बीमा समितिले जनताको बीमा रकमको सुरक्षाको ग्यारेन्टी खोजेको हो : अध्यक्ष सिलवाल

२२ आश्विन २०७८, शुक्रबार १८:४७

काठमाडौं ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाहरूको परिपालना गर्न तथा बीमा व्यवसायलाई स्वच्छ एवम् पारदर्शी ढङ्गले अघि बढाउन जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई निर्देशन दिएका छन् ।

बीमा समितिले जीवन बीमासँग सम्बन्धित समस्या र समाधान’ विषयमा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूसँग हिजो काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीका सुझावहरूलाई गम्भीरतापूर्वक लिएर नियम निर्देशिका बनाई समग्र बीमा क्षेत्रको सुधारका कार्यलाई अगाडि बढाइएको बताएका हुन् ।

बीमा कम्पनीहरूमा सुशासन कायम गर्न, कारोवारलाई दुरूत तथा पारदर्शी पार्न निर्देशन दिँदै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूको लगानीमा विविधीकरण छैन, लगानीको वार्षिक योजना छैन, जनशक्तिको विकासको कार्यक्रम छैन, बीमा सचेतना जगाउने विज्ञापनको व्यवस्था छैन, समस्या धेरै भए, यसतर्फ कम्पनीका अध्यक्षको ध्यान जानु पयो र अध्यक्षहरूको भूमिका प्रभावकारी हुनु पयो ।”

बीमा कम्पनी व्यक्तिको इच्छानुसार नभई कम्पनीकै रूपमा संचालन हुनुपर्ने, खर्च पारदर्शी हुनुपर्ने र बीमा अभिकर्ताको कामको अनुगमन गर्नुपर्नेतर्फ कम्पनीका अध्यक्षहरूको ध्यानाकर्षण गर्दैै अध्यक्ष सिलवालले कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले कम्पनी कसरी चलाएका छन्, बीमा समितिका निर्देशनहरूको परिपालना भएका छन् कि छैनन्, नयाँ नयाँ बीमालेख ल्याउने र लगानी विविधीकरण गर्नेतर्फ के भएका छन् भन्ने कुराको अनुगमन, रेखदेख र नियन्त्रण गरी कम्पनीमा थिति बसाल्न निर्देशन दिएका छन् ।

अध्यक्ष सिलवालले बीमा कम्पनीका कुनै समस्या भए बीमा समितिले समाधान गर्ने उल्लेख गर्दै जनताको बीमा रकमको सुरक्षाको ग्यारेन्टी समितिले खोजेको बताउनुभयो। कार्यक्रममा ‘जीवन बीमासँग सम्बन्धित समस्या र समाधान’ विषयमा प्रस्तुती गदै बीमा समितिका “ कार्यकारी निर्देशक राजुरमण पौडेलले विश्वव्यापी कारोना भाइरसको महामारीका बीचमा पनि नेपालको जीवन बीमा क्षेत्रले केही गति लिएको देखिए पनि धेरै समस्याहरू रहेको बताएका छन् ।

उनले जीवन बीमा कम्पनीहरूको आन्तरिक कार्यविधि गुणस्तरीय नभएको, बीमाङ्कीय मूल्याङ्कन समयमै गराई वित्तीय विवरण समितिमा स्वीकृतिका लागि पेश नगरेको, यथार्थ जोखिमाङ्कन नगरी बीमालेख जारी हुने गरेको, लगानी निर्देशिका बमोजिम लगानी नभएको, पूर्वाधार लगायतका तोकिएका क्षेत्रमा लगानी नभई बैङ्कका मुद्दती निक्षेपमा लगानी केन्द्रित भएको, शेयर लगानी अपारदर्शी रहेको, खरीद प्रक्रिया पारदर्शी एवम् व्यवस्थित नदेखिएको, बीमितलाई छिटो छरितोरूपमा दाबी भुक्तानी नगरेको र बीमकमा सरेण्डर तथा ल्याप्स रेसियो दिनानुदिन बढिरहेको लगायतका समस्याहरू रहेको उल्लेख गरे ।

कार्यकारी निर्देशक पौडेलले लगानी विविधीकरण गर्न, नयाँ नयाँ बीमालेख ल्याउन, सुशासन कायम गर्न, क्रस होल्डिङ्ग भई लगानी भएकाहरूलाई तुरून्त तोकिएको सीमाभित्र बस्न, स्वःइच्छाले मर्जरमा जाने वातावरण तयार गर्न, वित्तीय पारदर्शिता कायम गर्न र समयमै साधारण सभा गर्न सुझाव दिँदै कम्पनीका समस्याको समाधानका लागि संचालक समितिका अध्यक्षहरू नै अग्रसर हुनुपर्ने बताएका छन् ।अधिकारीले देशमा रेमिटेन्स भित्र्याउनेहरूलाई लक्षित गरी बीमालेख ल्याउन आगश्यक कार्य अघि बढाइने र मोटर बीमामा २०० सीसी को प्रावधान हटाउन सकिने जानकारी दिए ।

बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत पदमा मास्टर्स डिग्री वा अनुभवका आधारमा चार्टर्ड एकाउन्टेन्ट वा ग्य्राजुएसन गरेकालाई पनि नियुक्ती गर्न सकिने बताए । कार्यक्रममा सहभागी जीवन बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूले बीमा समितिले औंल्याएका समस्याहरूको समाधान गर्ने तत्परता व्यक्त गर्दै लगानीको दायरा फराकिलो बनाउन, बीमा सम्बन्धी नीति, नियम रनिर्देशिकाको समयानुकूल परिमार्जन गर्न, टिकटको व्यवस्था हटाउन, उधारो बीमा गर्न नपाउने व्यवस्थालाई नवीकरणमा पनि लागू गर्न कुरामा जोड दिएका थिए ।

साथै बोनस दरमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि हस्तक्षेपकारी नीति ल्याउन, बैङ्कसँगको साझेदारीमा लगानी गर्न पाउने व्यवस्था गर्न, करको दायरामा नपर्ने बर्गलाई पनि बीमामा आकर्षित गर्ने व्यवस्था गर्न, कर छूटको दायरा बढाउनका लागि पहल गरिदिन, बीमा क्षेत्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादनका लागि बीमा समितिको अग्रसरतामा बीमा कलेज जस्ता शैक्षिक प्रतिष्ठान स्थापना गर्न बीमा समितिलाई सुझाव दिए । कार्यक्रममा बीमा कम्पनीहरुका संचालक समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*