वित्तीय प्रणालीमा ४२ अर्ब शंकास्पद कारोबार, बैंक–बीमा हुँदै भुक्तानी प्रणालीसम्म फैलिँदै जोखिम

३० पुष २०८२, बुधबार १३:०५

काठमाडौं । नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको संख्या र रकम दुवै तीव्र रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले शंकास्पद वित्तीय गतिविधि अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको तथ्य सार्वजनिक गरेको हो । नेपाल हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ‘ग्रे लिस्ट’ मा रहेकै सन्दर्भमा शंकास्पद कारोबारको वृद्धिलाई चुनौतीपूर्ण संकेतका रूपमा हेरिएको छ ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा शंकास्पद कारोबार तथा गतिविधि रिपोर्ट (एसटीआर/एसएआर) को संख्या ३०.३५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ३ सय ३८ वटा शंकास्पद कारोबारको सूचना प्राप्त भएकोमा २०८१/८२ मा यस्तो संख्या ९ हजार ५ सय ६५ पुगेको छ । वित्तीय जानकारी इकाइले सञ्चालनमा ल्याएको ‘गो एएमएल’ प्रणालीमार्फत प्राप्त सूचनामध्ये ९ सय ४५ वटा वित्तीय सूचना प्रतिवेदन थप अनुसन्धान र सम्भावित अभियोजनका लागि नेपाल प्रहरी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ ।

कारोबार रकमका आधारमा पनि ठूलो परिमाणमा बढेको देखिन्छ । प्रतिवेदनका अनुसार अघिल्लो आर्थिक वर्षमा २३ अर्ब २६ करोड २२ लाख रुपैयाँबराबरका शंकास्पद कारोबारका उजुरी परेका थिए । समीक्षा वर्षमा भने यस्तो रकम ८२.७५ प्रतिशतले बढेर ४२ अर्ब ५१ करोड १९ लाख रुपैयाँ पुगेको छ । यसले वित्तीय प्रणालीभित्र जोखिमयुक्त कारोबारको मात्रा र जटिलता दुवै बढ्दै गएको संकेत गरेको छ ।

वार्षिक प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंकवादी क्रियाकलाप तथा आमविनाशका हातहतियारको निर्माण र विस्तारमा हुने वित्तीय लगानी रोकथामसम्बन्धी नीतिगत र सञ्चालनगत प्रगतिलाई समेटेको छ । यस अवधिमा वित्तीय जानकारी इकाइले सूचना सुरक्षा, गोपनीयता र सूचनाको प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको छ भने शंकास्पद कारोबार र सीमा पार हुने वित्तीय कारोबारसम्बन्धी निर्देशिका तथा मार्गदर्शनहरू अद्यावधिक गरेको छ ।

समीक्षा वर्षभर सूचक संस्था, नियामकीय निकाय, कानून कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थालाई लक्षित गरी क्षमता विकास, अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । यी कार्यक्रममार्फत जोखिम पहिचान, रिपोर्टिङ प्रणालीको प्रभावकारिता र अन्तरनिकाय समन्वयलाई सुदृढ बनाउने प्रयास गरिएको छ ।

संस्थागत रूपमा हेर्दा शंकास्पद कारोबारको सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूबाट आएको देखिन्छ । प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकबाट ३८ अर्ब ८८ करोड रुपैयाँबराबरका ७ हजार ३ सय ३ वटा सूचना प्राप्त भएका छन् । विकास बैंकबाट ७ सय ८० वटा सूचनामार्फत ७५ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार शंकास्पद ठहरिएको छ ।

त्यसैगरी, सेयर ब्रोकर कम्पनीबाट ४ सय ९१ वटा सूचनामार्फत एक अर्ब ९१ लाख रुपैयाँबराबरको विवरण प्राप्त भएको छ । वित्त कम्पनीबाट ८३ करोड ९२ लाख रुपैयाँबराबरका ३ सय ५५ वटा सूचना आएका छन् भने भुक्तानी सेवा प्रदायकबाट १६ करोड ५७ लाख रुपैयाँबराबरका २ सय ५२ वटा सूचना रिपोर्ट भएका छन् ।

बीमा कम्पनीबाट ४९ करोड ८८ लाख रुपैयाँबराबरका २ सय ४४ वटा, रेमिट्यान्स कम्पनीबाट २८ करोड ५६ लाख रुपैयाँबराबरका १ सय वटा सूचना प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थाबाट ६ करोड ५६ लाख रुपैयाँबराबरका ३६ वटा सूचना रिपोर्ट भएका छन् । यसैगरी क्यासिनोबाट ६१ लाख रुपैयाँबराबरका दुई, हायर पर्चेजबाट ३ लाख ९० हजार रुपैयाँबराबरको एक र लघुवित्त वित्तीय संस्थाबाट ११ लाख रुपैयाँबराबरको एक कारोबार शंकास्पद भन्दै रिपोर्ट गरिएको छ ।

अन्तर्राष्ट्रिय सहकार्यतर्फ पनि वित्तीय जानकारी इकाइले उल्लेखनीय प्रगति गरेको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा इकाइले विभिन्न देशका वित्तीय जानकारी इकाइसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ । यसबाट सीमापार वित्तीय कारोबारबाट उत्पन्न जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका वित्तीय अपराधविरुद्ध सहकार्य थप प्रभावकारी बनेको इकाइको ठहर छ ।

प्रतिवेदनले आगामी दिनमा जोखिममा आधारित दृष्टिकोणलाई अझ सशक्त बनाउने, प्रविधिमा आधारित विश्लेषण प्रणाली विस्तार गर्ने, अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुनी र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत गरेको छ । वित्तीय सूचनाको विश्लेषण गुणस्तर सुधार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउने कार्यदिशा इकाइको आगामी प्राथमिकता रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*