मेलम्चीमा ज्वालामुखी विस्फोट भएकै हो? नदिमा बगिरहेको लेदोको स्रोतबारे अनेक आशंका

५ असार २०७८, शनिबार १४:५५

काठमाडौं । राजधानीबाट नजिकै मेलम्ची नदिमा चार दिनदेखि लगातार बाढी आउने क्रम जारी छ । रोचक कुरा के छ भने गत मंगलबारदेखि बगेको लेदो पाँचौ दिनसम्म पनि आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म (शनिबार अपरान्ह) सम्म नदिमा लेदो बगिरहेको छ । साथै शुक्रबार साँझदेखि पानीको वहाव समेत बढेको छ ।

स्थानीयबासीले मेलम्ची खानेपानीको ड्यामसाइडदेखि माथितिर कतै ज्वालामुखी बिस्फोटको अनुमान गरेपनि स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन । ज्वालामुखी विस्फोटको सम्भावना भने कम भएको अधिकारीहरुले जनाएका छन् । चनौटेभन्ने स्थानदेखि मेलम्ची भन्दा चार किमी तल करिब १२ किमी लामो क्षेत्रमा नदिको दायाबाया तीन मिटरदेखि १२ मिटरसम्मको जमिन पुरिएकोले ठूलो मात्रामा लेदो बगेको छ । पानी बग्ने नदिमा बाक्लो लेदो मात्रै बगेको देखिएबाट घटना झनै रहस्यमय बनेको छ । मेलम्ची नदिमा ढुंगा नभई माटो जस्तो बालुवासहितको कहिले सेतो र त कहिले कालो माटोको लेदो बगिरहेको छ । जल तथा मौषम विज्ञान विभागले औसतभन्दा पानी बढि परेको कुनै रिपोर्ट सार्वजनिक गरेको छैन, तर मेलम्ची नदिमा आएको लेदोसहितको बाढीको प्रकोप अझै न्यून हुन सकेको छैन । लगातारको बाढीका कारण उद्धार तथा राहत वितरण प्रभावित भएको छ ।

स्थानीयबासीले उक्त लेदोको स्रोत के हो ? भनेर बारम्वार सोधखोज गर्दा समेत कसैले जवाफ नदिएको घटनास्थलबाट सूर्य श्रेष्ठले जानकारी दिए । पाँचौ दिन आज विहानदेखि नदिमा पानीको सतह झनै बढेको जानकारी दिएका छन् । आजदेखि कालो माटोसहितको केही पातलो लेदो बगिरहेको छ । सिन्धुपोकका पत्रकार सिके चौलागाईले ज्वालामुखी विस्फोट भएको हुनसक्ने सूचनाहरु प्राप्त भएको तर यकिन कुनै जानकारी नआएको बताए । उनका अनुसार खराव मौषम र बाढीका कारण सर्वसाधारण मानिसहरु पैदल वा सवारी साधनमा नदिको माथिल्लो क्षेत्रमा अवलोकनका लागि जाने स्थिति नभएको जानकारी दिए ।

घटना घटेको भोलिपल्ट गत बुधबार शिक्षा मन्त्री शेर बहादुर तामाङको टोलीले हवाई दृष्यमा नदिमा पहिरो गएको दृष्य देखिएको भन्दै सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका थिए । तर, स्थानीयबासी तथा भुक्तभोगीहरु २।४ वटा पहिरोका कारण सिंगो बस्ती खेत पुरिन सम्भव नभएको सुनाउँछन् । स्थानीयबासीले हिमताल फुटेको वा ज्वालामुखी गएको दुई मध्ये एक हुनुपर्ने ठोकुवा गर्दै आएका छन् ।

सो सम्बन्धमा बीमापोष्टले केही जानकारी संकलन गर्ने प्रयास गरेको छ । खानी तथा भुगर्भ विभागका बरिष्ठ भुगर्भविद शिव कुमार बाँस्कोटा पनि मेलम्ची नदिमा बगेको लेदोको स्रोत यही नै हो भनेर अहिले नै भन्न नसकिने बताउँछन् । खानी तथा भुगर्भ विभागका भौगर्भिक म्यापिङ शाखाका प्रमुख बास्कोटोले मेलम्ची नदिमा धेरै वटा पहिरो जाँदा नदिले दुवै तर्फको भागहरुलाई कटान गर्दै तलतिर धेरै नै माटो ल्याएको हुनसक्ने बताए । साथै मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको क्रममा नदि आसपासमा ठूलो मात्रामा माटोहरु थुपारिएकोले सोही माटो समेत बगेर आएको हुनसक्ने जानकारी दिए ।

