हिन्द महासागर सम्मेलनमा नेपालको समुद्री रणनीतिक दृष्टिकोण प्रस्तुत, आर्थिक सुरक्षा र क्षेत्रीय सहकार्यमा जोड

३० चैत्र २०८२, सोमबार १३:२३

काठमाडौँ ।  मौरिससमा १० देखि १२ अप्रिलमा आयोजित नवौँ हिन्द महासागर सम्मेलन २०२६ मा नेपालले आफ्नो समुद्री रणनीतिक दृष्टिकोण प्रस्तुत गरेको छ। नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड एंगेजमेन्टकी निर्देशक सुमित्रा कार्की ले विषयगत सत्र–२ अन्तर्गत समुद्री कानून र शासनसम्बन्धी सत्रमा नेपालको विशेष अवस्थामाथि प्रकाश पारेकी हुन्। उनले भूपरिवेष्ठित भए पनि समुद्रमा निर्भर देशका रूपमा नेपालको फरक अवस्थालाई उल्लेख गर्दै नेपालले भारतसँग खुला, छिद्रपूर्ण र धेरै हदसम्म अनियमित सीमा कायम राखेको बताइन्, जसका कारण नेपाली नागरिकलाई भिसा वा राहदानी बिना आवतजावत गर्न सहजता रहेको उल्लेख गरिन्। यसै अवस्थाले नेपाललाई भारतीय भूभागमार्फत हिन्द महासागरमा अप्रत्यक्ष पहुँच उपलब्ध गराएको भन्दै उनले नेपाललाई “अप्रत्यक्ष रूपमा समुद्री देश” का रूपमा व्याख्या गरिन्।

उनले नेपालको आयात–निर्यात व्यापार मुख्य रूपमा समुद्री मार्गमा निर्भर रहेको स्पष्ट पार्दै कोलकाता र विशाखापट्टनम जस्ता भारतीय बन्दरगाहहरू नेपालको वैदेशिक व्यापारका लागि अत्यन्त महत्वपूर्ण रहेको बताइन्। हिन्द महासागर क्षेत्रमा शान्ति, स्थिरता र सहकार्य नेपालका लागि आर्थिक सुरक्षाको दृष्टिले अत्यावश्यक रहेकोमा उनले जोड दिइन्।

साथै उनले नेपालको विदेश नीतिको आधारभूत सिद्धान्तका रूपमा रणनीतिक स्वायत्ततालाई पुनः दोहोर्याउँदै नेपाल कुनै पनि भूराजनीतिक प्रतिस्पर्धामा नजाने र सैन्य वा रणनीतिक गठबन्धनभन्दा आर्थिक सहकार्यलाई प्राथमिकता दिने स्पष्ट पारेकी थिइन्।

कार्यक्रमका क्रममा उनले नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड एंगेजमेन्टको हिन्द महासागर तथा इन्डो–प्यासिफिक मामिलामा बढ्दो संलग्नताबारे पनि जानकारी दिइन्। संस्थाले आफ्नो इन्डो–प्यासिफिक अध्ययन केन्द्रमार्फत समुद्री तथा क्षेत्रीय गतिशीलतासम्बन्धी ५० भन्दा बढी छलफल आयोजना गरिसकेको र “नेपाल्स आउटलुक टु द इन्डो–प्यासिफिक” नामक प्रकाशनमार्फत नीतिगत बहसमा योगदान पुर्‍याउँदै आएको उनले उल्लेख गरिन्।

त्यसैगरी संस्थाको प्रमुख कार्यक्रमका रूपमा रहेको हिन्द–प्रशान्त भविष्य मञ्च लाई उनले अन्तर्राष्ट्रिय संवादको महत्वपूर्ण मञ्चका रूपमा प्रस्तुत गरिन्। यस कार्यक्रमको पछिल्लो संस्करण “सागरलाई सागरसँग जोड्ने” विषयवस्तुमा केन्द्रित रहेको उल्लेख गर्दै उनले हिन्द–प्रशान्त क्षेत्रलाई प्रतीकात्मक रूपमा सगरमाथासँग जोड्ने प्रयास गरिएको बताइन्।

सम्मेलनका अवसरमा निर्देशक कार्कीले मौरिससका प्रधानमन्त्री, नेपालका परराष्ट्रमन्त्री, बिमस्टेकका महासचिव तथा भारतका उच्च अधिकारीहरू लगायत विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता समेत गरेकी थिइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*