ऋण लिएर मार्केटमा लगानी गर्ने बढ्दैः शेयर धितो कर्जा साढे १ खर्ब नाघ्यो, ४७ वित्तीय संस्थामा कुनले कति दिए ?

४ माघ २०८२, आईतवार १३:१७

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा लगानी वृद्धि गरेका हुन् ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताहरुले १ खर्ब ४८ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ कर्जा लिएका छन् । उक्त शेयर धितो कर्जा गत आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिको तुलनामा ३७.७४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ शेयर धितो कर्जा प्रदान गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले आफ्ना आन्तरिक व्यवस्थाअनुसार व्यक्तिको स्वामित्वमा रहेका पुराना शेयर वा भविष्यमा खरिद गरिने शेयरलाई धितो मानेर कर्जा प्रवाह गर्न सक्छन् । जसअन्तर्गत लगानीकर्ताले आफ्नो नाममा दर्ता भएको शेयर धितो राखी कर्जा लिन पाउने व्यवस्था छ । यद्यपि शेयर धितो राखेर लिएको कर्जा जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भए पनि व्यवहारमा अधिकांश कर्जा पुनः शेयर खरिदमै लगानी भइरहेको देखिन्छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह क्रमशः बढ्दो क्रममा रहेको छ ।

वाणिज्य बैंकको शेयर धितो कर्जा ४५.६५ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको ५ महिनासम्ममा वाणिज्य बैंकले मात्रै शेयर लगानीकर्ताहरुलाई १ खर्ब २५ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ शेयर धितो कर्जा मार्फत प्रवाह गरेका छन् । बैंकले प्रवाह गरेको शेयर धितो कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४५.६५प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको मंसिरसम्ममा वाणिज्य बैंकले शेयर धितो कर्जा मार्फत ८६ अर्ब ३३ करोड रुपैयाँ प्रदान गरेका थिए ।

समिक्षा अवधिसम्ममा १ वाणिज्य बैंकले मार्फत शेयर धितो कर्जा घटाएका छन् भने अन्य बैंकहरुको उल्लेख्य बढेको छ । यसअवधिसम्ममा नबिल बैंकले सर्वाधिक शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकको उक्त कर्जा ३८.९५ प्रतिशतले बढेर १५ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

साथै, ग्लोबल आइएमई बैंकको शेयर धितो कर्जा १९.४९ प्रतिशतले बढेर १३ अर्ब ५२ करोड, कुमारी बैंकको ५१.१० प्रतिशतले बढेर १० अर्ब २७ करोड, प्राइम बैंकको ६१.५५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड, सिद्धार्थ बैंकको ११.३३ प्रतिशतले बढेर ८ अर्ब ७९ करोड, लक्ष्मी सनराइज बैंकको १२१.६३ प्रतिशतले बढेर ८ अर्ब ३० करोड र राष्ट्रिय वाणिज्य बैंकको ७७.६९ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

यसअवधिमा नेपाल बैकले ९.४१ प्रतिशतले शेयर धितो कर्जा घटाएको देखिन्छ ।

विकास बैंकहरुले दिए साढे १९ अर्ब शेयर धितो कर्जा

मंसिर मसान्तसम्मको अवधिमा विकास बैंकले १० अर्ब ४४ करोड ७३ रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ११.३९ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको मंसिर महिनासम्म विकास बैंकहरुले १७ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए । यसअवधिमा २ विकास बैंकले मात्रै शेयर धितो कर्जा घटाएको हो ।

विकास बैंकहरुमा सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको शेयर धितो कर्जा ११.४५ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड १० लाख रुपैयाँ रहेको हो ।

त्यस्तै, समिक्षा अवधिमा गरिमा विकास बैंकको १.०९ प्रतिशतले बढेर २ अर्ब ६३ करोड ४५ लाख र महालक्ष्मी विकास बैंकको ८.३३ प्रतिशतले बढेर २ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ शेयर धितोकर्जा दिएको हो ।

यता, सिन्धु विकास बैंकको भने शेयर धितो कर्जा २४.२२ प्रतिशतले घटेको छ भने शाइन रेसुङ्गा बैंकको १.०७ प्रतिशतले घटेको हो ।

फाइनान्सले भने घटाए शेयर धितो कर्जा

समिक्षा अवधिमा फाइनान्स कम्पनीहरुको शेयर धितो कर्जा भने १५.७५ प्रतिशतले घटेर ३ अर्ब ५० करोड २१ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सहरुले ४ अर्ब १५ करोड ६९ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए ।

१५ फाइनान्स मध्ये १० कम्पनीको शेयर धितो कर्जा घटेको छ ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा फाइनान्सहरुमा सर्वाधिक शेयर धितो कर्जा प्रवाह गर्नेमा आइसिएफसि फाइनान्स रहेको छ । कम्पनीको उक्त कर्जा ६.५६ प्रतिशतले बढेर ४४ करोड ९६ लाख रुपैयाँ पुगेको हो ।

सेन्ट्रल फाइनान्सले भने शेयर धितो कर्जा सर्वाधिक वृद्धि गरेको छ । कम्पनीका शेयर धितो कर्जा ३६३ प्रतिशतले बढेर २३ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*