आईपीओपछि रिलायन्स स्पिनिङ मिल्सको वास्तविक चित्र: नाफा, आम्दानी र ईपीएस सबै ओरालो

काठमाडौँ । आईपीओ निष्कासन गर्नु अघि आकर्षक नाफा र बलियो सूचक देखाएर बजारमा प्रवेश गरेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको पछिल्लो वित्तीय अवस्था भने कमजोर बन्दै गएको देखिएको छ। कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गरिसकेको छ र हाल सूचीकरणको प्रक्रियामा छ। तर, लगानीकर्ताबाट ठूलो रकम संकलन भइसकेपछि सार्वजनिक गरिएको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले कम्पनीको आम्दानी, नाफा र प्रतिफल सूचकहरूमा स्पष्ट दबाब देखाएको छ।
पुस मसान्त २०८२ सम्ममा रिलायन्स स्पिनिङ मिल्सले १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १८ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा यस वर्ष २७.२४ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.१० प्रतिशत घटेर ४ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन आम्दानी ४ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी थियो। आम्दानी घटेसँगै कुल नाफा पनि ८.८२ प्रतिशतले घटेर ५९ करोड ९३ लाख रुपैयाँमा झरेको छ। अझ गम्भीर संकेत भने सञ्चालन मुनाफामा देखिएको छ। कम्पनीको सञ्चालन मुनाफा २७.६१ प्रतिशतले घटेर ३२ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ४५ करोड ५६ लाख रुपैयाँ थियो। यसले कम्पनीको मूल व्यवसायिक क्षमतामाथि नै प्रश्न उठाएको छ।
वित्तीय खर्च ३२.४२ प्रतिशतले घटेर १६ करोड ४६ लाख रुपैयाँमा झरेको देखिए पनि यसले नाफा जोगाउन सकेको छैन। सामान्यतया वित्तीय खर्च घट्दा नाफामा सकारात्मक असर पर्ने अपेक्षा गरिन्छ, तर रिलायन्स स्पिनिङ मिल्सको हकमा आम्दानी र सञ्चालन नाफाको गिरावट यति ठूलो देखिएको छ कि वित्तीय खर्चमा आएको सुधार प्रभावहीन बनेको छ।
नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि तीव्र रूपमा घटेको छ। वार्षिकीकृत आधारमा कम्पनीको ईपीएस ७ रुपैयाँ ६६ पैसाले घटेर १४ रुपैयाँ ४७ पैसामा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा ईपीएस २२ रुपैयाँ १३ पैसा थियो। यद्यपि दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४९० रुपैयाँ ५४ पैसा पुगेको देखिन्छ।
पूँजी संरचनातर्फ हेर्दा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने अन्य इक्विटी ७ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रहेको छ।












