बीमा क्षेत्रमा तालिमको प्रभावकारिता

तालिम एक सिकाई हो । तालिमले ज्ञान सम्प्रेषण गर्दछ, बिचारहरूको प्रष्फुटन गराउँदछ । तालिमको विषयबस्तु, प्रकार, समय–स्थान, साथै तालिम दिने व्यक्तिको ज्ञान, सिप, व्यवहार, सोच–विचार, अनुभव आदिले तालिमको उचाइसँगै सहभागीहरूमा सिकाईको दायरा फराकिलो पार्दछ । यसले व्यक्तिको दैनिक जीवन तथा कार्यालयमा हुने क्रियाकलापमा सकारात्मक प्रभाव पार्दछ । तसर्थ सम्पूर्ण क्षेत्र, तहतप्कामा तालिमको आवश्यता पर्दछ । बीमा क्षेत्रमा समयानुकुल तालिमको आवश्यकता झनै अपरिहार्य रहन्छ ।
सहि तालिमको लागि बिभिन्न प्रकार र फरम्याट प्रयोग गर्न सकिन्छ जस्तै लेक्चरिङ, पार्टिसिपेटिङ, रोल–प्ले, कन्सल्टिभ सेल्स, नेगोशिएसन आदि । तालिमले प्राविधिक ज्ञान, उत्पादन ज्ञान, समसामयिक ज्ञान, विक्रि र परामर्श क्षमता, जोखीम मूल्याङ्कन तथा व्यवस्थापन, दावी प्रक्रियामा सुधार, ऐन–निति–नियम तथा नियामकको अनुपालन, प्रविधिको प्रयोग साथै मानविय गुणको पनि उजागर गर्दछ ।
बीमाले समग्र समाज/बजार/समूहसँग सहकार्य गर्नुपर्ने हुन्छ । विभिन्न क्षेत्रका सरोकारवालाहरू जहाँ फरक व्यक्तित्व, फरक सोच/व्यवहारसँग घुलमिल गरी कार्य सम्पादन गर्नुपर्ने हुन्छ यसको लागि तालिमको ठूलो भूमिका रहन्छ । बीमाको लागि फरक फरक विषय र क्षेत्रमा तालिमको आवश्यकता पर्दछ जस्तै नयाँ कर्मचारी तथा अभिकर्ताको लागि प्रारम्भिक तालिम । अन्डरराइटिङ, दाबी व्यवस्थापन, प्रोडक्ट स्पेसिफिक, प्रविधि प्रयोगबारे प्राविधिक तालिम ।
बीमालेख, बीमा प्रक्रिया, नियामक निति, विक्री र संवाद कला तथा बजार ज्ञान सम्बन्धि नियमित तालिम आदि । यसले ग्राहक सन्तुष्टि, सही बिक्री र बृद्धि, दावी प्रक्रिया सुधार, ऐन नियमको जानकारी, कर्मचारी दक्षता/प्रदर्शनमा बृद्धि, त्रुटिमा अवन्नति जस्ता विषयमा तालिमको प्रत्यक्ष प्रभाव पर्दछ ।
कम्पनीले आफ्ना कर्मचारी तथा अभिकर्ताहरूलाई नियमित तालिम दिएसँगै विशेषतः शाखाबाट नयाँ–नयाँ अभिकर्ताहरूलाई पटक–पटक विभिन्न तालिम दिइरहनुपर्ने हुनाले कम्पनीले प्रथम त ‘तालिम कसरी सञ्चालन गर्ने ?’ भन्ने तालिम शाखास्तरीय, अभिकर्ता स्वयंमा दिनु आवश्यक देखिन्छ । साथै अभिकर्ता स्वयंले पनि समूह/समूहमा नियमित तालिम दिनु जरुरी छ । जसले गर्दा बीमाका दरिलो खम्बा अर्थात पेशागत अभिकर्ताहरूको जन्म हुनेछ । जुन हालको बीमा बजारले आवश्यकताको अनुभव गरेको छ ।
कुनैपनि संस्थाको लागि तालिम एक लगानी हो । समय र स्रोतसाधनको खर्च जस्तो देखिए पनि दीर्घकालिन रूपमा जोखिम नियन्त्रण, बिक्री वृद्धि, ग्राहक सन्तुष्टि र नियामक जोखिम घटाउन मद्दत गर्दछ । प्रशासनिक, व्यवहारिक, तथा सामाजिक पक्षहरूमा प्रत्यक्ष प्रभाव पार्ने हुदाँ रणनीतिक रूपमा डिजाइन गरिएको, नियमित र मापनयोग्य तालिम प्रणालीले संस्था र कर्मचारी दुवैलाई फलदायी रहन्छ ।
बीमामा तालिमलाई प्राथमिकता दिनु संस्थागत आवश्यकता हो । यसले कम्पनीको सफलताको लागि कर्मचारी तथा अभिकर्ताहरूको स्थायित्व र प्रवद्र्धन गरी क्षमता अभिवृद्धि गराउँदै प्रतिष्पर्धात्मक बजारमा समग्र संस्थागत सु–संस्कार, ग्राहक सन्तुष्टि र कार्य सम्पादनमा गुणात्मक सुधारको सुनिश्चिता दिनेछ ।
बजारीकरण तथा विक्रय/सम्झौता कौशल, नयाँ बजार र अवसरहरूको पहिचान, ग्राहक सेवा, बजार र प्रवृत्तिहरूको ज्ञान, जोखिम मूल्यांकन, प्रीमियम गणना गर्ने, दावी प्रक्रिया व्यवस्थापन गर्ने, धोखाधडी नियन्त्रण, कार्यशील नैतिकता, डिजिटल साक्षरतासँगै कर्मचारीहरूको ज्ञान, कौशल, र क्षमता बढाउँदै संस्थालाई प्रतिस्पर्धात्मक लाभ दिन्छ, ग्राहक संतुष्टि तथा विश्वास बढाउँछ, र व्यवसायिक सफलता सुनिश्चित गर्छ ।
बीमा क्षेत्र एक जटिल, नियमनकारी, परिवर्तनशील, ग्राहककेन्द्रित पब्लिकको स्वामित्व रहेको क्षेत्र हो । यसको गुणस्तरीय सेवा प्रदान गर्न, जोखिम व्यवस्थापन गर्न र व्यवसायिक वृद्धि सुनिश्चित गर्न तालिम अपरिहार्य छ ।
(लेखक श्रेष्ठ सिटिजन लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक हुन् ।)













