बीमा व्यवसायमा हुडलो मच्चाउने अध्यक्ष सिलवालको दुस्प्रयास

नबराज न्यौपाने
२७ जेष्ठ २०७८, बिहीबार ०८:४२

समाचार टिप्पणी

बीमा समितिले हिजो गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ ले संगठित संस्थाले समेत बीमा अभिकर्ताको कोड लिएर बीमा व्यवसाय गर्न पाउने व्यवस्था खुल्ल गरेको छ । नेपाली बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिबाट मंगलबार एकै दिन दुई निर्देशिका जारी भएका छन् । बुधबार जारी भएका दुई निर्देशिकाले नेपालको बीमा व्यवसायमा हलचल मच्चिन पुगेको छ ।

नेपाली बीमा क्षेत्रलाई उथप पुथल पार्ने क्रममा बीमा समितिले गरेको यो पहिलो निर्णय होइन । २०७७ साल माघ १९ गते मन्त्रिपरिषदबाट बीमा समितिको अध्यक्ष पदमा नियुक्त भएर आएदेखि सूर्य प्रसाद सिलवालले बीमा व्यवसायको चेन अफ कमाण्ड भत्काउने र हुडलो मच्चाउने गरी गरेको श्रृंखलाबद्ध निर्णयको एउटा अर्को अध्याय थियो हिजोको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका । अध्यक्ष सिलवालले राज्यको अर्बौ रुपैयाँ लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीलाई धरासायी बनाउने गरी विधि, प्रक्रिया र नैतिकतालाई धरौटी राखेरै भएपनि हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिएरै छोडे । कोरोना महामारीमा सरकारले घोषणा गरेको निषेधाज्ञा अवधीलाई सर्वोच्च अदालतले समेत शून्य समयको रुपमा तोकेको छ । यस्तो अवस्थामा अत्यावश्यक बाहेकका खरिद कार्य अनैतिक हो ।

तर, बीमा समितिले सवैले भाग लिन नआउन् भन्ने नियत राखेर निषेधाज्ञा घोषणा भएपछि गत बैशाख १६ गते पुनर्बीमा कम्पनी दर्ताको लागि २१ दिने सूचना जारी गर्यो । निषेधाज्ञाकै बीचमा बीमा समिति खोलेर हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने निर्णय गरियो । बीमा समितिलाई यति धेरै किन हतारो थियो लाइसेन्स दिन ? कोरोना महामारीका बीचमा नयाँ पुनर्बीमा कम्पनीलार्ई लाइसेन्स दिँदा कति मानिसको जीवन जोगिने थियो ? वा राज्यलाई अर्बौ रुपैयाँ घाटा लाग्ने कुनै कारण पो थिए कि ? प्रतिस्पर्धा स्वतन्त्र होस्, बढिभन्दा बढिको सहभागिता होस् भन्ने चाहेको भएपनि निषेधाज्ञा खुलेपछि पुनर्बीमा कम्पनी दर्ता गर्दा के बिग्रने थियो ? गतल मनसाय, सिंहदरवारमा ३० वर्षसम्म काम गर्दा आर्जन भ्रष्ट मानसिकता बोकेको नेपाल सरकारका पूर्व सचिव सूर्य प्रसाद सिलवाललाई निषेधाज्ञाकै अवधीमा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स नदिई भएन । रोचक कुरा त के छ भने हिमालयन रि इन्स्योरेन्सलाई लाइसेन्स दिन कोरोना पोजेटिभ भएर आराम गरिरहेका एक जना सञ्चालकलाई बीमा समितिमा उपस्थित गराएर निर्णयमा हस्ताक्षर गर्न लगाएका थिए ।

बीमा अभिकर्ताहरुले बीमा कम्पनीहरुबाट लिएको ऋणको सम्बन्धमा बीमा समितिले गरेको सतही निर्णयका विरुद्धमा बीमा अभिकर्ताहरु आन्दोलित भइरहेको अवस्था छ । एकाध बीमा अभिकर्ताहरुले बीमा कम्पनीका व्यवस्थानसँग मिलेर करोडौं रुपैया ऋण लिएर घोटाला गरेको विषयलाई घटना विशेषमा जोडिएका दोषीहरुलाई कारवाहीको दायरामा ल्याउनुको साटो सिंगो बीमा अभिकर्तालाई प्रभावित हुने गरी निर्णय गरेका थिए । बैशाख २ गतेको निर्णय कुनै पनि हालतमा नमान्ने बीमा अभिकर्ताहरुले बताउँदै आएका छन् । बीमा समितिको उक्त निर्णयले हजारौं बीमा अभिकर्ताले कोरोना महामारीको समयमा आफ्नो खातामा रकम प्राप्त गर्न सकेनन् ।

