वित्तीय रुपमा थला परेको नुम्बुर हिमालय हाइड्रोले प्रिमियममा आईपीओ ल्याउने, पुँजीको ३ गुणाबढी ऋण

काठमाडौँ । हालको नेपाली पुँजीबजारमा आईपीओमार्फत पूँजी संकलन गर्ने प्रवृत्ति तीव्र बन्दै गएको छ । सञ्चालनमा आएकै छोटो अवधिमा नै लगानीकर्ताबाट पैसा असुल्ने प्रतिस्पर्धा नै चलि रहेको अवस्था छ । कमजोर वित्तीय सूचकहरू बेवास्ता गर्दै सार्वजनिक निष्कासनको तयारी थालेका छन् । निरन्तर नाफा आर्जन गर्न नसकेका, अत्यधिक ऋणको भार बोकेका तथा सञ्चालनमै चुनौती झेलिरहेका कम्पनीहरू समेत आईपीओलाई कर्जा व्यवस्थापनको साधनझैँ प्रयोग गर्न खोजेको देखिन्छ । यसले बजारमा आइपीओको उद्देश्य नै प्रश्नको घेरामा पार्दै लगानीकर्तामा अन्योल र आशंका बढाएको छ ।
एमभी दुगड ग्रुपको लगानी रहेको नुम्बुर हिमालय हाइड्रोपावर नामक कम्पनी यसको उदाहरण बनेको छ । सो कम्पनीले नाफा निरन्तर घट्दै गएको, ऋण भार निकै रहेको र वित्तीय सूचकहरू कमजोर रहेको स्थिति हुँदाहुँदै पनि आईपीओ ल्याउने प्रक्रिया अघि बढाएको छ । कम्पनीको उद्देश्य लगानीकर्ताबाट रकम उठाएर आफ्ना वित्तीय समस्या हल गर्नु रहेको देखिन्छ, जुन दीर्घकालीन रूपमा जोखिमपूर्ण अभ्यास हो । प्रिमियम मूल्यमा आईपीओ ल्याएर कम्पनीले छिटो पैसा उठाउने रणनीति बनाएको भए पनि लगानीकर्ताले यस्ता कम्पनीहरूको भित्री अवस्था नबुझी लगानी गर्दा ठूलो घाटा बेहोर्नुपर्ने स्थिति सिर्जना हुनसक्छ ।
कम्पनीको पछिल्लो समय बढ्दो ऋणभार, कमजोर नगद प्रवाह र दायित्व व्यवस्थापनको चुनौतीका कारण आर्थिक दबाबमा पर्दै गएको देखिएको छ । सोलुखुम्बु र रामेछाप जिल्लामा निर्माण गरिएको लिखु खोला ‘क’ जलविद्युत् आयोजना सञ्चालनमा रहे पनि कम्पनीको वित्तीय अवस्थाले दीर्घकालीन स्थायित्वप्रति गम्भीर प्रश्न उठाइरहेको छ । २००७ अगस्ट २१ मा निजी सीमित कम्पनीका रूपमा स्थापना भएको यस कम्पनी २०२१ अप्रिल ४ मा सार्वजनिक कम्पनीमा रूपान्तरण गरिएको हो । २९.०४ मेगावाट क्षमताको लिखु खोला ‘क’ आयोजनाबाट विद्युत् उत्पादन गर्दै आएको कम्पनीले कुल उत्पादनमध्ये २४.२ मेगावाट विद्युत् निश्चित खरिद सम्झौता अन्तर्गत बिक्री गर्दै आएको छ भने बाँकी ४.८४चार मेगावाट विद्युत् माग अनुसार बिक्री गर्दै आएको छ । तर आयोजना सञ्चालनमा आएपछि अपेक्षा गरिएको जति वित्तीय सुधार देखिन नसक्दा कम्पनी ऋणको भारमा थिचिँदै गएको तथ्यांकले देखाएको छ ।
पछिल्ला चार आर्थिक वर्षको विवरण हेर्दा कम्पनीको कुल सञ्चालन आम्दानी बढ्दो क्रममा देखिए पनि त्यसले ऋणको चाप कम गर्न सकेको छैन । २०२२ को पाँच महिनाको अवधिमा करिब २८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२५ सम्म आइपुग्दा आम्दानी बढाएर ८२ करोड १० लाख रुपैयाँ पु¥याएको छ । आम्दानी बढ्नु सकारात्मक देखिए पनि त्यसको ठूलो हिस्सा ब्याज, ऋण सेवा र अन्य वित्तीय दायित्वमै खर्चिनु परिरहेको अवस्था छ ।
कम्पनीको नाफा क्षमताको सूचक मानिने सञ्चालन नाफा अनुपात उच्च देखिए पनि त्यसको वास्तविक प्रभाव नगद प्रवाहमा पर्न सकेको छैन । ऋणमा आधारित आयोजनाका कारण ब्याज खर्च अत्यधिक रहँदा ब्याज तिर्ने क्षमता सीमित हुँदै गएको छ । २०२२ मा करिब २ रहेको ब्याज तिर्ने क्षमता २०२४ मा घटेर १.६२ गुणामा झरेको थियो । यद्यपि पछिल्लो वर्ष केही सुधार भई १.९७ गुणामा पुगे पनि यसलाई सुरक्षित अवस्था मान्न सकिने स्थिति छैन । ब्याज तिर्ने क्षमतामा सानो धक्का लाग्दा पनि कम्पनीको नगद प्रवाह संकटमा पर्न सक्ने जोखिम कायमै छ ।
सबैभन्दा गम्भीर पक्ष कम्पनीको समग्र ऋण संरचना हो । २०२२ मा ३.७४ गुणा रहेको समग्र ऋण अनुपात २०२५ मा आएर ३.०६ गुणामा झरेको देखिए पनि यो स्तर अझै पनि अत्यधिक मानिन्छ । जलविद्युत् आयोजना सञ्चालन गर्ने कम्पनीका लागि ऋण अनुपात उच्च हुनु सामान्य मानिए पनि लगातार उच्च अनुपातमा रहनुले जोखिम बढाउँछ । विद्युत् उत्पादनमा कुनै प्राविधिक समस्या, प्राकृतिक विपद् वा प्रसारण अवरोध आएमा कम्पनीको ऋण तिर्ने क्षमता तुरुन्तै कमजोर हुन सक्छ ।
कम्पनीको स्वामित्व संरचनाले पनि जोखिम घटाउने भन्दा बढाउने संकेत गर्छ । मुख्य सेयरधनीहरू व्यक्तिगत प्रवद्र्धक समूहमा केन्द्रित छन् । विवेक दुगार, मोतिलाल दुगार र शुभम दुगार गरी एउटै परिवारसँग ठूलो हिस्सा रहेको छ भने विदेशी संस्थागत प्रवद्र्धकको हिस्सा सीमित छ । यस्तो संरचनाले संस्थागत सुशासन र दीर्घकालीन वित्तीय अनुशासनमा कमजोरी ल्याउन सक्ने चिन्ता देखिन्छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा १०० अकिंत मूल्यमा ११८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१८ रुपैयाँमा ३० लाख ६ हजार २०२ कित्ता बराबरको ६५ करोड ५३ लाख ५२ हजार रुपैयाँ आइपीओ निष्कासनका लागि अनुमति माग गरेको छ ।
कम्पनीको अध्यक्ष विवेक दुगार छन् । कम्पनीमा विदेशी संस्थागत प्रवद्र्धकको रूपमा मोघा इनर्जी डिएमसीसीको पनि उपस्थिती छ ।












