दिग्भ्रमित सर्वसाधारण घण्टीको पछाडि दौडिदै, जनतामाथि यस्तो घात ! किन ?

नबराज न्यौपाने
५ फाल्गुन २०८२, मंगलवार २२:२३

— समाचार टिप्पणी—-

यतिबेला आमजनता राष्ट्रिय स्वतन्त्र पार्टी र यसको निर्वाचन चिन्ह घण्टीमा मतदान गर्न आतूर छन् । सिङ्गो देश घण्टीमय भएको छ । दार्चुलादेखि ताप्लेजुङसम्ममा रास्वपाको पक्षमा अभूतपूर्व जनलहर सिर्जना भइरहेको छ । बालेन शाह, रवि लामिछानेप्रति विकास र समृद्धिको आशा गरेर जनताले विश्वास गरेपछि परम्परागत भ्रष्टाचारी, माफियाका एजेन्टहरूले भरिएका नेकपा एमाले, नेपाली कांग्रेससहितका दलहरूको रातको निन्द्रा र दिनको भोक हुन पुगेको अवस्था छ ।

पूर्व प्रधानमन्त्री केपी ओली निर्वाचनमा सम्मानजनक पराजय मात्रै भोग्न पाए पनि अलिकति इज्जत जोगिन्थ्यो भन्दै जनताको घरघरमा पुगिरहेका छन् । अर्का पूर्व प्रधानमन्त्री माधव नेपाल, प्रचण्डहरू पनि अस्तित्वको लडाईमा गर या मरको अवस्थामा छन् ।

आम जनताबाट यति धेरै विश्वास र आगाध माया पाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट गम्भिर धोका पाउने निश्चित भएको छ । फागुन २१ गते निर्वाचन सम्पन्न भएपछि देशको प्रधानमन्त्रीको रुपमा बालेनले शासन गर्नेछन् । तर, बालेन पनि नयाँ राजा, नयाँ ओली वा २०६४ सालमा प्रधानमन्त्री बनेका प्रचण्डभन्दा भिन्न हुने अवस्था देखिन आएको छैन । रास्वपाले सार्वजनिक गरेको जनतासँगको करार पत्रमा उल्लेख गरिएका केही व्यहोराले रास्वपाले आम जनतालाई गम्भिर धोका हुन पुगेको छ ।

गत भदौं २३ र २४ गते सम्पन्न भएको ऐतिहासिक जेनजी पुस्ताको आन्दोलनको भाव आर्थिक समृद्धिका लागि जनसहभागिता मूलक विकास र समृद्धि, देशको भद्दा शासन व्यवस्थाभित्रको संघीयता अन्तर्गत प्रदेश संरचनाको खारेजी पनि हो । आन्दोलनको भाव देशभित्रका सबै राजनीतिक शक्तिहरूको अस्तित्व स्वीकार गर्दै सहकार्य, भाइचारा कायम हुनुपर्ने, शासक आफै पनि अनुशासनमा बस्ने नयाँ शासन पद्धतिको खोजी हो । तर, रास्वपाले जनतासँगको करार पत्रमा २०४८ सालमा नेपाली कांग्रेसले अभ्यास गरेर असफलसिद्ध भएको उदार अर्थनीतिलाई अगाल्ने उल्लेख छ ।

नेपाली जनताले अहिले पनि झल्झल्ती सम्झिरहेको कुरा के हो भने २०४८ सालमा आम निर्वाचनपछि कांग्रेसले अघि सारेको उदार अर्थनीति अर्थात् पुँजिवादी अर्थव्यवस्थाले नेपालका एक दर्जनभन्दा बढि उद्योग निजीकरण गरेर ति उद्योगहरू बन्द मात्रै भएनन्, देशको औद्योगीकरणलाई रोकेर बस्तु आयातमुखी अर्थव्यवस्थामा रुपान्तरण हुन पुगेको छ । प्रश्न उठेको तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले अघि सारेको उदार अर्थनीति रास्वपाका स्वर्णिम वाग्लेले अघि सार्न खोजेको छन्, त्यसैलाई रास्वपाले आत्मसात गर्ने हो भने यो आम जनतामाथिको गम्भिर धोका हो ।

