नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाएर बिदा भयो २०७७ साल

१ बैशाख २०७८, बुधबार १२:२०

काठमाडौं । नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाउँदै २०७७ साल हामीबाट विदा भएको छ । २०७७ साल बैशाख ७ गतेबाट सुरु गरिएको कोरोना बीमा नेपाली बीमा क्षेत्रको लागि गलत र ऐतिहासिक भूल थियो भन्ने कुरा सावित भइसकेको छ । कोरोना बीमाले सिंगो बीमा क्षेत्रलाई बद्नाम र बीमाप्रति जनतामा रहेको विश्वास घटाउन भूमिका खेलेका कारण नेपाली बीमा क्षेत्रको कालो दिनको रुपमा २०७७ साल बैशाख ७ गतेलाई लिन सकिन्छ ।

बीमा समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत सुरु गरेको कोरोना बीमाले थुप्रै मानिसहरुलाई राहत दिन सफल भएपनि कोरोना बीमाले सिर्जना गरेको असीमित दायित्व, बीमा कम्पनीहरुले समयमा दावी भुक्तानी गर्न नसकेको अवस्थाले सिंगो बीमा क्षेत्र बद्नाम हुन पुग्यो । कोरोना बीमाको लागि सम्पूर्ण कागजात सहित दावी भुक्तानीको लागि पेश गरेको महिनौंसम्म दावी भुक्तानी नपाउनु, बीमितहरुले अनावश्यक धेरै झन्झटहरु व्यहोर्नु, एकरुपता कायम गर्न नसक्नु जस्ता समस्याका कारण कोरोना बीमाले सिंगो नेपाली बीमा व्यवसायको धज्जी उडाउने काम हुन पुग्यो ।

बीमाको आधारभूत सिद्धान्त, मूल्य र मान्यता विपरित नियमनकारी निकाय बीमा समितिकै अग्रसरतामा सुरु गरिएको कोरोना बीमा सुरु गरेकै दिनदेखि विवादमा फस्दै गयो । पटक पटक पोलिसी संशोधन, बीमाङ्क रकम लिने प्रक्रिया संशोधन, सुरुमा अण्डरराईटिङ नै हुँदैन भनिएको बीमामा पछि जटिल अण्डरराईटिङ प्रक्रियाहरु थपिनुले बीमितहरुले निकै ठूलो झन्झट, हण्डर र सास्ती भोग्नु पर्यो । बीमा समितिले हचुवाको भरमा कुनै कम्पनी विशेषको लहैलहैमा सुरु गरेको कोरोना बीमाले सिंगो बीमा क्षेत्र प्रभावित बनाउन पुग्यो ।

महामारीको बीमा नगर्ने बीमाको सिद्धान्त हुनुपर्नेमा जानाजान बीमा क्षेत्रलाई अप्ठेरोमा पार्ने गरी सुरु गरिएको कोरोना बीमा पोलिसी जारी गर्दा १६ लाख भन्दा बढिले उक्त पोलिसी खरिद गरेका छन् । सो मध्ये ९० हजार भन्दा बढिको फाईल बीमा दावी भुक्तानीको लागि पेश भएका छन् । सो मध्ये ६० हजार ५८७ वटा फाइल दावी भुक्तानीको लागि प्रमाणिकरण भएर बसेको अवस्था छ । बीमा पुलको तथ्याङ्क अनुसार पाँच अर्ब ८५ करोड १५ लाख रुपैयाँ दावी भुक्तानी भइसकेको अवस्था छ भने अझै करिब तीन अर्व दावी भुक्तानी गर्नुपर्ने देखिएको छ । कूल एक अर्ब हाराहारीमा बीमा शुल्क संकलन भएको कोरोना बीमाले सबै बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकारलाई भार पारेको छ ।

कोरोना बीमाले समग्र बीमा क्षेत्रमा पारेको असरका अतिरिक्त समग्र बीमा व्यवसायमा भने बृद्धि हुन पुगेको छ । कोरोना महामारीमा विश्वका कैयौं स्थानमाहरुमा बीमा व्यवसाय फस्टाउन नसकेको सन्दर्भमा नेपालमा भने औषत बृद्धिदर हासिल गर्दै व्यवसाय गर्न सफल हुनुले कोरोनाले नेपाली बीमा कम्पनीहरुमा न्यून प्रभाव पारेको ति बीमा कम्पनीहरुले प्रकाशन गरेका वित्तीय विवरणहरु तथा वित्तीय विवरणमा उल्लेखित कूल बीमा शुल्क आर्जन तथा मुनाफाबाट प्रष्ट हुन आएको छ । कोरोना बीमाले बद्नाम र तनावग्रस्त रहेको बीमा क्षेत्रमा कोरोना महामारीकै बीमा पनि बीमाको पहुँच बृद्धि गर्न सफल हुनुलाई कालो बादलभित्र चाँदीको घेरा देखिएको रुपमा हेर्न सकिन्छ ।

जो होस्, हिजोबाट २०७७ साल विदा भएसँगै कोरोना बीमा जस्ता बीमा क्षेत्रलाई बद्नाम गर्ने, बीमाप्रतिको विश्वासमा संकट उत्पन्न गराउने कार्य कही कतैबाट नदोहोरियोस् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*