वाणिज्य बैंकमा पैसा राखेर निक्षेपकर्ताले कमाए १ खर्ब ३४ अर्ब, कुन बैंकले कति दियो?

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा वाणिज्य बैंकमा पैसा राखेर निक्षेपकर्ताले १ खर्ब ३४ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ कमाएका छन्। बैंकमा पैसा राखे बापत बैंकले बचतकर्तालाई सम्बन्धित निक्षेप खाताका लागि तोकिएको ब्याजदर अनुसार रकम दिने गर्छ। गत आवको ६ महीनासम्म निक्षेपकर्ताले १ खर्ब ६१ अर्ब ४२ करोड १९ लाख रुपैयाँ कमाएकोमा त्यसको तुलनामा चालू आवमा १६.५० प्रतिशतले घटेको हो।
चालू आवको ६ महीना अर्थात साउदेखि पुस मसान्तसम्म ग्लोबल आइएमई बैंकबाट निक्षेपकर्ताले सबैभन्दा धेरै १२ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कमाएका छन् भने नबिल बैंकबाट ११ अर्ब ११ करोड ३५ लाख रुपैयाँ, एनआईएमबि बैंकबाट ९ अर्ब ७१ करोड ८२ लाख रुपैयाँ, कुमारी बैंकबाट ८ अर्ब ३९ करोड २३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट ८ अर्ब ३८ करोड ६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकबाट ७ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ कमाएका छन्।
त्यसैगरी लक्ष्मी सनराइज बैंकबाट ७ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ, हिमालयन बैंकबाट ७ अर्ब १० करोड ९४ लाख रुपैयाँ, प्रभु बैंकबाट ६ अर्ब ७४ करोड २५ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकबाट ६ अर्ब ५६ करोड ५० लाख रुपैयाँ, सिद्धार्थ बैंकबाट ६ अर्ब १० करोड ३२ लाख रुपैयाँ, कृषि विकास बैंकबाट ५ अर्ब ९४ करोड २३ लाख रुपैयाँ र नेपाल बैंकबाट ५ अर्ब ९३ करोड ४७ लाख रुपैयाँ बचतकर्ताले कमाएका छन्।

त्यस्तै एनएमबि बैंकले ५ अर्ब ८८ करोड २० लाख रुपैयाँ, एभरेष्ट बैंकले ५ अर्ब ६० करोड ५१ लाख रुपैयाँ, सानिमा बैंकले ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ४ अर्ब ७० करोड ९१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४ अर्ब ५७ करोड ९३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ३ अर्ब ९१ करोड १४ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७५ करोड २८ लाख रुपैयाँ आफ्ना निक्षेपकर्तालाई तिरेको छ।
गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा सबै बैंकहरूले आफ्ना निक्षेपकर्तालाई तिरेको रकम घटेको तथ्यांकले देखाएको छ। राष्ट्रिय वाणिज्य बैंकको ५.९६ प्रतिशत र एभरेष्ट बैंकको ६.३४ प्रतिशतले घटेको छ भने बाकी सबै बैंकको दोहोरो अंकले घटेको छ। सबैभन्दा बढी एनआईसी एशिया बैंकको २६.७२ प्रतिशतले आफ्ना निक्षेपकर्तालाई दिएको रकम घटेको छ।












