कमिशन रोकिएपछि बीमा समितिविरुद्ध अभिकर्ता स्तब्ध, महामारीमा हजारौं अभिकर्ता बेखर्ची

३१ बैशाख २०७८, शुक्रबार १३:२२

काठमाडौं । बीमा कम्पनीहरुमा सुक्ष्म हस्तक्षेप गर्दै अघि बढेको बीमा समितिका कारण हजारौं बीमा अभिकर्ताहरु कोरोना महामारीको समयमा बेखर्ची भएपछि बीमा समितिविरुद्धमा स्तब्ध बनेका छन् ।

बीमा व्यवसायको क्रममा बीमा कम्पनीहरुबाट ऋण लिएका अभिकर्ताहरुको कमिशन रोकिएपछि बेचर्खी बनेका हुन् । कोरोना महामारीमा बीमा समितिले अमानवीय र गैर जिम्मेवार व्यवहार देखाएको भन्दै बीमा अभिकर्ताहरु स्तब्ध र आक्रोसित बनेका हुन् ।

बीमा समितिले बैशाख २ गते सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै बीमा अभिकर्ताहरुलाई दिइएको ऋण २०७८ साल असार मसान्तभित्र असुल आदेश दिएको थियो । उक्त आदेशसँगै नेपालमा सञ्चालित १९ वटै जीवन बीमा कम्पनीहरुले ऋण लिएका अभिकर्ताहरुलाई कमिशन भुक्तानी रोकेका छन् । मासिक अर्ब रुपैयाँ भन्दा बढि कमिशन देशभरमा रहेका ५० हजार भन्दा बढि अभिकर्ताको खातामा जान बन्द भएको जनाइएको छ ।

सिनियर एजेन्सी, एजेन्सी म्यानेजर तथा तल्लो तहका अभिकर्ताहरुले बीमा कम्पनीहरुबाट रकम आउन बन्द भएकोले बेखर्ची भएको गुनासो गरेका छन् । बीमा कम्पनीहरुले निश्चित समयअवधी काम गरिसकेका, नियमित रुपमा टार्गेट पुर्याउन सफल कर्मचारीहरुलाई सवारी साधन सुविधाको लागि ऋण प्रवाह गरेका थिए ।

बीमा समितिले यही बैशाख महिनामा दुई पटक बीमा अभिकर्ताका विरुद्धमा कम्पनीहरुलाई निर्देशन जारी गरिसकेको छ । बैशाख ३ गते जारी सर्कुलर बीमा समितिले जारी गरेको ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ को दफा ४९ (ख) मा रहेको व्यवस्थाको बिपरित छ ।

आफ्नै निर्देशिका विपरित गएर बीमा समितिले जारी गरेको निर्देशनका कारण बीमा कम्पनीहरुले आफ्नो कमिशन रोकेको बीमा अभिकर्ताहरुले गुनासो गरेका छन् । बीमा समितिले पर्याप्त अध्ययन नगरी हचुवाको भरमा बीमा अभिकर्ताहरु कोरोना महामारीको समयमा भोकभोकै मर्ने अवस्था सिर्जना भएको अभिकर्ताहरुको गुनासो छ ।

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिको निर्णय अमानवीय भएको गुनासो गरेका छन् । उनले भने, ‘कोरोना महामारी छ, लाखौं रुपैयाँ ऋण तीन महिनामा तिर्नु भन्ने निर्देशन गलत छ ।’ उनले बीमा समितिले हिजोका दिनमा ऋण लिन छुट दिएको थियो, आज एकै दिन उठाउ भनेर सबै खाता बन्द गर्ने कार्य कुनै पनि हिसाबले जायज र उपयुक्त मान्न नसकिने बताए ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका तीन पटक नेपाल टप एजेन्सी शंकर लामिछाने अशान्तले बीमा समितिको निर्णयले अभिकर्ताहरु आत्महत्या गर्न बाध्य हुने चेतावनी दिँदै भने, ‘बीमा समितिले हचुवाको भरमा कपोकल्पिक सूचनाको आधारमा अभिकर्ताको घाँटी रेट्ने काम गरेको छ । यसले हजारौं अभिकर्ताहरु घरखेत बिक्री गरेर पेशा छोड्नुपर्ने अवस्था आएको छ ।

