बीमकले ग्राहकमैत्री बीमा पोलिसीमा ध्यान दिनुपर्छः सिईओ पराजुली

बीमा र वित्तिय क्षेत्रमा २० वर्षदेखि जोडिएका प्रवीण रमण पराजुली हाल नेपाल लाइफको सिईओका साथै जीवन बीमक संघका उपाध्यक्षको रुपमा आवद्ध हुनुहुन्छ ।
देशकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २०७९ साल साउन ४ गतेदेखि सिईओमा नियुक्त भएका पराजुलीले देश चरम आर्थिक जटिलताबाट गुज्रिरहँदा समेत जीवन बीमाको व्यवसायमा फराकिलो बृद्धि र बीमाको पहुँच गाउँ गाउँमा पुर्याउन योगदान पुर्याइरहेका छन् ।
बीमा व्यवसायमा सबैभन्दा ठूलो हिस्सा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ओगट्दै आएको छ । देशैभरि फैलिएको शाखा, उपशाखा सञ्जाल, एक लाख भन्दा बढि बीमा अभिकर्ताहरुको नेतृत्व गरिरहेका उनै प्रविण रमन पराजुलीसँग नेपालको बीमा व्यवसायको अवस्था, गर्नुपर्ने सुधार तथा सम्भावनाहरुका सेरोफेरोमा रहेर बीमापोष्टकी रिना खत्रीले गरेको कुराकानीको सम्पादित अंशः
नेपालको जीवन बीमा क्षेत्र कसरी अघि बढिरहेको छ ?
अघिल्लो आर्थिक वर्षको तथ्याङ्क हेर्दा प्रथम बीमा शुल्कमा सामान्य वृद्धि भएको छ । यो वर्षको जेठसम्मको तथ्याङ्क हेर्दा ३१ प्रतिशतको वृद्धि भएको देख्न सकिन्छ । यसले के दर्शाउँछ भने बीमाक्षेत्रमा विशेषगरी बैंक तथा वित्तीय क्षेत्रमा बचत र मुद्दती निक्षेपहरूको ब्याजदर जसरी घट्दै गइरहेको छ त्यसअनुसार जोखिम वहन र बचतको लागि पनि बीमालाई नै रोजेको जस्तो देखिन्छ । यसकै कारण बीमा क्षेत्र ३१ प्रतिशतले वृद्धि भएको मान्न सकिन्छ ।
नेपालको जीवन बीमा क्षेत्रमा थुप्रै समस्याहरु छन्, जस्तैः कानुनी समस्या, नीतिगत समस्या, प्राविधिक समस्याहरु समय समयमा आएको देखिन्छ । यसलाई कसरी हल गर्न सकिन्छ ?
नीतिगत रूपमा आएको समस्या कम्पनीगतभन्दा पनि क्षेत्रगत समस्या हो । नियमावली आउँदा राम्रा कुरा पनि आएका हुन्छन् र साथमा चुनौंती पनि थपिएको हुन्छ । यसलाई पनि हल गर्न केही समितिहरू बनेका छन् र ती समितिले हल पहल गर्ने छन् । नीतिगत समस्याको सामना बजारका सबै स्टकहोल्डर्सहरूले गर्ने हो । जस्तै विभिन्न एसोसिएशनहरू, एजेन्सीसँग सम्बन्धित संगठनहरू । त्यहाँका प्रतिनिधिहरूले सामूहिक छलफल गरेर समाधानको उपाय निकाल्नुपर्छ भन्ने लाग्छ । समस्याहरु छन् हामी ति समस्याहरुलाई चिरेर अघि बढ्नुपर्दछ ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरूले कानूनी अड्चनहरूको सामना गर्नुपरेको छ कि छैन ?