पछिल्लो पटक संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका बीमा समितिबाट जारी हुनुले बीमा क्षेत्रमा माफियाको औपचारिक रुपमा प्रवेश भएको छ । बीमा समितिका अध्यक्ष सिलवालको व्यक्तिगत इच्छा, रहर आग्रह पूरा गर्न बीमा समिति प्रशासन र बीमा समिति सञ्चालक समितिले गरेको यो निर्णय नेपालको बीमा व्यवसायको समृद्धिका लागि दुर्भाग्यपूर्ण छ । यसले बीमा अभिकर्ताको रोजीरोटी मात्रै खोस्दैन, नेपालको जीवन बीमा व्यवसायमा कालोधनको प्रवेशलाई सहज बनाउने छ भने संस्थागत बीमा अभिकर्ता सम्बन्धी व्यवस्थाले व्यवसायिक जीवन बीमा व्यवसायको चेन अफ कमाण्ड भत्काउनेछ । नयाँ व्यवस्थाले जीवन बीमा अभिकर्ता व्यवसायलाई श्रमजीवी मजदुर बर्गको हातबाट खोसेर ठूला कम्पनी र माफियाका हातमा पुग्ने निश्चित छ । यस्तो दुरगामी असर पार्ने निर्णय बीमा समितिले सरोकारवालासँग छलफल नगरी एकफर्ती रुपमा कोरोना महामारीकै समयमा लाद्नुले बीमा समितिको नियतमाथि प्रश्न चिन्ह उठेको छ ।

………………….00-00………………….

बीमा अभिकर्ता, कर्मचारी तथा बीमा कम्पनीका संस्थापकहरु, जसले नेपाली जीवन बीमा व्यवसायलाई आजको अवस्थामा ल्याइपुर्याउन भूमिका निर्वाह गरे, अहोरात्र खटिए, आज महामारीमा परेर मृत्युवरण गरेका छन् । ति होनाहार बीमाकर्मीहरुप्रति श्रद्धान्जलीका एक शब्द व्यक्त नगर्ने बीमा समिति यही शोक, आहत र महामारीको समयलाई मौकाको रुपमा लिँदै हठात निर्णयहरु गर्दै अघि बढिरहेको छ ।

………………….00-00………………….

कोरोना महामारीका कारण नेपाली बीमा क्षेत्र यतिबेला स्तब्ध छ । हालसम्म प्राप्त तथ्याङ्क अनुसार २२ जना बीमा अभिकर्ता र चार जना कर्र्मचारीसहित कूल २६ जनाको निधन भइसकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका विरुद्धमा जीवन हत्केलामा राखेर संघर्ष गर्दै आएका बीमा अभिकर्तालाई उत्साह दिनुको साटो हतोत्साही बनाउने बीमा समितिको कार्यलाई मानवता विरोधी अपराधको संज्ञा दिँदा अत्युक्ती हुँदैन । बीमा अभिकर्ता, कर्मचारी तथा बीमा कम्पनीका संस्थापकहरु, जसले नेपाली जीवन बीमा व्यवसायलाई आजको अवस्थामा ल्याइपुर्याउन भूमिका निर्वाह गरे, अहोरात्र खटिए, आज महामारीमा परेर मृत्युवरण गरेका छन् । ति होनाहार बीमाकर्मीहरुप्रति श्रद्धान्जलीका एक शब्द व्यक्त नगर्ने बीमा समिति यही शोक, आहत र महामारीको समयलाई मौकाको रुपमा लिँदै हठात निर्णयहरु गर्दै अघि बढिरहेको छ । सरकारी लगानीको पुनर्बीमा व्यवसाय धरासायी बनाउन नयाँ पुनर्बीमा कम्पनी थपिदैछ । सिंगो बीमा व्यवसायको चेन अफ कमाण्ड भत्काउनु, बीमा व्यवसायलाई हुडल्ने प्रयत्नमा बीमा समिति आफै संलग्न हुनपुग्नु यो भन्दा बिडम्वना र दूर्भाग्यपूर्ण अरु के हुन सक्दछ ?