तर, मेलम्चीमा चारदिनसम्म बगेको लेदो पाँच करोड घनमिटर भन्दा बढि देखिन्छ । भुगर्भविद बास्कोटा यति ठूलो परिमाणमा आएको लेदोको स्रोत स्थानीय नदिमा आएको पहिरोलाई मात्रै मान्न तयार छैनन् । सुरुङ खनेर निकालिएको माटोले समेत १० चनौटेदेखि बाहुनपाटीसम्मको १२ किमी लामो क्षेत्रमा १० मिटरसम्म माथि पुर्नलाई असम्भव रहेको स्वीकार गर्दछन् । उसो भए, मेलम्ची नदिमा बगेको लेदोको स्रोत के हो त ? मेलम्ची नदिभन्दा माथि जोखिममा रहेका हिमताल समेत नरहेकोले ज्वालामुखी विस्टोट हुनसक्छ ? भन्ने प्रश्नमा भुगर्भविद बाँस्कोटा नेपाल ज्वालामुखी विस्फोट हुने क्षेत्रमा नपर्ने बताउँदै सो सम्बन्धमा थप अध्ययनपछि मात्रै केही बताउन सक्ने जानकारी दिए । बीमापोष्टसँग उनले भने, ‘मैले पनि मेलम्चीमा बगेको लेदोको भिडियो हेरे, यति ठूलो मात्रामा लेदोको स्रोत पहिरोलाई मात्रै मान्न त सकिदैन, यथार्थ के हो भनेर विस्तृत अध्ययन पछि मात्रै केही भन्न सकिन्छ ।’

मेलम्ची नदिमा थुप्रिएको लेदोका लागि यसअघि सिन्धुपाल्चोककै जुरेमा गएको जस्ता १० वटा पहिरो जानु पर्दछ । जुरेमा गएको पहिरोमा ६० लाख घनमिटर ढुंगामाटो तल खसेको अनुमान गरिएको थियो । एकै पटक जुरेमा गएका जस्ता १० वटा पहिरो जान सामान्यता असम्भव नै छ । जुरेको पहिरोपछि कोरियन इन्जिनिरिङ विश्व विद्यालयका अनुसन्धानकर्ता त्रिदेव आचार्य, एससी मैनालीसहितले गरेको अनुसन्धानको क्रममा जुरेको पहिरो खुलेपछि तल्लो तटीय क्षेत्रमा ठूलो असर पुर्याएको थिएन । सामान्यतया जमिनमा पहिरो जाँदा ढुंगा माटो सबै मिलाएर ल्याउनुपर्नेमा मेलम्ची नदिमा अहिले बगेको लेदोमा जमिन बाहिर पाइने ठूलो ढुंगा तथा अन्य बस्तुहरु संलग्न भएको पाइदैन । त्यसैले पनि मेलम्ची बाढी थप शंकाको घेरामा छ ।

ज्वालामुखीको सम्भावना छ ?
ज्वालामुखी धेरै प्रकारका हुन्छन् । ज्वालामुखीबाट हिम पहिरो जाने, आगोको मुस्लो सहितका बस्तुहरु बाहिर निस्कने, ग्याँस बाहिर निस्कने र हिलो–लेदो निस्कने, लाभा निस्कने खालका हुन्छन् । विश्वका ८६ देशमा ज्वालामुखीको सम्भावना छ । हालसम्म १५०८ वटा ज्वालामुखी सक्रिया भएको त्रिभुवन विश्व विद्यालयका अनुसन्धानदाता क्षितिज पौडेलको रिपोर्टमा उल्लेख छ ।

नेपालमा ज्वालामुखीको सम्भावना नभएको देश मानिन्छ । त्रिभुवन विश्व विद्यालय, थापाथलीस्थित इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत क्षितिज पौडेलले नेपालको भु बनोट प्लेट टु प्लेट जोडिएर बनेकोले ज्वालामुखीको लाभा बन्न नसक्ने भएकोले त्यस्तो सम्भावना कम भएको उल्लेख गरेका छन् । नेपालबाट सबैभन्दा नजिकको ज्वालामुखी उत्तर तर्फ चीनमा पर्दछ, जुन नेपालबाट ९०० किमी टाढा छ । सन् १९६१ मा चीनको कुनलुन कोन भन्ने स्थानमा विशाल ज्वालामुखी विस्फोट भएको थियो ।

ज्वालामुखीको सम्भावना नै छैन भने बगिरहेको रहेको लेदोसहितको बाढीको स्रोत के हो ? मेलम्ची पुर्ने गरी पाँच दिनदेखिको जारी बाढीको स्रोत के हो ? सुक्ष्म अनुसन्धान पश्चात मात्रै यथार्थ पत्ता लाग्ने हुँदा तत्काल अनुसन्धा सुरु गर्नेतर्फ संघीय सरकारको ध्यान जानु आवश्यक छ ।

भिडियो सौजन्यः ओम तामाङ वाईवा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*