हामीलाई त्यस्तो कानूनी अड्चन त छैन । ऐन, नियमावली आउँदा स्टेकहोल्डर्सहरूले सामूहिक छलफल गरेर समाधान निकाल्छन् नै । हामीलाई कानूनी अथवा नीतिगत भन्दा पनि प्राविधिक समस्या चाहीँ छ । किनभने पुनर्बीमामार्फत् देशभरीका जोखिमलाई एकै स्थानमा राख्न सकिंदैन । प्रत्येक कम्पनीले क्षमताअनुसारको जोखिम वहन गरेर बाँकी रहेको जोखिम वहनका लागि अन्तर्राष्ट्रिय कम्पनीसँग पनि सहकार्य गरेर अघि बढ्नुपर्छ । यसले भोलि कुनै अकल्पनीय घट्ना घट्यो भने मिलेर जोखिम वहन गर्न सहज हुन्छ । अहिले पुनर्बीमाको जोखिम बहन सम्बन्धी अस्पष्टले प्राविधिक समस्या उत्पन्न भएको छ ।
गरिब र न्यून आय भएका जनताका माँझ जीवन बीमाको पहुँच पुर्याउन अहिले भईरहेको प्रयास पर्याप्त मान्न सकिन्छ?
हामीले पनि लघुबीमा सम्बन्धी बीमा पोलिसीहरु बेच्ने गरेका छौं । त्यो चाहीँ विशेषगरी माइक्रो फाइनान्स कम्पनीहरूले आफ्नो ऋणीलाई ऋण दिँदा जोखिम वहन होस् भनेर दिने गरेका छन् ।
यसले चाहीँ पछि भवितव्य भइहालेमा परिवारको पनि जोखिम वहन गरेको छ । त्यो पूर्ण छ भन्ने चाहीँ म भन्दिन आजको दिनमा कोर इन्सुरेन्सकै बेनिट्रेसन हामीले पनि लघुबीमावैदेशिक रोजगारलाई हेर्याैं भने ४८ र ४९ वा ५० प्रतिशतको हाराहारीमा देखिन्छ । कोर कन्भेन्सन प्रोडक्टको हिसाबले हेर्ने हो भने जम्मा १८ प्रतिशतको हाराहारीमा देख्छौं मतलब त्यहाँ धेरै स्कोप छ । किफाएत (अफरडेबल्लि) कम हुनेलाई एक लेवलमा म्यादी बीमाको रुपमा नै लानुपर्छ । किनभने जोखिम सुरक्षा हो । न्यून् आय भएका बीमीतलाई म्यादी जीवन बीमाठीक छ । त्यहाँभन्दा धेरै आय आम्दानी भएकालाई बचत सँगै ठूलो जोखिम वहन पनि हुने जीवन बीमालेख वितरण गर्नुपर्ने हुन्छ ।

लघुबीमा कम्पनी आएपछि जीवन बीमालाई असर परेको छ कि छैन?
उहाँहरूको र हाम्रो क्षेत्र नै अलग भएकाले खासै असार परेको छैन । तर सबैको उद्देश्य चाहीँ उपलब्धी प्राप्त गर्नैपर्छ । लघुबीमार जीवन बीमादुबैले आफ्नो क्षमता र कार्यक्षेत्रमा सक्दो प्रयास गरेर सफलता हासिल गर्नेगरी अगाडि बढ्नुपर्छ । यसो हुँदा एकअर्कालाई अगाडि बढ्न झनै सहज हुन्छ । लघुबीमाबाट असर पारेको चाहीँ मैले महशुस गरेको छैन ।
लघुबीमाकम्पनी नहुँदा त्यो क्षेत्रमा हामीहरू नै थियौं । र लघुबीमाकम्पनी आइसकेपछि त्यही कम्पनीहरूले काम गरिरहेका छन् । यसबाट अवश्य केही न केही व्यापारमा कमी त भएको छ नै तर, त्यसको फाइदा पनि छ । किनभने जीवन बीमाकम्पनीको खास उद्देश्य भनेको गाउँ–गाउँमा गएर विपन्न परिवारको जीवन रक्षावरण गर्नु हो । बजारमा प्रतिस्पर्धा त भई नै हाल्छ ।
बीमितहरुले अहिले पनि उत्कृष्ट बीमापोलिसी लिन निकै मिहिनेत गनुपर्ने देखिन्छ । बीमितहरुले सजिलै आफू अनुकूल बीमापोलिसी लिनसक्ने अवस्था बनाउनेतर्फ के पहल भईरहेको छ ?