आज रास्वपाको पछाडि दौडिरहेका आम जनताहरूले ठण्डा दिमाग बनाएर सोच्नुपर्दछ कि उदार अर्थनीतिकै पक्षमा रास्वपा उभिने हो उसको आर्थिक नीतिले देशमा समृद्धि, विकास कुनै पनि कोणबाट सम्भव छैन । रास्वपाले अब घण्टी बजाएर भोट माग्ने मात्रै होइन, आफूले अघि सारेको आर्थिक नीति, विकासको नीतिमाथि गम्भिर बहस जरुरी छ ।

प्रतिव्यक्ति आय ३००० डलर पुर्याउने भनिएको सपना केपी ओलीले पानी जहाज जस्तै हावादारी बन्ने निश्चित छ । जनतालाई कस्तो खालको उद्यमशिलता सिकाउने हो वा रोजगारी दिने हो ? आज ठोस निर्णय गर्नुपर्दछ । आम जनता रास्वपाको गुलियो भाषण, चर्को गाली सुनेर मख्ख परेका छन्, त्यसको अर्थ यो होइन कि सिंहदरवारको प्रधानमन्त्रीको कुर्सीमा केपी ओली, प्रचण्ड, शेबादे, माधव कुमार नेपाललाई हटाएर नयाँ ओली, प्रचण्ड, शेबादे, माकुनेलाई ल्याउनको लागि यो निर्वाचन भइरहेको छैन ।

आसन्न आम निर्वाचन जनताले विकास, समृद्धि र सुशासनप्रतिको उत्कृष्ट चाहनाको सम्बोधन गर्न सक्ने, त्यो पहाड झै गह्रौं भारी बोक्न सक्ने नीति, योजना र योजना कार्यान्वयनको टाइमलाइन सहितको खाका नगदै खोजेका छन् । आज जिताएर पठाउनु भोलि दिउँला भनेर नातीको पालासम्म जनतालाई दास बनाउने कांग्रेस, एमाले, माओवादी र राप्रपा तथा मधेशवादी दलहरूको पुराना शैलीको सपनाको दिन गइसकेका छन् ।

गत २०८० मा सम्पन्न आम निर्वाचनमा रास्वपाले प्रदेश संरचना खारेज गर्ने एजेण्डा बोक्ने विश्वास जनताले गरेका थिए । देशका कुनै पनि प्रदेशमा रास्वपाले उम्मेदवारी दिएको थिएन । त्यसैले देशका लागि घाँडो भएको संघीयतता र प्रदेश संरचना खारेजी रास्वपाको एजेण्डा हो भन्ने कुरा आम जनताले बुझेका थिए । सोही विश्वासको जगमा टेकेर उदाएको रास्वपाले यस पटक मतदाता करारपत्रमा संघीयतालाई सुधार गरेर स्वीकार गर्ने उल्लेख हुनुले जनताले स्तब्ध हुन पुगेका छन् । साथै आफूमाथि कुठाराघात भएको अनुभूति गरिरहेका छन् ।

रास्वपाले निर्वाचनमा जनता सामू व्यक्त गर्ने प्रतिबद्धता, घोषणा पत्र, करार पत्रमा उल्लेख भएका नीति, योजना र कार्ययोजनाहरू नै यथार्थवादी, बस्तुवादी र संविधान विपरित हुन्छन् भने त्यही संविधानभित्रबाट समृद्धि हासिल हुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ । नेपालको संविधानको प्रस्ताव नपढी, नेपालको संविधानको प्रस्तावमा देश समाजवादी अर्थव्यवस्थामा जाने भन्ने यथार्थलाई नबुझी उदार अर्थनीति भनेर करार पत्र ल्याउने रास्वपाको कार्यशैलीले रास्वपासँग ठूलो आशा, भरोसा अनि विश्वास गरेर फागुन २१ गतेको नयाँ विहानीको प्रतिक्षा गरिरहेका बौद्धिक जमात स्तब्ध हुन पुगेका छन् ।

मूल विचार, मूल सिद्धान्त र बाटो नै गलत भइसकेपछि बालेन शाह, रवि लामिछाने वा जेनजी पुस्ताका जो सुकै प्रधानमन्त्री वा राष्ट्रपति भएपनि जनताले चाहेको आर्थिक समृद्धि केबल दिवास्वप्त हुन पुग्नेछ । अब आम जनताले करार पत्रमा उल्लेख गरिएको बुँदाहरूमा टेकेर प्रश्न गर्नुपर्दछ कि रास्वपा दिवा स्वप्न देखाएर भोट मागिरहेको छ कि यथार्थवादी नयाँ योजना सार्वजनिक गर्ने प्रयास हुनेछ ?

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*