बीमा समिति कमजोर बन्दा संस्थागत सुशासनको खिल्ली, सिईओ र डिसिईओहरु भटाभट कम्पनी चहार्दै

रिना खत्री
१६ कार्तिक २०७८, मंगलवार १६:१६

काठमाडौं । बीमा समितिले प्रभावकारी नियमन गर्न नसक्दा बीमा क्षेत्रमा कैयौं विकृत्तिहरु मौलाइरहेका छन् । यसैमध्येको एक बनेको छ, संस्थागत सुशासन सम्बन्धी निर्देशिका । सो निर्देशिका अनुसार कुनै पनि बीमा कम्पनीका सिईओ अर्को कम्पनीमा जाँदा छ महिनाको कुलिङ पिरियड अनिवार्य रुपमा तोकिएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ बीरकृष्ण महर्जनले पदबाट दिएको राजिनामा यही कार्तिक २ गते स्वीकृत भयो । छ महिना कुलिङ पिरियडमा बस्नुपर्ने महर्जन लगत्तै नेपाल इन्स्योरेन्स कम्पनीको एक्टिङ सिईओमा नियुक्त भइसकेका छन् । अघिल्लो दिनसम्म प्रुडेन्सियलका सिईओ रहेका महर्जनले अहिले नेपाल इन्स्योरेन्सको तर्फबाट बीमा समितिसँग सम्पर्क राख्दै आएका छन् । यद्यपि महर्जनले चलाखीपूर्वक डेपुटी सिईओमा नियुक्ती लिई फस्ट म्यानको रुपमा एक्टिङ सिईओका रुपमा कार्य गरिरहेका छन् ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जारी गरेको कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई कम्पनीहरुले दुरुपयोग गर्ने गरेका छन् । समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिकामा भएको व्यवस्थालाई दुरुपयोग गर्दै कम्पनीहरुले एउटा कम्पनीबाट राजीनामा स्वीकृत भएको भोलिपल्टै अर्को कम्पनीमा नियुक्त लिएका हुन् । बीमा क्षेत्रका एक जना जानकारीले भने, ‘यो त पुरै अनैतिक हो, यस्तो प्रवृत्ति रोक्न नसक्नु समितिकै कमजोरी हो ।’

बीमा समितिले कुल पिरियडका लागि ६ महिनाको अवधिदिईरह्दा पनि प्रावधान मान्ने हिसाबले कम्पनीका सिईओहरु ६ महिनाका लागि डिसिओ र अन्य पदमा नियुिक्त हुने र ६ महिना सकिएपछि सिईओमै नियुक्त हुने काम बीमा बजारमा भईरहेको छ ।

बीमा समितिकै उच्च तहका कर्मचारीका अनुसार कानुन उल्लंघन गर्ने अर्को बाटो रोजेर सिईओहरुले निर्देशिकामाथि अटेर गर्ने गरेका छन् । कुलिङ पिरियडको बिषयमा सिईओको कडाईपूर्वक पालना गराउन नसक्नु, विभिन्न बाहनाबाजीमा उन्मुक्ति दिनुले बीमा समितिको व्यवस्थापकीय क्षमतामाथि प्रश्न चिन्ह उठेको छ । मालदार ठाउँ र सेटिङ मात्रै ध्यान दिने गरेको र संस्थागत सुशासनमा चुक्ने गरेको आरोप लागेको बीमा समितिमाथि उक्त काण्डले झनै कमजोर बनाइदिएको छ ।

बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । बीमा बुझेका कर्मचारी अन्य कम्पनीले तान्ने प्रवृत्ति रहँदा कम्पनीहरुले तत्कालका लागि तल्लो तहमा नियुक्त गर्ने र कुलिङ पिरियड सकिएपछि माथिल्लो तहमा नियुक्त गर्ने गरेको पाइएको बीमा समिति स्रोतले जनाएको छ ।
बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड लागु हुने व्यवस्था छ । एउटा कम्पनीबाट राजिनामा दिएको ६ महिनाभित्र अर्को कम्पनीको सिइओ बन्न नपाउने व्यवस्था छ ।

कम्पनीहरुले उक्त व्यवस्थाको दुरुपयोग गर्दै तल्लो तहमा नियुक्त गर्ने र कुलिङ पिरियड सकिएपछि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने रणनीति लिएका हुन् ।तर, कम्पनीहरुको त्यस्तो कामलाई भने नियामक निकाय बीमा समितिले सहज रुपमा लिएको पाइन्छ ।
निर्देशिकामा भएको व्यवस्था बमोजिम कम्पनीहरुले कर्मचारी नियुक्त गर्दा फरक नपर्ने समितिको तर्क छ । ‘हामीले जारी गरेको निर्देशिकाले कुनै एक कम्पनीको प्रमुख कार्यकारी अधिकृत तत्काल अर्को कम्पनीमा सोही पदमा नियुक्त गर्न नपाउने व्यवस्था गरेको छ,’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई भने ।

कुनै कम्पनीबाट सीइओ पदबाट बाहिरिएको व्यक्ति अन्य कुनै कम्पनीमा तल्लो पोष्टमा जानुमा संचालक समितिको निर्णयको भूमिका अह्म रहेको बीमा समितिको भनाई छ । ‘समितिले सिईओको पदका लागि मात्रै कुलिङ पिरियड छ भन्छ,’ उनले भने । कम्पनीहरुले एक तह घटाएर ६ महिनाको कुलिङ पिरियड सकिएपछि भने प्रमुख कार्यकारी अधिकृतमा नियुक्त दिने प्रवत्तिलाई रोक्न नसकेको सिलवालले बताए ।
नेपाल इन्स्योरेन्स कम्पनीले कुलिङ पिरियड नसकिँदै बिके महर्जनलाई नेपाल इन्स्योरेन्सले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । नेपाल इन्स्योरेन्सले कुलिङ पिरियड सकिए पछि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नका लागि महर्जनलाई एक तह घटाएर डेपुटी सीइओ बनाई कामू सीइओको जिम्मेवारी दिएको हो ।

‘कम्पनीहरुले बीमाकै मान्छे खोज्छन्, बीमा बुझेका मान्छेले कम्पनी छोडेपछि सिईओ बन्नका लागि ६ महिना खाली बस्नुपर्यो, सिईओ त बन्न पाएनन्, जस कारण डिसिईओमा झरे,’ उनले भने ।

नियामक निकाय बीमा समितिद्धारा जारी कानूनले ६ महिनाको कुलिङ पिरियड तोके पनि महर्जन नेपाल इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । कुलिङ पिरियड सकिए लगत्तै महर्जनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने गरि हालको लागि उनलाई उक्त पदको जिम्मेवारी दिइएको हो ।

सिईओ मात्रै होइन, नेपाल बीमक संघले निर्धारण गरेको आचार संहिताको खिल्ली उडाउँदै अर्को कम्पनीमा जाने क्रम पनि जारी छ । गत असोज मसान्तमा सगरमाथा इन्स्योरेन्स कम्पनीबाट विदा लिएका एसके रावल अहिले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओमा नियुक्त भएर कार्य प्रारम्भ गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*