बीमा कम्पनीका कर्मचारी पास नलिई बाहिर निस्कन नपाउने, प्रत्येक कम्पनीलाई १५ वटा पासको व्यवस्था

२२ बैशाख २०७८, बुधबार १८:४६

काठमाडौं । कोरोना महामारीका कारण राजधानी काठमाडौंमा सवारी साधनको आवागमन थप कडाई हुने भएको छ । भोलिदेखि बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुले सम्बन्धित निकायबाट जारी गरिएको पास लिएर मात्रै बाहिर निस्कन पाउने व्यवस्था गरिएको छ ।

बैंकहरुलाई नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरुलाई बीमा समितिले पास उपलब्ध गराउनेछ । बीमा समितिका अनुसार राजधानीभत्रका बीमा कम्पनीहरुलाई प्रति कम्पनी १५ वटाका दरले पास उपलब्ध हुनेछ । सोही १५ वटा पासले आलोपालो विधिबाट बीमा कम्पनीहरु सुचारु राख्नुपर्ने व्यवस्था गरिएको बीमा समितिले जनाएको छ ।

बीमा कम्पनीहरुलाई बीमा समितिले पास उपलब्ध गराउन सुरु गरिसकेकोले भोलिबाट बीमा कम्पनीहरुका कार्यालय खुल्ला गर्न कुनै समस्या नहुने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा पोष्टलाई जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुखहरुको आज बसेको बैठकले थप निर्णयहरु गर्दै जारी निषेधाज्ञा पूर्ण रुपमा लकडाउनमो अवस्थामा लैजाने निर्णय गरेको छ । उक्त निर्णयहरु भोलि अर्थात बैशाख २३ गतेदेखि लागू हुने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुखहरुको आज बसेको बैठकले थप निर्णयहरु

१। अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरु एक चौथाई कर्मचारी मात्रै उपस्थित हुने गरी संचालन गर्ने ।

२। सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्धारा जारी गरेको सवारी पास वा परिचयपत्रका आधारमा आवत जावत गर्न दिने ।

३। बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकाको हकमा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाउने । सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने ।

४। बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सिमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने ।

५। अत्यावश्यक कार्य, विरामी, कुरुवा, मृत्यू संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने ।

६। विकास निर्माणका आयोजनाहरुले नै आवाशीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गरी कार्य संचालन गर्ने गराउने ।

७। अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म मात्र खुल्ला गर्ने ।

८। पत्रकार तथा संचारकर्मीलाई सुचना विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने । सुचना विभागको प्रेस पास नभएका संचारकर्मी कर्मचारीको हकमा सम्बन्धित संचार गृहहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने ।

९। फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा संचालन हुने विभिन्न व्यापार व्यवासय संचालन एवम् कवाडी संकलन रोक लगाउने ।

१०। उपत्यका बाहिर जानको लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने ।

११। यसअघि जारी गरिएका सम्पूर्ण सवारी पास खारेज गर्ने । अति आवश्यक अवस्थामा बाहेक जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी नगर्ने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*