कति हुन सक्दछ, विगतको नोक्सानीको ईतिहास के छ जस्ता प्रश्नक उत्तर खोज्ने गरिन्छ।

प्रिमियम
बीमकले जोखिमको मात्रा अनुसार प्रिमियम लगाएको छ वा छैन अथवा  नियामक निकायको निर्देशन पालना गरेको छ वा छैन भन्ने विषयलाई ध्यान दिनु पर्दछ । साथै पुनर्बीमाको वजार अवस्था समेतलाई ध्यान दिई प्रिमियम निर्धारण गर्न पर्ने विषयमा ध्यान केन्द्रीत हुन आवश्यक हुन्छ ।

शर्त र अवस्थाहरू
यस अन्तर्गत,ऐच्छिक पुनर्बीमाका शर्तहरू तथा अवस्थाहरूको सिमा, अधिकहरू, बीमालेखको अवधि जस्ता विषयहरू पर्याप्त र समयानुकूल छ भन्ने बिषयमा निश्चित हून जरुरी हुन्छ ।

दावीको संचालन/व्यवस्थापन
अण्डरराईटिङ्ग गरिरहदा दावी भुक्तानी कसरी व्यवस्थित र विवाद रहित वनाउँन सकिन्छ भन्ने कुरामा समेत ध्यान दिनू आवश्यक हुने गर्दछ ।

नियामकको अनुपालन
ऐच्छिक पुनर्बीमा स्वीकार गर्दा नियामक निकायको निर्देशन पालना भएको छ भन्ने विषयमा स्पष्ट हुन जरुरी हुनुको साथै अन्य कानुनी पक्षलाई समेत पर्याप्त ध्यान दिन आवश्यक हुने गर्दछ ।

पोर्टफोलियो व्यवस्थापन
ऐच्छिक पुनर्बीमाको माध्यमवाट जोखिमको वितरणलाई उच्चतम मात्रामा लागत लाभ प्राप्त हुने गरि समायोजन गरिनु पर्दछ । पुनर्बीमकले आफ्नो अण्डरराईटिङ्ग क्षमताको पूर्ण उपयोगका साथमा उच्चतम विन्दुको लाभ प्राप्त हुने पक्षलाई विश्लेषणात्मक रुपले उपयोग गर्न‘पर्दछ ।

संचार सम्पर्क
बीमकको आवश्यकता, क्षमता तथा अपेक्षालाई दुरुस्त उतार्नको निमित्त पूनर्वीमकले स्पष्ट संचार प्रणालीको विकास र प्रयोग गर्न‘पर्दछ ।

कागजको पर्याप्तता
ऐच्छिक पुनर्बीमा सम्झौतामा उल्लेखीत सम्पूण विषयलाई स्पष्ट र सरल भाषामा कानुनी मान्यता प्राप्त हुने गरी तयार गरि फाइलिङ गर्न‘ पर्दछ ।

पुनर्बीमकको क्षमता
पुनर्बीमकले आफ्नो कम्पनीको जोखिमलाई सोस्ने क्षमता तथा थप ऐच्छिक बीमालाई स्वीकार गर्ने क्षमताको विश्लेषण गर्न पर्दछ ।

बजार अवस्था
प्रिमियम निर्धारणको प्रचलित अवस्था तथा बजार प्रतिस्पर्धालाई उचित मूल्याङ्कन गरि अत्युत्तम निर्णय गर्नको लागि अन्तर्राष्ट्रिय बजारलाई समेत अध्ययन गरिरहनु आवश्यक हुने गर्दछ ।

अन्तर्राष्ट्रिय कानुन
ऐच्छिक पुनर्बीमा सम्बन्धी निर्णय गर्दा अन्तर्राष्ट्रिय कानुन समेत पालना गर्न पर्ने हुन सक्दछ । तसर्थ आफ्नो व्यवसायसँग संवन्धित देशको कानुन, नियामक निकायको निर्देशन तथा त्यहाँको प्रचलन समेतलाई ध्यान दिनु पर्दछ । माथि उल्लेखित विषयका अतिरिक्त ऐच्छिक पुनर्बीमा अण्डरराईटिङ्गले बीमकको वित्तीय अवस्था/स्वस्थता, दावी भूक्तानीको इतिहास, व्यवसायीक नैतिकता, सह–बीमकहरूको विवरण जोखिम ग्रहण क्षमता, व्यवसायिक रणनीति जस्ता विमकका आन्तरिक विषयमा समेत पर्याप्त जानकारी राख्नु आवश्यक हुने गर्दछ ।

अतः माथि प्रस्तुत बिषयबस्तुहरूको आधारमा पुनर्बीमाको प्रादुर्भाव सँगै ब्युत्पन्न गरिएको ऐच्छिक पुनर्बीमा सम्बन्धमा संक्षिप्त झलक प्राप्त हुनका साथै यसको उपयोगिता र समग्र क्षेत्रका सम्बन्धमा समेत ज्ञान प्राप्त हुन्छ ।

(प्रकाशित लेख नेपाल पुनर्बीमा स्मारिका २०८१ बाट साभार गरिएको हो ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*