यो एउटा वित्तीय उत्पादन हो । यसको विस्तार ठूलो मात्रामा गर्यौं भने पछि हामीलाई नै बुझाउन गाह्रो हुन्छ । किनभने शुरुमा त हामीले पनि बुझ्नुपर्यो । हाम्रो बीमा बिक्रेताहरुले बुझ्नुपर्यो । एजेन्सीले पनि त्यही अनुसार बुझ्नुपर्यो । अनि अर्को कुरा भनेको ग्राहकले पनि त्यही लेभलमा कुरा बुझ्नुपरयो । यसको मतलब यसमा धेरै तहहरू छन् । त्यसैले वित्तीय उत्पादनहरु बेच्न जति सीमित त्यति नै सरल हुन्छ र यो सहजताले मिससेलिङलाई दुरुत्साहन गर्छ । संस्थाले दिएको सुविधा र ग्राहकले लिएको सुविधामा भोलि फरक नपरोस् भन्ने पनि हो । तर यसको अर्थ नयाँ उत्पादन चाहिँदैन भन्ने पनि होइन । सबै पोलिसीहरूको उद्देश्य जीवन रक्षावरण नै हो । त्यसैले ग्राहकले पनि पोलिसी छान्दाखेरि आफ्नो आयआर्जन अनुसार छान्नुपर्छ । बजारको नवीन माग अनुसार धेरै मागलाई सम्बोधन गर्नेगरि समय समयमा नयाँ पोलिसी पनि जारी हुन्छ ।
बीमापोलिसी सरेण्डर डरलाग्दो अवस्था छ । बीमासरेण्डर नहुन लागि के गर्नु पर्छ ?
अहिले हामीले देशको आर्थिक अवस्थालाई नै हेर्यौं भने पनि हामी सहज अवस्थामा छैनौं । देशको आर्थिक अवस्था नै राम्रोसँग अगाडि बढ्न सकेको छैन । त्यही देशभित्र रहेर व्यवसाय गर्ने कम्पनीहरूको अवस्था पनि त्यस्तै हुने हो । व्यवसायसँग आवद्ध भएका व्यक्तिहरू पनि त्यही अवस्थामा हुने हो । मान्छेको आयआर्जन घट्दै गएपछि पक्कै पनि पोलिसीलाई निरन्तरता दिन गाह्रो हुन्छ । त्यसैले यसरी पोलिसी सरेण्डर हुनुलाई देशको आर्थिक अवस्थाले पनि फरक पारेको हुन्छ । त्यही भएर यसलाई हिजो थिएन, आज भयो, किन भयो ? भनेर हेर्नुभन्दा पनि कम्पनीले त्यस्ता बीमितलाई सरेण्डर गर्नबाट रोक्न सरल र सहज माध्यम दिने हो भने अवश्य पनि बीमासरेण्डर हुन कम गर्छ भन्ने मलाई लाग्छ । जस्तै बेलाबेलामा कम्पनीहरूले बिलम्ब शुल्कमा छुट दिइरहेको हुन्छ । यस्तै थप सुविधा दिन सक्यो भने यो पोलिसी सरेण्डरको क्रम एकदमै कम हुन्छ भन्ने मलाई लाग्छ । क्षेत्रगत रुपमा बढेको भएपनि संस्थागत रुपमा हेर्ने हो भने नेपाल लाइफको सरेण्डर दर घटेको छ ।
बीमाक्षेत्रमा नयाँ बीमापोलिसी भएन, कपिपेष्ट भयो भन्ने व्यापक गुनासो नियामकदेखि बजारमा सबैतिर छ । यसको समाधान के होला ?
पोलिसी हेर्ने भनेको चाहीँ कम्पनी आफैंले नै हो । कम्पनीले आफ्ना ग्राहकहरूले कस्ता खालका पोलिसी रुचाउँछन् । हेरेर त्यस्तै खालको पोलिसी जारी गर्नुपर्ने हुन्छ । यदि नयाँ पोलिसी ल्याएर पनि ग्राहकहरूको माग सम्बोधन हुन सकेन भने त्यसको कुनै काम छैन । कम्पनीले पोलिसी ल्याउँदाखेरि लक्षित वर्गलाई हेरेर, लक्षित वर्गको चाहना हेरेर त्यो चाहनालाई पूरा गर्न सक्नेगरि पोलिसी बनाउनु पर्छ । र हामीहरूले त्यसरी नै पोलिसी बनाइरहेका छौं, अब कतिले त्यसैलाई कपी गर्नुभयो होला, डुप्लिकेटहरू बन्दै गए होलान् प्रतिस्पर्धात्मक बजारमा यस्तो हुने गर्छ ।
मनपरी रुपमा घरजग्गा र शेयरमा लगानी गर्ने प्रवृत्ति बढिरहेको छ । बीमाक्षेत्रमा रहेको करिब सात खर्ब रुपैयाँ निक्षेप दुरुपयोगको जोखिम कत्तिको देख्नुहुन्छ ?
