संकटमा जानकी फाइनान्सः खराब कर्जा ४८% , अधिकांश सूचक ऋणात्मक, राष्ट्र बैंकको टेक ओभरको खतरा

काठमाडौँ । जानकी फाइनान्स खराब कर्जाको दलदलमा अझै गहिरिँदै गएको छ । पछिल्ला वित्तीय सूचकहरूमा देखिएको अवस्थाले कम्पनीको भविष्य नै संकटमा पार्ने संकेत गरिरहेको छ । कर्जामा देखिएको उच्च जोखिमले कम्पनीको रणनीति र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा भएको छ ।
फाइनान्सको खराब कर्जा निरन्तर बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खराब कर्जा ४८.६१ प्रतिशतमा पुगेको छ । यो दर अघिल्लो वर्ष २०८०/८१ मा ३७.१३ प्रतिशतमा सीमित थियो । करिब ११.५ प्रतिशत अंकले खराब कर्जा बढ्नुले संस्थाको वित्तीय स्थायित्वमा नै हलचल ल्याएको छ । सामान्यतया १० प्रतिशतभन्दा माथिको खराब कर्जा अनुपातलाई खतराको घण्टी मानिन्छ तर जानकी फाइनान्सको दर यसभन्दा पाँच गुणाले बढी पुगेको छ ।
कम्पनीका अधिकांश वित्तीय सूचकहरू नकारात्मक देखिएका छन् । कम्पनीको नाफा लगातार ऋणात्मक बन्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा ९ करोड ३४ लाख रुपैयाँ घाटा रहेकोमा यो थप बढेर गत वर्ष २० करोड ७२ लाख रुपैयाँ ऋणात्मक भएको छ । घाटा यति ठूलो संख्यामा पुगेपछि कम्पनीका लगानीकर्ता र निक्षेपकर्ताको विश्वास समेत कमजोर भएको देखिन्छ ।
नाफाको गिरावटसँगै प्रतिशेयर आम्दानी पनि थप ऋणात्मक बनेको छ । अघिल्लो वर्षमा प्रतिशेयर आम्दानी १९.८७ रुपैयाँ ऋणात्मक थियो भने गत आर्थिक वर्षमा यो बढेर ३०.२ रुपैयाँ ऋणात्मक भएको छ ।
त्यसैगरी, कम्पनीको नेटवर्थमा पनि तीव्र गिरावट आएको छ । अघिल्लो वर्ष प्रतिशेयर नेटवर्थ ५७.८६ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा घटेर ३.०१ प्रतिशतमा सीमित भएको छ । नेटवर्थ यसरी घट्नुको अर्थ कम्पनीको पूँजी संरचना कमजोर हुँदै गएको हो ।
सञ्चालन नाफा पनि ऋणात्मक नै छ । गत वर्ष कम्पनीको सञ्चालन नाफा २० करोड ७२ लाख रुपैयाँ ऋणात्मक थियो भने अघिल्लो वर्ष यो १३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक थियो ।
समिक्षा अवधिमा कम्पनीको चुुक्तापूँजी ६९ करोड ४ लाख रुपैयाँ, जगेडा कोष ४३ करोड ९ लाख रुपैयाँ र खुद ब्याज आम्दानी १६ करोड ६७ लाख रुपैयाँ रहेको देखिन्छ । यद्यपि, ब्याज आम्दानी देखिए पनि खराब कर्जाको भारी दबाबले समग्र वित्तीय अवस्था असन्तुलित बनेको छ ।
फाइनान्सको निष्कृय कर्जा अनुपात अत्यधिक उच्च रहेकाले कर्जा प्रवाहमा पनि असुविधा भएको छ । यसले संस्थाको मात्र होइन समग्र अर्थतन्त्रमा पनि असर पुर्याएको छ । वित्तीय क्षेत्रमा विश्वास घट्नु र कर्जा पुनर्संरचना वा असुलीमा कमजोरी हुनु अर्थतन्त्रको स्थायित्वका लागि चुनौती मानिन्छ ।
नेपाल राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी खराब कर्जा देखिएमा विभिन्न नियन्त्रणात्मक कदम चाल्ने प्रावधान गरेको छ । सो प्रावधानअनुसार निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोक्ने, नयाँ शाखा खोल्न रोक्ने, कर्मचारी पारिश्रमिक बढाउन रोक लगाउने, लाभांश वितरण नगर्न निर्देशन दिने अधिकार राष्ट्र बैंकसँग हुन्छ । यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूलाई अनुशासनमा राख्ने र जोखिम न्यून गर्ने उद्देश्य लिएको हो । तर व्यवहारमा भने खराब कर्जा अनुपात नियन्त्रणमा आउन नसकेको तथ्यले नियामकको भूमिकामाथि पनि प्रश्न उठाएको छ ।
जानकी फाइनान्सले देखाएको अवस्थाले नियामक संस्थालाई थप दबाबमा पुर्याएको छ । खराब कर्जा ५० प्रतिशत नजिक पुगेको र नाफा लगातार ऋणात्मक बढेको अवस्थाले राष्ट्र बैंकले कुनै पनि बेला कम्पनीलाई टेकओभर गर्ने सम्भावना उच्च देखिन्छ ।












