लाइसेन्सको स्थगित ट्रायल परीक्षा आजदेखि पुनः सुचारु, नयाँ मापदण्ड अनुसार परीक्षा हुने

२० भाद्र २०७८, आईतवार १३:२९

काठमाडौं । चार महिनादेखि ठप्प रहेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षा आजदेखि सुरु भएको छ ।

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण ४ महिनादेखि लाइसेन्सको ट्रायल परीक्षा बन्द गरिएकोमा यातायात व्यवस्था विभागले आज आइतबारदेखि ट्रायल परीक्षा पुन संचालन गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्धारा भदौ १३ गते प्रकाशित सूचनामा प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीको लागि परीक्षा संचालन गरेको जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार सवारी लाइसेन्स ट्रायल परीक्षा संचालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार सुरु गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी चालक अनुमतिपत्र परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेपश्चात् यातायात व्यवस्था विभागले ४ महिनादेखि रोकिएको ट्रायल परीक्षा आजदेखि संचालनमा ल्याएको हो ।

सो मापदण्ड अुनसार ट्रायल परीक्षामा सहभागी हुने परीक्षार्थीले मापदण्डलाई पालना गर्दै अनिवार्य रुपमा स्यानिटाइजर र मास्क प्रयोग गर्नुपर्नेछ । साथै भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुपर्नेछ ।

त्यस्तै, उक्त परीक्षा सुरु हुनुअघिनै परीक्षार्थीलाई ट्रायल हुने समय मिति तोकि तोकिएको समयभित्रै परीक्षा संचालन गरिने उक्त मापदण्डमा उल्लेख गरिएको छ । साथै तोकिएको समयभित्र उपस्थित हुन नसकेमा परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा संचालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा उल्लेख छ ।

प्रयोगात्मक परीक्षाको दिन परीक्षार्थीलाई सिफ्ट र समयको जानकारी परीक्षा संचालन हुनुभन्दा कम्तिमा २४ घण्टा अगाडि उपलब्ध गराइनेछ र परीक्षामा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थीलाई मात्र सहभागी गराइने मापदण्डमा उल्लेख गरिएको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले प्रयोगात्मक परीक्षाका लागि ट्रायल सेन्टरका रुपमा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*