पहिलो कुरा त संस्थाको स्थायित्व हेर्नुपर्यो । कम्पनीले कस्तो रिटर्न दिइरहेको छ, त्यो पनि हेर्नुपर्यो । कहिलेकाहीँ आर्थिक समस्याहरू आउँदा कम्पनीहरूको स्थायित्वमा पनि प्रभाव पर्छ । त्यसैले जीवन बीमाक्षेत्रमा लगानी गर्दा कम्पनीले गरिरहेका आर्थिक कारोबार, लगानीकर्तालाई दिइरहेको प्रतिफल, भविष्यका योजनालाई समेत विचार गरेर लगानी गर्दा राम्रो हुन्छ ।
बैंकको ब्याजदर घटबड हुँदा बीमाकम्पनीमा कस्तो असर पर्छ ?
हाम्रो लगभग ९५ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको निक्षेपमा भएकाले सबैभन्दा ठूलो र प्रत्यक्ष प्रभाव हामीलाई नै पर्छ । यो पैसा जनताको नै भएको र पछि जनतामा नै जाने भएकाले यसको असर आम मानिसलाई पनि पर्छ ।

बीमा कम्पनीहरूले समयमै साधारण सभा नगर्दा लगानीकर्ताहरू पनि रुष्ट हुने गर्छन्, यसमा प्राधिकरणले केही सहज गरिदिएको छ?
साधारण सभा गर्ने समय त सबैको एउटै हुन्छ । तर एक्चुरी भ्यालुएसनहरू र वित्तीय विवरणहरु बीमा प्राधिकरणले समयमै स्वीकृत गरिदिएर समयमै एजिएम गर्न सहजीकरण गरिदिनु भएको छ । अहिले प्राधिकरणले समयमै साधारण सभा सम्पन्न गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । त्यसैले अब हामीले पनि समय मैं साधारणसभा गर्ने गरी अघि बढ्नुपर्छ ।
बीमा व्यवसायको सबैभन्दा ठूलो बिक्री च्यानल भनेको बीमा अभिकर्ताहरु हुन् । उनीहरुको क्षमता अभिवृद्धि जस्ता तालिमहरु कसरी भईरहेको छ ?
यसका लागि अभिकर्ताहरूलाई रिफ्रेसमेन्ट तालिम दिने, अभिमुखीकरण तालिम दिने र लक्ष्य प्राप्त गर्ने अभिकर्तालाई सम्मान गरेर पनि उहाँहरूको मनोवल बढाउन सकिन्छ । यसका लागि सहज होस् भनेर हामीले एक खालको अनलाइन प्लेटफर्म नै क्रिएट गरिदिएका छौं । अभिकर्ताहरूले हामीसँग आवद्ध भएर अनलाइन मार्फत नै पढ्न सक्नुहुन्छ । आवद्ध भइसकेकाले मात्र होइन हुन चाहनेले पनि सक्नुहुन्छ हामीले सिलेबस नै अनलाइनमा राखिदिएका छौं । त्यसैले उहाँहरुले आफैले पनि पढ्न सक्नुहुन्छ । अहिलेको अवस्थामा भौतिक रुपमा पठनपाठन गर्न असहज हुने भएकाले अनलाइन प्लेटफर्ममा सबैलाई सहज हुन्छ भनेर नै यसो गरिएको हो । हामीसँग भएका अभिकर्ताहरूलाई कसरी उत्कृष्ट बनाउने र कसरी नयाँ उत्कृष्ट अभिकर्ताहरु उत्पादन गर्ने भन्नेमा हामी गम्भीर छौं । यसमा कम्पनीले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका सक्रिय रूपमा खेलिरहेको छ ।
बैंक वित्तीय संस्थाभन्दा बीमा कम्पनी, सूचना प्रविधिमा अलि पछि परेको छ भन्ने गुनासो पनि छन् नि ?
