बैंकहरूको कर्जा नीति असफल बन्दै! गैरबैंकिङ सम्पत्तिको चापले छटपटीमा बैंकर, जफत प्रक्रियामा प्रश्न

४ असार २०८२, बुधबार १२:३५

काठमाडौँ । विस्तारै लयमा फर्कि रहेको वित्तीय क्षेत्रलाई गैरबैंकिङ सम्पत्ति मुख्य चुनौतीमा रुपमा खडा भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला वर्षहरूमा लिएको कर्जा प्रवाह नीतिले अपेक्षित परिणाम दिन नसक्दा अहिले यसको प्रत्यक्ष असर गैरबैंकिङ सम्पत्तिको चापका रुपमा देखिन थालेको हो ।

कर्जा तिर्न नसकेर ऋणीहरूले छाडेर गएका सम्पत्तिहरू लिलाम प्रक्रिया सफल हुन नसक्दा बैंकहरू आफैं ती सम्पत्तिको मालिक बन्न बाध्य भइरहेका छन् । कर्जा प्रवाह गर्दा जोखिम मूल्याङ्कनको कमजोरी, अत्यधिक घरजग्गा धितोमा निर्भरता, नियमनकारी निकायका कमजोरी र आन्तरिक व्यवस्थापनको असफलताका कारण अहिले बैंकहरूको सम्पत्ति सूचीकृत हिसाबले बढे पनि त्यसको गुणस्तर गम्भीर रूपमा कमजोर हुँदै गएको छ । यही कमजोर कर्जा प्रवाह नीतिको परिणामस्वरूप गैरबैंकिङ सम्पत्तिको भार दिनप्रतिदिन बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्दा मात्रै पनि यो प्रवृत्तिको भयावह भइरहेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति १७ अर्ब ५१ करोड रुपैयाँले वृद्धि भएर ४५ अर्ब ११ करोड रुपैयाँ नाघिसकेको छ । गत आर्थिक वर्षको वैशाखसम्म यो रकम २७ अर्ब ६० करोड मात्र थियो ।

गैरबैंकिङ सम्पत्तिको यस्तो वृद्धिसँगै बैंकरहरु दिनहुँ मानसिक तनावमा छन् । बैंकरहरुमा कर्जा नउठेको भन्दा सम्पत्तिको भार चिन्ता थपिँदैछ । बिक्रीका लागि पटकपटक सूचना जारी गरिए पनि ग्राहक छैनन् । बजारमै घरजग्गा कारोबार सुस्त भएको छ । अर्थतन्त्रको चक्र मन्द गतिमा घुमिरहेको बेला बैंकका धितो सम्पत्ति बिक्री हुन नसक्नु स्वाभाविकजस्तै बनेको छ ।

बैंकहरूले गैरबैंकिङ सम्पत्ति भनेर वर्गीकरण गरेको सम्पत्ति हो जुन ऋणीले कर्जा तिर्न नसकेर बैंकको स्वामित्वमा आएको हुन्छ । कर्जा सम्झौता भंग हुँदा बैंकले धितो लिलामीमा ल्याउने गरेको हुन्छ । तर लिलामी प्रक्रिया असफल हुँदा अन्ततः बैंक आफैंले त्यो सम्पत्ति स्वीकृत गर्न बाध्य हुन्छ । यसलाई नै गैरबैंकिङ सम्पत्ति भनिन्छ ।

सम्पत्तिको मूल्याङ्कन उच्च राखेर कर्जा प्रवाह गरिएको, ऋणीको आयआर्जन क्षमतामा यथोचित ध्यान नदिएको, एक क्षेत्र विशेषमा अत्यधिक कर्जा प्रवाह गरिदिँदा उत्पन्न भएको बजारको अतिप्रवृत्ति अहिले बैंकहरूलाई घाटामा परिणत हुन थालेको छ । विशेषगरी घरजग्गा व्यवसायमा कर्जा प्रवाह गर्ने प्रवृत्तिले अहिले गैरबैंकिङ सम्पत्तिको भार बढाइदिएको छ । घरजग्गा खरिद बिक्री सुस्त हुँदा धितोमा राखिएको सम्पत्ति बिक्री हुन सकेको छैन । यस्तो अवस्थामा लिलामीबाट रकम उठाउन नसकेपछि बैंक आफैंलाई ती सम्पत्ति स्वीकृत गर्नु बाध्यता बन्न गएको हो ।