उनले असार मसान्तसम्ममा अभिकर्ताहरुले कुनै पनि हालतमा ऋण तिर्न नसक्ने भएकोले उक्त निर्देशन तत्काल फिर्ता लिनुपर्ने बताए । बीमा समितिको निर्णयले देशैभरिका हजारौं अधिकर्ताहरु स्तब्ध भएको बताउँदै लामिछानेले तत्काल उक्त निर्णय फिर्ता नभए नेपाली बीमा क्षेत्रले अपुरणीय क्षति व्यहार्दै ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

बीमा समितिको निर्णय परिपक्व नभई अभिकर्ताको मर्का नबुझी दुःख दिने खालको भएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर राजु साहको गुनासो छ । कोरोना महामारीमा बीमा समितिको निर्देशनकै भरमा अभिकर्ताको कमिशन रोक्नु साहले बीमा समितिले अभिकर्तालाई यो पेशाबाट मनसायले प्रभावित भएको बताए । बीमा समितिले अभिकर्ताको मर्का र पीडा सुन्नुपर्ने साहको सुझाव छ । उनले भने, ‘कोरोना महामारी छ, अभिकर्ताको पैसा खाताबाट सिधैं ऋणमा कट्टा गर्न पठाइएको छ, यसले अभिकर्तामाथि ठूलो अन्याय भएको छ ।’ बीमा समितिको उक्त निर्णय तत्काल फिर्ता नभए सबै अभिकर्ताहरु एकजुट हुन आह्वान गरेका छन् ।

उता, बीमा समितिले भने कुनै पनि बीमा कम्पनीले ऋण दिन नपाउने र ऋणको नाममा धेरै गलत भएकोले असार मसान्तसम्म ऋण असुल गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको जनाएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा सम्बन्धी कानुनमा कतै नभएको अभिकर्तालाई ऋण दिइएकोले बीमा अभिकर्ताहरुले लिएको ऋण असार मसान्तभित्रैमा भुक्तानी गर्नुपर्ने बताए ।

बीमा समिति असार मसान्तसम्मको प्रगति हेरेर एक महिनासम्म ऋण भुक्तानी गर्न म्याद थप गर्ने पक्षमा रहेको देखिएको छ । तर, बीमा अभिकर्ताहरुले भने कोरोना महामारीमा अभिकर्ताको खाता रोकेर बीमा समितिले अभिकर्ताको गाँस बन्द गरेको आरोप लगाउँदै आएका छन् ।

जीवन बीमा क्षेत्रमा कार्यरत करिब ५० हजार अभिकर्ताले विभिन्न कम्पनीहरुबाट ३८ अर्ब रुपैयाँ भन्दा बढि ऋण लिएका छन् । सर्वसाधारणको बचतको दुरुपयोग रोक्ने नाममा बीमा कम्पनीमा बीमित र बीमक दुवैका लागि काम गर्ने अभिकर्ताहरुले ऋण लिन पाउने कि नपाउने त्यो बहसमै छ।

तर, हिजोको कानुनले जायज मानेर बीमा कम्पनीहरुले जारी गरेको अर्बौ रुपैयाँ ऋण तीन महिनामा उठाउन खोज्दा बीमा अभिकर्ताको दैनिकी नै भताभुंग भई सिंगो बीमा क्षेत्र तहसनहस हुनेतर्फ सम्बन्धित निकायको ध्यान जानैपर्छ ।

One thought on “कमिशन रोकिएपछि बीमा समितिविरुद्ध अभिकर्ता स्तब्ध, महामारीमा हजारौं अभिकर्ता बेखर्ची

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*