हिजोका दिनमा त्यस्तो थिए तर आजको दिनमा बीमाक्षेत्रमा पनि धेरै कुराहरू प्रविधिमैत्री भइसकेको छ । धेरै कुराहरु डिजिटल माध्यमबाटै हुने गर्छन । यसमा मानिसलाई धेरै चाहिने भनेको बीमालेख नवीकरण लगायतका कुराहरू हुन त्यो पूर्णरूपमा प्रविधि मैत्री नै भइसकेको छ । जानकारीहरू सबै एसएमएसकै माध्यमबाट दिइने गरिन्छ । बेनिफिटहरू पनि बैंक खातामै जान्छ मेचुरिटीको केसमा पनि आफ्नो खातामै जान्छ । भौतिक रूपमा कम्पनीमा धाइरहनुपर्ने अवस्थाको लगभग अन्त्य भइसकेको छ । मृत्युवादीको सम्बन्धमा केही महत्वपूर्ण भेरिफाई गर्नुपर्ने भएकाले दावीकर्ता स्वयम् आउनुपर्ने भएको हो । यसमा पनि डिजिटलाइजेसन हुँदै गइरहेको छ । त्यसैले प्रविधिमा निकै पछि छ भन्ने कुरा चाहीँ होइन तर दिनप्रतिदिन जसरी प्रविधिले फड्को मारिरहेको छ हामीले पनि त्यही अनुसार चल्न चाहीँ सक्नुपर्छ ।
बीमाको पहुँच विस्तारका लागि अर्थ मन्त्रालय र बीमा प्राधिकरणले के कस्तो सहजीकरण गरिदियोस् भन्ने लाग्छ ?
सर्वप्रथम बीमा मानिसमा कसरी बीमाको पहुँच पु¥याउन सकिन्छ, यसमा करका दायराहरूको हेरफेर गर्ने या कुनै बीमालाई अनिवार्य गर्ने जस्ता कुराहरू नेपाल सरकारको हातमा हुन्छ ।
सरकारले यस्तो नीतिगत निर्णयहरु गरिदियो भने प्राधिकरणले पनि यसका लागि हामीलाई आवश्यक सहजीकरण गरिदिन्छ र हामीले पनि प्राधिकरणको निर्देशन अनुसार दूरदराजका गाउँहरूमा गएर बीमापोलिसीहरू जारी सहज बातावरण बन्छ । त्यसैले सरकार बीमाप्रति सहज हुने नीतिहरुमा केन्द्रीत हुनुपर्छ ।
सरकारले बीमालाई नजर अन्दाज गरेको जस्तो लाग्छ कि लाग्दैन ?
सरकारले स्वास्थ्य बीमालाई बजेटमा समेट्दा त्यही हिसाबले बीमाकम्पनीहरूलाई नसमेटेको देख्दा बीमालाई अलि नजरअन्दाज गरेको जस्तो लागेको छ नै । तर सँधै त्यस्तो भएको पनि छैन । कहिलेकाहीँ बजेट मै समेटिएका छन्, प्राथमिकतामा पनि परेका छन् । त्यसैले सबै कुरा छैन भनेर पनि भन्न मिल्दैन । तर निरन्तर रूपमा सरकारले बीमालाई प्राथमिकता दिएको छैन । त्यसैले सरकारले बीमाक्षेत्रलाई निरन्तर रूपमा प्राथमिकतामा राख्नुपर्यो । बीमाप्रति राज्य पनि लचकदार हुनुप¥यो ।
अन्त्यमा ,राख्नु पर्ने कुराहरु केही छुटेका छन् ?
बीमाभनेको छुट्टै क्षेत्र हो । जीवन बीमागर्नु बैंकमा बचत गर्नु जस्तो, मात्रै होइन । बैंकमा बचत मात्रै हुन्छ भने बीमामा जोखिम रक्षावरणका साथसाथै भविष्यको पनि सुनिश्चितता हुन्छ । बीमासबैले गर्नुपर्छ तर आफ्नो क्षमता अनुसारको मात्रै । बीमालाई बचत, जोखिम रक्षावरण र लगानीको हिसाबले पनि हेर्नुपर्छ । मौका दिनुभयो धन्यवाद ।