कोर बीमा क्षेत्रको सुक्ष्म ज्ञान भई बीमा क्षेत्रमा सकारात्मक सुधार गर्ने लक्ष्य लिएर बीमा समितिको अध्यक्ष बन्न सूर्य प्रसाद सिलवाल बीमा समिति आएका होइनन् भन्ने स्पष्ट हुन आएको छ । संस्थागत र दीगो विकास नगर्ने, नियोजित र निश्चित काम गर्ने र उद्देश्य पूरा भएपछि राजिनामा दिएर भाग्ने नियतसाथ बीमा समितिमा छिरेका होइनन् भने सूर्य प्रसाद सिलवालले अनैतिक, गैर कानुनी कार्य तत्काल बन्द गर्नुर्दछ । हिजो बजारमा चर्चा थियो, अबौं रुपैयाँ घुस सेटिङमा पुनर्बीमा कम्पनी दर्ता हुँदैछ भन्ने, आज त्यो अप्रिय चर्चा सत्यमा बदलिएको छ । अझै बजारमा हल्ला छ, सूर्य प्रसाद सिलवाल सेटिङमा लघुबीमा कम्पनी दर्ता गर्दैछन्, सूर्य प्रसाद सिलवाल नयाँ जीवन बीमा र निर्जिवन बीमा कम्पनी थप्दैछन् भन्ने । यदि त्यसो हो भने, नेपाली बीमा बजार २० वर्ष पछाडि धकेलिने छ र सिंगो बीमा व्यवसाय ध्वस्त हुनेछ ।


हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने निर्णय, बीमा अभिकर्ताको ऋण बन्द गर्ने निर्णय, अहिलेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्णयहरुमा बीमा समितिका अध्यक्ष सिलवाल मात्रै सहभागी छैनन्, साक्षी किनारमा हस्ताक्षर गर्ने बीमा समितिका कर्मचारी, बीमा समितिको सञ्चालक समितिका सदस्यहरु समेतको सहभागिता छ । भोलि कठघरामा उभिनुपर्ने दिन आएको खण्डमा सूर्य सिलवाल मात्रै कठघरामा उभिने छैनन, आज साक्षी किनारामा चुपचाप हस्ताक्षर गर्नेहरु सबै उभिनुपर्नेछ । इतिहास साक्षी छ, नेपाल पर्यटन बोर्डमा भएको भ्रष्टाचार काण्डमा तत्कालिन सिइओ सुवास निरौला मात्रै मुछिएनन्, उनीसँगै २३ जनामाथि भ्रष्टाचारको अभियोगमा कठघरामा उभिनु पर्यो । त्यस्तै फुटबल सम्बन्धी संस्था एन्फामा अध्यक्ष गणेश थापा मात्रै होइन, उनीसँगै धेरै मानिसहरुले कठघरामा उभिनुपर्यो ।

प्रधानमन्त्री ओलीसँग पहुँच राख्न सफल भएकै कारण सूर्य प्रसाद सिलवाल चार वर्षका लागि बीमा समितिमा अध्यक्ष पदमा नियुक्त भएर आएका हुन् । उनी पूर्व सचिव भएपनि उनको यो नियुक्ती विशुद्ध राजनीति हो । उनलाई मन लागुन्जेल काम गर्दछन्, मन नलागे छोडेर हिड्न स्वतन्त्र छन् । देशको अर्थतन्त्रको ब्याक बोनको रुपमा रहेको बीमा क्षेत्रमा अलिकति मात्रै पनि तलमाथि भयो भने सिंगो देशको अर्थतन्त्र धर्मराउन पुग्दछ । देशको अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने बीमा व्यवसायको चेन अफ कमाण्ड भत्काउने, हुडलो मच्चाउने र माफियाको लागि काम हुने अवस्थाको अन्त्यको लागि सिंगो नेपाली बीमा क्षेत्र एकजुट हुन ढिलाई भएमा सबैले पछुताउने अवस्था आउनेछ ।

3 thoughts on “बीमा व्यवसायमा हुडलो मच्चाउने अध्यक्ष सिलवालको दुस्प्रयास

  1. कृष्ण प्रसाद आचार्य, पेशागत बिमा अभिकर्ता संघ के सदस्य, बिमक ब उपाध्यक्ष says:

    सहि, सत्य समाचार,,,,, बिमितको हितलाई पन्रछाउदै बेरोजार मुलुकका स्वरोजगार अभिकर्तालाइ सकेर माफिया र पुजिपतिलाइ मात्र पोस्ने काम गरेका सिलवालको दिन राम्रा नरहने भए,, ख्याल रहोस।।।

  2. shyam shrestha says:

    सहि समाचार उजागर गरिदिएकोमा धन्यवाद छ।यो सिल्वाल पक्कै पनि राम्रो नियतका साथ यश क्षत्रमा आको हैन यो भ्रष्टाचार गर्न लाई नै ओलिको आसेपासे बनेर ७० करोड को घोटाला झै गर्ने गरि आका हुन यस्लाइ पत्ता साफ गराउनै पर्छ।

  3. Yadunanda Bhandari says:

    Yas bisayma bigya man6eko khacho chha.

Leave a Reply to Yadunanda Bhandari Cancel reply

Your email address will not be published. Required fields are marked *


*