राष्ट्र बैंकले प्रकाशन गरेको तथ्याङ्क अनुसार पछिल्लो वर्ष वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले वृद्धि भएको छ । विकास बैंकहरुको ५५.५६ प्रतिशत र फाइनान्स कम्पनीहरुको झनै उच्च दरमा १०२.४५ प्रतिशतले वृद्धि भएको छ । समीक्षामा वाणिज्य बैंकहरुको ३८ अर्ब ४८ करोड, विकास बैंकहरुको ३ अर्ब ९० करोड तथा फाइनान्स कम्पनीहरुको २ अर्ब ७२ करोड बराबरको गैरबैंकिङ सम्पत्ति थपिएको छ ।

बैंकहरूले लिएको आक्रामक कर्जा नीति, खासगरी घरजग्गा तथा व्यापारिक भवन निर्माणमा अत्यधिक निर्भरता, हाल तिनै बैंकहरूको लागि चिन्ताको विषय बनेको छ । खराब कर्जा (एनपीए) को स्तर पनि उच्च बन्दै गएको छ । राष्ट्र बैंकका अनुसार खराब कर्जा एक वर्षमै १.२६ प्रतिशत विन्दुले बढेको छ । गत वर्ष वैशाखमा औसत खराब कर्जा ३.९८ प्रतिशत थियो भने यो वर्ष वैशाखसम्ममा ५.२४ प्रतिशत पुगेको छ । यो दरले बैंकहरूको वित्तीय स्वास्थ्यलाई थप जोखिमपूर्ण बनाइरहेको छ ।

बैंकहरूलाई गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्नु थप जटिल बन्दै गएको छ ।सम्पत्तिहरू बिक्री गर्न नसक्दा भौतिक रूपमै संरक्षण गर्नुपर्ने, मर्मत सम्भार गर्नुपर्ने, कर तिर्नुपर्नेजस्ता खर्च पनि बैंकहरूको बढिरहेको छ । यसले नाफा घटाउनुका साथै व्यवस्थापन खर्च समेत बढाइरहेको छ ।

पछिल्ला वर्षहरूमा बजारमा देखिएको अत्यधिक प्रतिष्पर्धा, शाखा विस्तारको होड, ग्राहक आकर्षणका नाममा नाफा देखाएर ऋण स्वीकृत गर्ने प्रवृत्ति, अनि धितो मूल्यांकन गर्ने प्रक्रियामा भएका कमजोरीले गर्दा अहिले यो समस्या झन् विकराल बन्दै गएको हो । कर्जा प्रवाह गर्दा जोखिम व्यवस्थापन, ऋणीको क्षमताको गहिरो मूल्याङ्कन र जोखिम बफर निर्माण जस्ता विषयमा ध्यान नगर्दा यस्तो अवस्था आएको विश्लेषण हुन थालेको छ ।

वाणिज्यको अवस्था हरिबिजोक

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को वैशाख मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ६२.०८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७४ करोड रुपैयाँ थियो ।

सर्वाधिक गैरबैंकिङ सम्पत्ति रहने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । यसअवधिमा बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ९५ करोड ८३ लाख रहेको छ ।

दोस्रो नम्बरमा रहेको हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने तेस्रो नम्बरमा रहेको एनआईसी एशिया बैंकको ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिसम्ममा नबिल बैंकको ३ अर्ब ७९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ११ करोड, कुमारी बैंकको २ अर्ब ५५ करोड र प्राइम बैंकको २ अबै ३६ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ।

समिक्षा अवधिमा सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति हुने बैंकमा नेपाल बैंक रहेको छ । बैंकको यस्तो सम्पत्ति २० करोड ४१ लाख रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*