६७ वर्षमा नेपाल एयरलाइन्स: गौरवको इतिहास, ५० अर्ब ऋणको बोझ

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) आज आफ्नो स्थापनाको ६७ वर्ष पुरा गरी ६८ औं वर्षमा प्रवेश गरेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको यो संस्थाले प्रारम्भमा २८ सिट क्षमतायुक्त डोग्लस डिसी–३ डाकोटा विमानमार्फत आकाशमा उडान भरेको थियो। यत्तिका दशकपछि निगमले अब वाइडबडी ए३३०–२०० सिरिजका विमानसहित सेवा दिइरहेको छ, तर यसको आर्थिक र प्राविधिक स्थितिले भने उतारचढावपूर्ण इतिहास बोकेको छ।
शुरुवातको दशकहरूमा नेपाल एयरलाइन्स देशको एकमात्र हवाई सेवा प्रदायकका रूपमा चिनिन्थ्यो। दुर्गम क्षेत्रलाई राष्ट्रिय राजधानीसँग जोड्न, विपद् र आपतकालीन स्थितिमा राहत आपूर्ति गर्न, र विदेशबाट आउने पर्यटकलाई सहज प्रवेश गराउन यो सेवा अत्यावश्यक मानिन्थ्यो। समयक्रमसँगै निजी क्षेत्रको आकर्षण, प्राविधिक प्रतिस्पर्धा, र व्यवस्थापनको कमजोर पक्षले गर्दा निगमको स्थान भने झन्–झन् खुम्चिदै गएको छ।
हाल नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय गन्तव्यमा सेवा दिइरहेको भए पनि गन्तव्यको संख्या सीमित छ। भारतको नयाँदिल्ली, बेङ्लोर, मुम्बई, साथै हङकङ, मलेसिया, थाइल्यान्ड, जापानको नारिता, कतारको दोहा, युएईको दुबई र साउदी अरबको रियादमा निगमको नियमित उडान छ। यी गन्तव्यमा निगमले दुई वटा वाइडबडी ए३३० र दुई वटा न्यारोबडी ए३२० विमानमार्फत सेवा दिँदै आएको हो।
यता, आन्तरिक हवाई बजारमा भने निगमको उपस्थिति अति न्यून छ। सुदूर र दुर्गम क्षेत्रका केही विमानस्थलमा सेवा दिइरहे पनि निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्विनअटर विमान मात्र छन्। तीमध्ये पनि कहिलेकाहीं प्राविधिक समस्या वा मर्मतका कारण नियमित सेवा प्रभावित हुने गरेको पाइन्छ। निजी हवाई सेवा प्रदायकहरूको संख्या बढ्दै जाँदा निगम आन्तरिक बजारमा पछाडि पर्दै गएको छ।
निगमको अहिलेको अवस्था हेर्दा यसको गौरवशाली इतिहास र वर्तमानको वास्तविकता बीच गहिरो खाडल देखिन्छ। विमानको संख्यामा न्यूनता, व्यवस्थापनमा नीतिगत अन्योल, प्रतिस्पर्धात्मक क्षमताको अभाव र स्रोतसाधनको अपुर्तिका कारण निगमले आफ्नो बजार हिस्सामा कुनै उल्लेखनीय सुधार गर्न सकेको छैन। यसकै परिणामस्वरूप नेपाल वायुसेवा निगम अहिले करिब ५० अर्ब रुपैयाँ बराबरको ऋण दायित्वमा फसेको बताइएको छ।
यो ऋण मुख्यतः वाइडबडी विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको हो। धेरै अपेक्षा साथ भित्र्याइएका वाइडबडी विमानको सञ्चालन भने सुरुबाटै विवादमा रहँदै आएको छ। विमानको प्रयोजन स्पष्ट नहुनु, उडान तालिका अस्थिर हुनु र गन्तव्य व्यवस्थापनमा देखिएको कमजोरीले गर्दा नयाँ विमानले निगमलाई आर्थिक रूपमा मजबुत बनाउनेभन्दा पनि अझ ऋणको चपेटामा पुर्याएको छ।
तर, यतिबेला निगमले केही सकारात्मक प्रगति पनि गरेको देखिन्छ। विशेषगरी अन्तरराष्ट्रिय गन्तव्यमा ग्राउण्ड ह्याण्डलिङ सेवाको विस्तारले साख उकास्ने काम गरेको छ। निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा प्रयोग गर्ने विदेशी विमान कम्पनीहरूको संख्या बढ्दो क्रममा छ, जसले प्रत्यक्ष आम्दानी वृद्धिमा योगदान पुर्याएको छ। यसबाहेक व्यापार प्रवर्द्धन र विदेशी यात्रु आकर्षणतर्फ केन्द्रित प्रयासहरू पनि केही हदसम्म प्रभावकारी देखिएका छन्।
यद्यपि, यस्ता पहलहरू निगमको समग्र स्थितिलाई सन्तुलनमा ल्याउन अझै अपुग छन्। बजेट एयरलाइन्सहरूका साथको प्रतिस्पर्धा दिनप्रतिदिन चर्किंदै गएको छ। ती निजी कम्पनीहरूले आधुनिक सेवा, अनलाइन बुकिङ प्रणाली, समयपालन र ग्राहक–मैत्री व्यवहारमार्फत यात्रुहरूलाई आकर्षण गरिरहेका छन्। यस्तो अवस्थामा निगम अझै पनि पुरानो संरचना र शैलीमै सीमित देखिनु दुःखद पक्ष हो।
६७ वर्षको यात्रामा नेपाल एयरलाइन्सले धेरै आरोह–अवरोह पार गरेको छ। नेपालको हवाई यातायात इतिहासमा यसको गहिरो छाप छ, तर हालको परिस्थिति हेर्दा भविष्य अझ चुनौतीपूर्ण देखिन्छ। सुदृढ व्यवस्थापन, पारदर्शी प्रशासनिक सुधार, नविन लगानी नीति, कर्मचारीको क्षमतावृद्धि, विमान सञ्चालनको दक्षता र व्यावसायिक योजनाको स्पष्ट खाकाविना निगमको पुनरुत्थान सम्भव देखिँदैन।
सरकारले नेपाल एयरलाइन्सलाई ‘निजीकरण’ गर्ने वा ‘साझेदारी’मा लैजाने भन्ने बहस वर्षौंदेखि चलाए पनि अझै ठोस निर्णयमा पुगिएको छैन। यस्ता निर्णयमा ढिलाइ हुँदा निगम अझ झनै अप्ठ्यारोमा फस्ने जोखिम छ।













