हिमालयन बैंकको वित्तीय अवस्था संकटमा, सीईओ राणाको नेतृत्वमाथि गम्भीर प्रश्न

काठमाडौँ । हिमालयन बैंकको वित्तीय अवस्था दिनानुदिन जटिल र संकटग्रस्त बन्दै गएको छ । केही समयअघि मात्र सर्वसाधारणलाई प्रिमियममा एफपिओ बिक्री गर्दै बजारमा पूँजी संकलन गर्न सफल देखिएको बैंक हाल वित्तीय रूपमा भने कमजोर र धराशायी अवस्थामा पुगेको हो ।
प्रतिस्पर्धी बैंकहरू लाभांश वितरण क्षमता बढाउँदै लगिरहेका बेला हिमालयन बैंकको भने उल्टै वितरणयोग्य नाफासमेत ऋणात्मक अवस्थामा धकेलिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणले अनुसार बैंकको वितरणयोग्य आम्दानी ७ अर्ब १० करोड १५ लाख रुपैयाँ ऋणात्मक छ । यसका कारण शेयरधनीहरूलाई लाभांश वितरण गर्ने अवस्था छैन । अन्य बैंकहरूले दोहोरो अंकमा लाभांश दिने तयारी गरिरहेका बेला हिमालयन बैंकको लाभांश क्षमता ऋणात्मक हुनु लगानीकर्ताका लागि निराशाजनक र खतरनाक सन्देश हो । यसले बैंकको दीर्घकालीन दायित्व निर्वाह क्षमताबारे पनि शंका उत्पन्न गरेको छ ।
यससँगै, बैंकको कर्जा नीतिमा देखिएको कमजोरी अझै गहिरो समस्या बनेको छ । अघिल्लो वर्ष ४.९८ प्रतिशतमा रहेको बैंकको खराब कर्जा अनुपात बढेर गत वर्ष ७.२८ प्रतिशत पुगेको छ । यो सूचक वित्तीय स्थायित्वका हिसाबले अत्यन्त खतरनाक मानिन्छ । यसले बैंकको जोखिम व्यवस्थापन क्षमता, कर्जा प्रवाहमा अपनाइने सावधानी र ब्याज आम्दानीको आधारभूत मोडेलमै प्रश्न खडा गरेको छ । खराब कर्जा बढ्दै जाँदा बैंकको पूँजी पर्याप्तता र आम्दानी दुवैमा दबाब परेको छ ।
बैंकको वर्तमान अवस्था र नेतृत्वबारे पनि गम्भीर आलोचना भइरहेको छ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराका छोरा अशोक राणा हाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । तर उनको कार्यकालमा बैंकको व्यवस्थापन कमजोर हुँदै गएको, संस्थागत पारदर्शिता हराउँदै गएको र निर्णायक तहमा संस्थापक समूहको प्रभाव घट्दै गएको देखिन्छ । यसै कारण आम लगानीकर्ताहरूको बैंकप्रति रहेको विश्वास खस्कँदै गएको हो । ऐतिहासिक पृष्ठभूमि हेर्दा २०१३ साल वैशाख १४ गते हिमालयशमशेर जबरा पहिलो गभर्नर बनेका थिए । तर उनका छोराले सञ्चालन गरिरहेको बैंक भने हाल वित्तीय दलदलमा फसेको छ ।
बैंकको रिटेन्ड अर्निङ ऋणात्मक अवस्थामा छ । गत आर्थिक वर्षमा रिटेन्ड अर्निङ ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी पनि ३२ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको छ । यसले बैंकको पूँजी संरचना र लाभांश वितरण क्षमतालाई पूर्ण रूपमा कमजोर बनाएको छ ।
यससँगै, बैंकको खुद ब्याज आम्दानीमा समेत उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष ११ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको बैंकको आम्दानी गत वर्ष १० अर्ब ४५ करोड रुपैयाँमा खस्किएको छ । यो १० प्रतिशतको गिरावट हो जसले बैंकको मुख्य आम्दानी स्रोतमा नै क्षति पुगेको देखिएको छ ।
कुल सञ्चालन आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष १३ अर्ब १४ करोड रुपैयाँको कुल सञ्चालन आम्दानी भएकोमा गत वर्ष ४.७२ प्रतिशतले घटेर १२ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ ।
बैंकको भित्री संरचनामा देखिएको विवाद र गुटगत राजनीति बैंकको समस्याको अर्को मूल कारणको रूपमा देखिएको छ । सीईओ अशोक राणाको नेतृत्वमा निर्णय प्रक्रिया एकल व्यक्तिमा केन्द्रित भएको, गुटगत संरचना हाबी भएको र संस्थागत हितभन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिइएको आरोप प्रष्ट रूपमा उठाइएको छ । यस्तो व्यवस्थापकीय शैलीले संस्थाको दीर्घकालीन स्थायित्व र लगानीकर्ताको हित दुवैमा नकारात्मक असर पारेको छ ।
यस्तै, पछिल्लो एक वर्षमा मात्र संस्थापक समूहका ठूलो संख्यामा व्यक्तिहरू बैंकबाट बाहिरिएका छन् । ३८ भन्दा बढी व्यक्तिहरूले करिब ८४ लाख कित्ता शेयर बिक्री गर्दै आफ्नो लगानी फिर्ता गरेका छन् । यीमध्ये म्युचल ट्रेडिङ कम्पनीले मात्रै ५० लाख कित्ता शेयर बिक्री गरेको छ भने प्रभा गोयन्काले १४ लाख ५१ हजार कित्ता, नम्रता श्रेष्ठले ७ लाख ५० हजार कित्ता, साथै कृष्ण कुमार श्रेष्ठ, हर्क बहादुर तामाङ, प्रकाश तायल, गिरेन्द्रमान सिंहलगायतले पनि लाखौँ कित्ता शेयर बिक्री गरेका छन् । संस्थापक समूहकै ठूलो मात्रामा बाहिरिनु बैंकको भविष्यबारे उनीहरूमा विश्वास नरहेको प्रमाणको रूपमा हेरिएको छ ।
लगानीकर्ताको मनोबलमा गिरावट, संस्थागत अस्थिरता, कमजोर वित्तीय प्रदर्शन र उच्च खराब कर्जाले हिमालयन बैंकलाई टाट पल्टिने जोखिमतर्फ धकेलिरहेको छ । लाभांश दिन नसक्ने अवस्था, ऋणात्मक वितरणयोग्य आम्दानी, घट्दो ब्याज आम्दानी, घट्दो सञ्चालन आम्दानी र बढ्दो खराब कर्जा अनुपात जस्ता तथ्याङ्कहरूले बैंक धरापको बाटोमा रहेको प्रष्ट देखिएको छ ।













